७० प्रतिशत बालबालिकामा रक्तअल्पता

काठमाडौं, ५ असोज । दुई वर्षमुनिका ७० प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कुपोषणका कारण बालबालिकामा रक्तअल्पताको समस्या देखिएको हो ।
पोषिलो खाना अभावमा दुई वर्षमुनिका ७० प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या देखिएको र पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिका दीर्घकालीन कुपोषणको समस्यामा रहेको तथ्यांकले देखाएको छ । कुपोषणका कारण बालमृत्युदरमा कमी आउन नसकेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य महाशाखाको पोषण शाखाका अनुसार पाँच वर्षमुनिका प्रतिहजार जीवित जन्ममा ५४ बालबालिकाको मृत्यु हुने गरेको र एक वर्षमुनिका ३३ ले ज्यान गुमाउनुपरिरहेको छ । शाखाका प्रमुख राजकुमार पोखरेलले बालबालिकाको मृत्युको कारणमा ३५ देखि ५० प्रतिशत कुपोषण रहेको बताए ।
कुपोषणकै कारण पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिका उमेरअनुसारको उचाइ नभई पुड्का रहेको तथ्यांकमा उल्लेख छ । पोषिलो खानेकुराको अभावमा होचा बालबालिकाको संख्यामा कमी नआएकाले नेपालले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न कठिनाइ हुने भएको छ । सहस्राब्दी विकास लक्ष्यअनुसार सन् २०१५ सम्ममा ३० प्रतिशतभन्दा कम बालबालिका मात्र होचा हुनुपर्नेछ । सन् २००६ मा नेपालका ४९ प्रतिशत बालबालिका होचा थिए ।
शाखा प्रमुख पोखरेलले नेपालले पछिल्लो पाँच वर्षको अवधिमा जम्मा ८ प्रतिशत मात्र बालबालिकाको पोषणमा सुधार गरेर उमेरअनुसारको उचाइमा कमी ल्याउन सफल भए पनि रक्तअल्पताको अवस्थामा सुधार ल्याउन समस्या परिरहेको बताए । ‘सहस्राब्दी विकास लक्ष्य हासिल गर्न हामीले धेरै प्रयास गर्नुपर्नेछ,’ उनले भने, ‘यही अवस्थामा लक्ष्य हासिल गर्न निकै कठिन छ ।’
उनले बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास दुई वर्षभित्र हुने भएकाले यही समयमा पोषणको राम्रो व्यवस्था गर्ने कार्यक्रम निर्माणमा सरकार लागेको जानकारी दिए । उनका अनुसार पोषणको अवस्थामा सुधार ल्याउन मन्त्रालयले दुई वर्षको उमेरसम्मका बालबालिकालाई केन्द्रित कार्यक्रम बनाइरहेको छ ।
मन्त्रालयको तथ्यांकले ११ प्रतिशतमा गम्भीरखालको कुपोषणको समस्या रहेको र २९ प्रतिशत बालबालिकाको उमेरअनुसारको तौल नभएको देखाएको छ । सन् २०१५ भित्र ५ प्रतिशतभन्दा कम बालबालिकामा गम्भीरखालको कुपोषणको समस्या र २७ प्रतिशतभन्दा कममा उमेरअनुसारको तौल भए सहस्राब्दी विकास लक्ष्य हासिल गर्न सक्छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रम सुरु
झन्डै आधाजसो बालबालिका कुपोषणको समस्यामा रहेकाले सरकारले बालबालिकाको पोषणको अवस्था सुधार गर्न पाँच वर्षीय बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ ।
राष्ट्रिय योजना आयोगले ‘नेपालमा मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन’ तयार पारेको बहुक्षेत्रीय पोषण योजना बिहीबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक गरे । यस योजनामार्फत पाँच वर्षभित्र दीर्घकालीन कुपोषण दरमा २० प्रतिशत कमी ल्याउने लक्ष्य राखिएको छ । यो लक्ष्य हासिल गर्न सम्बन्धित मन्त्रालय, दातृनिकाय, विशेषज्ञ, नागरिक समाजसँग समन्वय गरी परामर्श बैठक गरिने र प्राथमिकताका आधारमा रणनीतिक उद्देश्यसहितको प्याकेज कार्यक्रम ल्याइने कार्यक्रम छ ।
कुपोषणको प्रगतिको अवस्था बुझ्न बहुक्षेत्रीय सहयोग र समन्वय बढाउने, अनुगमन तथा मूल्यांकन कार्यविधि सुदृढ गर्ने, कार्यक्रमको दिगो कार्यान्वयनका लागि क्षमता र प्रतिबद्धता सुनिश्चित गर्न आवश्यक वित्तीय स्रोत र जनशक्तिको यकिन गर्ने विषय योजनाले समेटेको छ ।
प्रधानमन्त्रीले पाँच वर्षमुनिका एकतिहाइ बालबालिकाको मृत्युको कारण कुपोषण रहेको उल्लेख गर्दै बालमृत्यु र कुपोषण दरमा कमी ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । ‘४१ प्रतिशत बालबालिका दीर्घ कुपोषणबाट ग्रस्त छन्,’ प्रधानमन्त्रीले भने, ‘यो संख्यामा कमी ल्याई सहस्राब्दी विकास लक्ष्यका सबै लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध छ ।’
कुपोषणको अवस्थामा सुधार ल्याउन किशोरी, गर्भवती र स्तनपान गराउने आमा र जन्मेदेखि २४ महिनासम्मका बालबालिकालाई लक्ष्य गरी कुपोषण न्यूनीकरण प्रयास गरिने जानकारी उनले दिए ।

प्रतिक्रिया