प्रोडुसर भागेपछि कलाकारबीचको घम्साघम्सी

काठमाडौं, ४ असोज । अनामनगरस्थित एक घर, जहाँ केही महिला र पुरुष जोडजोडले चिच्याइरहेका थिए । केही टुटेका फुटेका आवाज पनि आइरहेको थियो । बाहिरबाट अनुमान लगाउने हो भने त्यहाँ झगडा भयरहेको अनुमान लगाउन सकिन्थ्यो । घरभित्र छिर्दा देखियो, कलाकार बाबु बोगटी, श्याम अर्याललगायत केही महिला–पुरुष एकआपसमा
झगडा गरिरहेका थिए । ती चारैजाना आक्रोशित मुद्रामा देखिन्थे ।
तिनीहरूको झगडा झन्झन् बढ्दै छ । छेवैमा हर्नेको भिड छ तर छुट्याउन कसैले आँटसमेत गरिरहेका छैनन् । बरु उनीहरूको झगडा देखेर कोही मुखामुख गरेर हाँसिरहेका देखिन्थे । झगडा बढ्दै जाँदा त आफँैले खान ठिक पारेका खानेकुराले समेत एकअर्कामा हिर्काउने साधन बन्दै थिए । यतिकैमा कतैबाट आवाज आयो कट । सबैजाना सामान्य अवस्थामा आए । एकआपसको आक्रमणमा उत्रिएका सबै कलाकार मुस्कुराउन थाले । सबैको अनुहारमा हासोले भरियो । प्रसंग हो, चलचित्र प्रोडुसरको । बुधबार अनामनगरस्थित नूतन स्टुडियोमा यसको सुटिङ भइरहेको थियो ।
कलाकार बाबु बोगटी, श्याम अर्याल, स्वेता भट्टराई र विल्सन बिक्रम राई चलचित्रको सर्ट दिइरहेका थिए । बल्लबल्ल खोजेको निर्माता पनि भड्किएपछि यस चलचित्रबाट निर्देशक, नायक, नायिका र प्रोडक्सन मेनेजर बन्ने सपना पालेकाहरू दोष एकअर्कालाई थोपर्दै झगडामा उत्रने दृश्य हो यो निर्देशक जनक दीपद्वारा छायांकन भइरहेको चलचित्रका दृश्यबारे प्रस्ट्याए । चलचित्रमा नायिका बन्न संघर्ष गरिरहेकी केटीको भूमिकामा अभिनेत्री स्वेता भट्टराई, निर्देशकको भूमिकामा बाबु बोगटी र नायकको भूमिकामा श्याम अर्याल अभिनयमा देखिएका छन् ।
‘लामो संघर्षको दौरान बल्लबल्ल भेटिएका चलचित्रमा लगानी गर्ने साथीका अपरिपक्व व्यावहारले प्रोडुसर भड्किएपछि नायक बन्ने मेरो सपना यतिकै तुहिन पुग्ने हो कि भन्ने पीडाले आक्रोस पोख्ने दृश्य छ । यही दृश्यमा अभिनय गरेको हो,’ श्यामले आफ्नो भूमिकाबारे प्रस्ट्याए, ‘रियलै लागोस् भनेर सकेसम्म झगडा खुलेर गरेको छु ।’ चलचित्रमा बाबु बोगटीले निर्देशकको भूमिका निर्वाह गरेका छन् । ‘अध्ययनसहित चलचित्र निर्देशनमा होमिँदा पनि ठूलै स्ट्रगल गर्नुपर्ने निर्देशकको भूमिकामा मैले अभिनय गरेको छु,’ बाबुले आफ्नो भूमिकाबारे जानकारी गराए, ‘निर्देशकलाई निर्माता खोज्न र फसाउन कति गार्‍हो हुन्छ भन्ने प्रस्ट्याउने खालको मरो अभिनय रहेको छ ।’
त्यस्तै नायिका बनेकी स्वेताले चलचित्र क्षेत्रमा विभिन्न कम्प्रोमाइज र संघर्षको सामना गर्नुपर्ने भूमिका निर्वाह गरेको बताइन् । नयाँ जनेरेसनले नायिका बन्नकै लागि स्थापित निर्माता निर्देशकका विभिन्न पर्पाेज स्वीकार्दैनन् र बरु विभिन्न संघर्ष सामना गर्न पनि हरदम तयार रहने जुझारू केटीको चरित्र निर्वाह गर्नलागेको उनले बताइन्, ‘हाम्रो संघर्षमा यस्ता दृश्य त कति छन् कति स्वेताले सुनाइन् ।’
चलचित्र भित्र के–कस्ता समस्या छन्, तिनको समाधान के हुनसक्छ र चलचित्रका माध्यमबाट देश र समाजलाई के–कस्ता योगदान दिन सकिन्छ भन्ने करा चलचित्रमार्फत सन्देश दिन आफूले चाहेको चलचित्र निर्माता राईले बताए । निर्माताका हक र हितखातिर निर्माता संघमार्फत विभिन्न नीति–नियम बनाउन लागिपरेकाले पनि आफूले केही समय चलचित्र निर्माण गर्न नभ्याएको उनले सुनाए । चलचित्र प्रस्तुतकर्ताका रूपमा ज्योति राई रहेका छन् । लामो समयदेखि अप्रत्यक्ष रूपमा चलचित्र क्षेत्रसँग संलग्न रहँदै आए पनि यस चलचित्रमार्फत आफूले प्रत्यक्ष सहभागिता देखाएको ज्योतिले
जानकारी गराए ।
श्याम राई र नव प्रस्तुति पायल रायमाझीको मुख्य भूमिकामा अभिनय रहने चलचित्रमा विशेष भूमिकामा युवराज लामा र राजभाइ सुवाल दखिने भएका छन् । चलचित्रमा संगीत राहुल राई, सुरेश राई र किरण माइकल, छायांकन सागर प्रधान, नृत्य निर्देशन प्रशान्त तामाङ्गको रहेको छ । गत आइतबारबाट छायांकन थालिएको चलचित्रमा वर्तमान चलचित्र निर्माण र प्रदर्शनमा गर्नुपर्ने संघर्षको कथा छ । चलचित्रका निर्देशक यसै चलचित्रमार्फत ठूलो पर्दामा प्रवेश गर्नलागेका हुन् भने चलचित्र लेखन किरण माइकलको रहेको छ ।

प्रतिक्रिया