अन्तर्राष्ट्रिय सहभागिता आवश्यक

काठमाडौं : अन्तर्राष्ट्रिय टेनिस महासंघ विकास अधिकृत (एसिया) सुरेश मेननले खेलाडीहरूको खेलस्तर वृद्धि गर्न अखिल नेपाल लनटेनिस संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिनुपर्ने बताएका छन् । ‘खेलाडीले आफ्ना खेलाडीसँग मात्र खेलेर स्तरवृद्धि गर्न सक्दैनन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जोड दिन आवश्यक छ, अनि मात्र खेलाडीको स्तरवृद्धिमा सहयोग पुग्छ,’ हाल नेपाल भ्रमणमा रहेका उनले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित पत्रकार भेटमा भने ।
उनले टेनिसको विकासका लागि चार आधारभूत कुरा भौतिक पूर्वाधार, प्रतियोगिता, खेलाडीको विकास र प्रशिक्षकको तालिममा ध्यान दिन जरुरी भएको बताए । टेनिस संघका अध्यक्ष मनोज राणाले टेनिसको विकास तल्लो तहदेखि नै गर्नुपर्छ भन्ने उद्देश्यका साथ संघले जुनियर प्रतियोगितामा विशेष ध्यान दिइरहेको बताउँदै सातदोबाटोमा हाल दुई कोर्टको निर्माण कार्य पूरा भएपछि नेपालले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पाउने बताए ।
अध्यक्ष राणाले मेननको भ्रमण नेपाली टेनिसका लागि उपलब्धिमूलक हुन सक्ने विश्वास व्यक्त गरे । ‘दुई कोर्ट निर्माण सकिएपछि सातदोबाटोमा एकै स्थानमा ६ कोर्ट हुनेछन् । त्यसपछि हामीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न पाउँछौँ । घरमै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा हामीले बढीभन्दा बढी खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउन सक्छौँ,’ राणाले भने । जुनियर खेलाडीको प्रशिक्षणमा पछिल्ला वर्षहरूमा क्रियाशील नेपाल टेनिस संघले थप कोर्ट निर्माणपछि नयाँ गति लिने विश्वास गरेको छ । (सौस)

प्रतिक्रिया