भेलाको कोलाज मुम्बई नगरी

मृत्युले आफ्नो पिता लिएर गएको साँझ कस्तो हुन्छ ?
खोलाकिनारमा डढाउन ठिक्क पारिएको लास र चिता दुवै मौन छन् । लासलाई ओढाइएका सेता कपडा अन्तिम पटक फरफराइरहेछन् । लासमा आगो लगाइसकेपछि नदीकिनारमा बसेका रणवीर कपुर र भोलाराज सापकोटाका आँखा उदास छन् । रणवीर अर्थात् बर्फी बोल्न सक्दैनन्, सुन्न सक्दैनन् । दुई ओठ र कान छन् तर कुनै गुफाझैं मौन । राति हर्टअट्याक हुँदा पिता चर्को स्वरले चिच्याए, तर बर्फीले सुन्न सकेनन् । लामो समयको अस्पताल बासपछि पिताको देह जलाउन नदीकिनारमा उभिएका हुन् दुई साथी, बर्फी र भोलाराज  । दृश्य हो, बर्फी फिल्मको । यस दृश्यप्रति मेरो यति चाख किनभने, एक साँझ मलाई भोलाले भनेका थिए– ‘यो लास जलाएको दृश्यको सुटिङपछि म निकै समय अभिनयबाट बौरिनै सकिनँ, यसले मलाई कताकता डुलायो, नाटकतिर, गाउँतिर वा कतै…। भनौं, म नोस्टाल्जिक भएँ, यो दृश्यबाट ।’
फिल्म हेरिरहँदा अँध्यारो सिनेमा हलभित्रको मेरो मथिंगलमा भोलाराज सापकोटाको विम्ब सलबलाउँछ । फिल्मको बोल्न नसक्ने पात्र बर्फीले मलाई भोलाकै निजी जिन्दगीमा पुर्‍याउँछ । काठमान्डु, हेटौंडा वा विदेशी रेलतिर भट्किइरहन्थे भोला । जहाँतहाँ, जताततै । केही महिनाअघि मात्रै पनि बिनासामान प्रस्थान गरिरहेका हुन्थे, मुम्बईतिर । भन्थे– ‘मेरो सुटिङ चलिरहेको छ ।’ पछिल्लोपटक यो सहरमा भेट्दा पनि प्रसंग बर्फीकै सुनाउँथे– ‘डबिङका लागि भोलि नै मुम्बई जानु छ ।’ अनि हिँड्थे एउटा फकिरझैं, सपनाको यात्रामा । थुप्रै नेपाली नाटकमा अभिनय गरेपछि नेपाली फिल्ममा पनि अभिनय गर्ने उनको धोको त्यस बेला पूरा भयो, जब उनले सानो संसारमा सानै रोल पाए । तर, नेपाली फिल्मले उनलाई उति पत्याएन । उनी आबद्ध संस्था आरोहण गुरुकुल बन्द हुने पूर्वसन्ध्यामा उनलाई मुम्बईबाट एक साँझको फोनले बर्फी खेल्न बोलायो । ‘मुम्बई ओहोरदोहोर गरिरहनु, सुटिङमा व्यस्त रहनु यस्ता चिज रहेछन्, जसले मेरा मर्दै गरेका सपनालाई ब्युँझाए’, कफीका अम्मली भोलाराज बोल्छन् । अहिले काठमान्डुको भागदौडमा समय गुजारिरहेका भोलाराज सम्झिरहेछन्, बर्फीको सुटिङका दिन । मुम्बई र दार्जिलिङमा रणवीर कपुर, प्रियंका चोपडा, अनुराग वसुसँग बिताएका पलहरू ।
भोलाबिना बर्फी अर्थात् रणवीर उदास हुन्छन्, र अधुरो पनि । रणवीरको सांकेतिक भाषाको मर्म बुझ्ने केवल उनी मात्रै छन् । रणवीरले एउटी केटीलाई मन पराउँछन्, प्रेमपत्र लेखिदिन पर्छ उनै भोलाले । युवादेखि वृद्धावस्थासम्मै भोलाको साथ निरन्तर छ, बर्फीलाई ।
अनुराग वसुको निर्देशनमा बनेको यो फिल्ममा भोलाको भूमिका निकै महत्त्वपूर्ण छ । तर, नाटकका यी धुरन्धर कलाकारले आफ्नो अभिनयकला देखाउने पर्याप्त ‘स्पेस’ चाहिँ पाएका छैनन् । तर, यो पनि नि:सन्देह छ, भोलाले बलिउडमा यति ठूलो भूमिका पाउनु आफैंमा ‘स्ट्यान्डर्ड’ कुरा हो ।
दार्जिलिङको चियाबगानका मालिकको गाडी चलाउने जंगबहादुरको छोराका रूपमा देखिएका रणवीरसँगै प्रियंका चोपडा र इलियाना डिक्रुजको वरिपरि घुमेको बर्फीको कथा भोलाकै सहयोगमा अघि बढ्छ । प्रियंका पनि बोल्न सक्दिनन् । यी दुई आवाजविहीन प्रेमीप्रेमिकाको कथा दर्शकलाई भोलाले नै सुनाउँछन्, फ्ल्यासब्याकमा गएर । तर भोलाको भागमा उति धेरै संवाद छैनन् । जति छ, त्यो राम्रैसँग निभाएका छन् । अहिले थुप्रै रंगकर्मी नेपाली फिल्ममा छाइरहेका बेला भोलाको बलिउड ‘डेब्यु’ले नेपाली रंगमञ्चकै स्तर उँचो बनाएको छ ।
०००
०५० सालमा भविष्य खोज्दै काठमान्डु छिरेका उनलाई मुम्बई र फिल्म उस्तै लागेछ । मुम्बईका मान्छेहरू बोक्नै नसकिने सपना देख्छन्, मुम्बई मायानगरीमा छिर्न चाहनेका सपना पनि त्यस्तै हुन्छन् । खासमा भोलाराजका अभिनयका सबै विम्ब आत्मस्वीकृति हुन् । मुम्बईबाट बर्फी प्रदर्शन भएको गत शुक्रबार उनी यतै काठमान्डुमा थिए, एक्ला यात्रीझैं भट्किइरहेका । नेपाल र भारतका गरी कति फिल्मप्रेमी अधीर प्रतीक्षामा थिए, बर्फीको । उनीचाहिँ थिए, शान्त र मौन । तर, अलिअलि डर पनि थियो– पहिलो फिल्मका कति सिन काटिने हो ? कहाँ–कहाँ आफू देखिइने हो ?
सहरमा लोडसेडिङ व्याप्त भएपछि बानेश्वर हाइटको सडककिनारका ल्याम्पपोस्ट निभेका छन् । यतैको कुनै मध्यम स्तरको भट्टीमा लेमन हालिएको दुई पेग भोड्का उचाल्दै उनी बोल्दै थिए, ‘फिल्म भनेको एउटा उज्यालो रहेछ, यही उज्यालो नै मेरो समस्या हो किनभने मसँग हुटहुटी बढेको छ, मुम्बई फिल्मकै सपना फुलाउने ।’
सुर्जे डुबिसकेपछिको एक साँझ उनलाई बर्फीका हिरो रणवीरले भनेछन्, ‘भोला जाउँm आज रक्सी खाउँm ।’ त्यसै साँझ रक्सी होइन, सबै सुटिङ टिमले घोट्टा खाएछन् र व्यापक मात्तिएछन् । भोलिपल्ट बिहान रणवीरले भनेछन्, ‘भोला तिमी निकै राम्रो एक्टर हौ, तिमीलाई अरू फिल्ममा पनि काम खोजिदिन्छु ।’ यी दुईको सम्बन्ध व्यावसायिक हुँदाहुँदै पनि केही व्यक्तिगत बन्दै छ । र, एउटा स्टारसँगको संगतले गजबको अनुभूति दिएको छ– ‘लाग्छ, रणवीर र मेरो ग्रह मैत्री छ, सुटिङमा निकै सहयोग गरे उनले ।’
होचो हाइट र निर्दोष देखिने भोलाराजले नाटकलाई चिन्न झन्डै एक दशक लाग्यो । झट्ट हेर्दा कता के नमिलेजस्तो उचाइ र उछिट्टिएको भुँडीले भोलाराजको शारीरिक परिचय उति रंगीन लाग्दैन । नाटकमा मात्रै देखिने मान्छेको सहरमा उति फ्यान पनि छैनन् होला । दशकभन्दा लामो समय नाटकमा अभिनय गर्दा गल्लीहरूमा हिँडिरहने उनको अनुहारमा उत्तिकै हतारो पोतिएको छ, जति नाटक र फिल्ममा देखिन्छ । लाग्छ, यो हतारोसँगै यात्रा गरिरहेका छन्– केही अभीप्सा र केही सपना । पहिला उनलाई सहर र नाटक दुवैले चिन्न अस्वीकार गरे, सहरको गति पक्डिएपछिचाहिँ बिस्तारै चिन्यो । अहिले सहर, नाटक र फिल्म उनका साथी भएका छन् ।
पेग थपिँदै जान्छ, उनी नोस्टाल्जियामा पसिसकेका छन् । देब्रेतिर दिल्ली लेखिएको डिलक्स बस अक्षरधाम फिर्दै छ, धुलो उडाउँदै । एक फाँको धुलो आइपुगेको छ हाम्रो आँखाभित्र पस्न । उजाडउजाड मौसममा हामी (म र भोलाराज) चिया खाँदै गफिइरहेका छौं । उनको आँखामा म पढ्न सक्छु, खाँदाखाँद भरिएका हुटहुटी र सपना । करिब तीन वर्षअघिको त्यस दिन अक्षरधामको मौसम निकै उदास थियो, त्यस्तै उदास भोलाराजको मुड पनि । ‘हामी जहिल्यै पनि काठमान्डु भनेर दौडन्छौँ, यसले दिएको अर्धरोजगारको बदला हामी काठमान्डुले नै हामीलाई बचाएको भ्रममा हुन्छौं, बाँच्नचाहिँ हामी आफ्नै सपनाको बलमा बाँचिरहेका हुन्छौं ।’ उनले त्यस दिन मौसमझैँ बडो उदास कुरा गरेका थिए । उनी रिसाएको, रमाएको, हाँसेको सबै ख्याल गरेको छु मैले । त्यसैले लाग्छ, बेलाबेला उनी दार्शनिक भइदिन्छन्, कवि अनि गायक भइदिन्छन् । तर, उनले बाँचेको समय गन्तीयोग्य छ । भौतिक उपलब्धि नाप्ने हो भने पनि हेटौंडाबाट दशकअघि काठमान्डु पसेर आफूलाई अब्बल दर्जाको नाटक कलाकार र मुम्बईजस्तो चर्को संघर्षले भरिएको सहरमा मूलधारको फिल्ममा राम्रो रोलमा उभ्याउनुजस्तो कुरालाई चानचुने आँक्न मिल्दैन । जबकि मै हुँ भन्ने तर दशकौंअघिदेखि दुई कौडी पनि अभिनय गर्न नजान्नेको राज चलिरहेको नेपाली मायानगरीबाट पनि थुप्रै हिरो–हिरोइनको मुम्बई सपना उसै तुहिएको छ । यस अर्थमा पनि गन्तीयोग्य छ, भोलाको समय ।
भोलाराजको कोमल अभिनयको म फ्यान हुँ । मैले चिनेदेखि उनलाई छुटाएको छैन । उनले ‘जात सोध्नु जोगीको’, ‘ताराबाजी लैलै’, ‘डा. कनक’, ‘अग्निको कथा’ लगायत नाटकमा बोलेका केही डायलग अहिले पनि मेरो मथिंगलमा घुमिरहन्छन् । जे होस, नाटक र सिनेमामा सम्मान गर्न सकिने चिनारी उनले बनाएका छन् ।
गरिबी नै भोलाको सम्पत्ति थियो । गाउँको पराले छानो भएको सानो घरमा परिवारकै बसोबास थियो । अनि रूखको ठुटोझैँ मौन रहन्थे, एक दु:खी जोडी । भोलाका बाबुआमा । बर्फी सुटिङका बेला रणवीरले गरेको भूमिकाप्रति उनी बढी नै संवेदनशील देखिनुको कारण यो पनि हुन सक्छ– उनका बाबुआमा पनि बर्फीजस्तै छन्, बोल्न नसक्ने । बाबु–आमालाई थाहा होला कि नहोला, छोराको जुँगाको रेखी कहाँसम्म पुग्यो ? अभिनय हाइट कहाँसम्म पुग्यो ?
‘नेपाली चर्चा गर्दैनन, कटुता मात्र पोख्छन्’, शंकर लामिछानेले विदेशी चित्रकारलाई भनेका थिए । थाहा छैन, मैले उनको व्यक्तित्व लेखेँ वा आफ्नै प्रचार गरेँ ? यान्त्रिक काठमान्डुको ओसिला गल्लीभित्र अझै कति खिइएलान् उनका जुत्ता ? नाटकमा फेरि फर्केलान् कि मुम्बई सपनानगरीमै जम्लान् ? अब उनको कुन फिल्म आउला ? यी प्रश्नले मेरो दिलको ढोका ढक्ढक्याइरहेछन् ।

प्रतिक्रिया