‘पहिलो सट एकै टेकमा ओके भयो’

स्कुल जीवन पार गरेपछि म मोडलिङमा लागेँ । मोडलिङ क्षेत्र बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्रचाहिँ एकदमै गाह्रो हुने रहेछ । त्यही क्रममा एउटा म्युजिकभिडियोमा काम गर्ने मौका पाएँ । त्यो राम्रै चल्यो । त्यसपछि सिग्नेचर नामक डकुमेन्ट्रीमा अभिनय गरेँ । त्यो डकुमेन्ट्री सफल भए पनि मेरो करियरलाई व्यक्तिगत लाभचाहिँ भएन । अभिनयमार्फत दर्शकको माया बटुल्ने सानै उमेरदेखिको आशा तुहिएलाजस्तो लाग्यो । फेरि अध्ययनमै व्यस्त हुन थालेँ । केही समयपछि साइबर संसार डटकममा फोटोसुट गराएँ । त्यसले राम्रै चर्चा कमायो ।
त्यही बेला छविलाल कन्जुस छैन चलचित्र बन्ने भएछ । त्यसमा नवनायिकाको खोजी भइरहेको रहेछ । निर्देशक ज्ञानेन्द्र देउजाले साइबर संसारमा छापिएको मेरो फोटो हेर्नुभएको रहेछ । मन परेपछि मलाई कन्ट्याक्ट गर्ने सोच्नुभएको रहेछ । ज्ञानेन्द्र सरसँगको भेटमा मबारे कुराकानी भएपछि प्रकाश सुवेदी दाइले उहाँलाई मेरो कन्ट्याक्ट नम्बर दिनुभएछ । प्रकाश दाइसँग मेरो सामान्य परिचय त्यसअघि पनि थियो ।
छविलाल कन्जुस छैनका लागि अडिसन दिन गएँ । ज्ञानेन्द्र सरका अगाडि सिलसिलाको सागरसरि चोखो माया तिमीलाई दिउँला बोलको गीतमा नृत्य गरेर देखाएँ । त्यहाँ मलाई डाइलग पनि बोल्न लगाइयो । करिब ३ घण्टापछि चलचित्रको टिमले मलाई एकैचोटि बधाई दिए । अर्थात्, म नायिका छानिएछु । ठूलो चलचित्रको अनुभव थिएन । त्यसैले अलिअलि डर पनि लागेको थियो । पहिलो चलचित्रमा थुप्रै कलाकारले निर्देशकको हप्की खानुपरेको अनुभव सुनेकी थिएँ । तर, मलाई राम्रो गर्न सक्छु भन्ने कन्फिडेन्स पनि थियो । युनिटसँगै छायांकनका लागि पोखरातर्फ लाग्दा मेरो मनभरि कौतूहलसँगै जिम्मेवारीबोध पनि भइरहेको थियो ।
खुसीको कुरा त पहिलो सट एकै टेकमा ओके भयो । त्यसपछि पनि एक–दुई टेकभन्दा बढी लगाइनँ । पहिलो चलचित्र खेल्दाताका अरू कलाकारले सुनाएजस्तो खप्की मैले खानुपरेन । सो चलचित्रबाट जीवनकै पहिलो पारिश्रमिक ५१ हजार पाएकी थिएँ । त्यो पौसाबाट मैले आमालाई सारीचोलो किनिदिएँ । आफूले जति कमाए पनि बाबाममीको पैसाचाहिँ मैले चलाएकै हुन्छु । उमेर पनि त सानै छ नि, जम्मा २३ वर्ष ।
काम गरेका हिसाबले छविलाल कन्जुस छैन मेरो डेब्यु चलचित्र भए पनि प्रदर्शनचाहिँ दुलही पहिला भएको हो । सडक, जय होस्, किन मायामापछि बाबुराम ढकाल निर्देशित दुलही गरेकी हुँ । अभिनय गरेको पाँचाँै चलचित्रचाहिँ डेब्यु बन्यो, प्रदर्शनका हिसाबले । यसअघि आफूले खेलेका चार चलचित्र प्रदर्शनमा नआउँदा निराशा लागिरहेको थियो । दर्शकले चिन्दैनथे । तर पनि ती चार चलचित्रले मलाई अभिनयमा निकै खारिसकेका थिए । दुलही चलचित्रबाट नवनायिकाका रूपमा सिजी डिजिटल अवार्ड र नेफ्टा अवार्ड पाएँ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया