दिनभरि फलाम पिट्दा सय रुपियाँ

जाजरकोट, ३ असोज । पुन्मा–४, जाजरकोटका ६१ वर्षीय कमारो विकले फलाम पिट्न थालेको ५४ वर्ष भयो तर उनको जीवनस्तर उकासिन सकेको छैन । उमेरसँगै स्तर पनि ओरालो झरिरहेको छ । उनले अहिले फलाम पिटेर दैनिक एक सय रुपियाँ कमाउँछन् । एक छाक खानाकै एक सय रुपियाँ परे पनि उनको कमाइ बढेको छैन । दिनभरि फलाम पिटेर एक छाक खानाको पैसा जुटाउने विक भन्छन्, ‘दिनभरि फलाम पिटयो, कमाइको आधा पैसा त कोइला किन्दैमा सकिन्छ ।’

कुनै समय ‘माइला कामी’ का नामले चर्चित उनीसँग अहिले पहिलेका जस्ता नियमित विष्ट पनि छैनन् । जाजरकोटमा काम गरिदिएबापत वार्षिक निश्चित अन्नपात दिनेलाई विष्ट भनिन्छ । फलाम वा लुगा सिलाउने काम गर्नेले प्रत्येक एक परिवारलाई एक घर विष्ट मान्ने गर्छन् । विकको परिवार पनि साथमा छैन । पहिले पुन्मा–३/४ का साथै छिमेकी गाविस खलंगा र जगतिपुरका झन्डै दुई हजारभन्दा बढी विष्ट थिए विकका । उनीहरूले वर्षमा धान, मकै, कोदो, तोरी, फापर, भटमासलगायतका अन्नपात उपलब्ध गराउँथे भने त्यसबापत उनले फलामका भाँडा बनाउने र मर्मत गर्ने काम गरिदिनुपथ्र्याे । तर अहिले यो अवस्था छैन । लामो समयसम्म चलेको सशस्त्र द्वन्द्वले उनको परिवारलाई विस्थापित मात्र बनाएन, साँझबिहानको गास पनि खोसिदिएको छ ।
विगतलाई सम्भँmदै उनी भन्छन्, ‘मिलेको परिवार थियो । खानलाउनको चिन्ता थिएन । अहिले आएर यसरी बेवारिसे जीवन बिताउँला भन्ने लागेको थिएन ।’ पाँच छोरा र तीन छोरीका बाबु उनी घरपरिवारभन्दा टाढा छन् सदरमुकाममा । सदरमुकाममा अस्थायी छाप्रो बनाएर अस्थाई विष्टहरूको फलाम पिट्दै आएका उनलाई आफ्नो जेठो छोरा वीरबहादुर कहाँ छन् भन्नेसमेत हेक्का छैन । द्वन्द्वकालमा माओवादीमा लागेका वीरबहादुर ०६० सालताका भागेर घर फर्केका थिए । उनी घर फर्केपछि माओवादीले ‘दु:ख’ दिन सक्ने डरले भएको खेतबारी, गाउँघर र विष्टहरूलाई छाडेर उनको परिवार बाँके चिसापानी बसाइँ सरेको थियो । त्यहाँ ऐलानी जग्गामा बसिरहेका उनीहरूलाई स्थानीय प्रशासनले लखेटेपछि कोहलपुरनजिकै सानो छाप्रो र थोरै जग्गा किनेर बसेको उनी बताउँछन् ।
तराईमा काम गरिदिएबापत धेरै अन्न पाइने सुनेका उनले अनुभव गर्न पाएनन् । उनको परिवार पुन: जाजरकोट नै फर्कियो । उनी आफ्ना केही सन्तान र पत्नीका साथमा घर फर्किए भने छोरा वीरबहादुर माओवादीका डरले छिमेकी देश भारत गए । त्यसबेलादेखि छोरा वीरबहादुर सम्पर्कविहीन छन् । उनी भन्छन्, ‘त्यो बेलादेखि भेटघाट भएको छैन । ऊ यता आएन, म उता गइनँ । भारतमा छ भन्ने सुनेको छु ।’ अहिले उनका छोरा, छोरी सबैको विवाह भइसकेको छ । गरिबीले उनका माइला र काइँला छोरा पनि भारतमै छन् भने साइँला छोरा रुकुम राडीमा रहेको ससुरालीमा नै बस्छन् । ‘छोराहरू घरमा छैनन्, बुहारीले राम्रो गर्दैनन्,’ उनले भने, ‘पेट पाल्नका लागि भए पनि यो उमेरमा फलाम पिट्नुपरेको छ । यो रहर होइन बाध्यता हो ।’

प्रतिक्रिया