यस्तो हुँदै छ नायिकाको तिज

हिन्दू नारीले आज हरितालिका तिज पर्व मनाउँदै छन् । नायिकाहरू आआफ्नै तरिकाले तिज मनाउने योजनामा छन् । पानी पनि नखाई व्रत बस्नुपर्ने मान्यतालाई भने नायिकाहरू पछ्याउनेवाला छैनन् । कति नायिका पानी र जुस मात्र खाएर व्रत बस्ने योजनामा छन् भने केहीचाहिँ फलफूलसम्म खाने बताउँछन् । केहीचाहिँ व्रत नबसे पनि दिदीबहिनीसँग रमाइलो गरेर तिज मनाउने सुरमा छन् । व्रत बसे पनि स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउँछन् अधिकांश नायिका :
झरना थापा : हिजो मामाघर र माइत गइयो । मामाघरमा सबै जनासँग रमाइलो गर्दै दर खाँदाको अनुभूति पहिलेभन्दा लाग्यो । आज व्रत बस्छु तर जुस र पानी चाहिँ खान्छु । यो व्रत आफ्नो सौभाग्यरक्षाका लागि बस्ने हो । आज म सारीपोते र चुरालगायतका शृंगार लगाउनेछु । बेलुकी पशुपति जाने योजना छ । म भगवान् महादेवसँग अटल सौभाग्यको कामना गर्छु । पहिलेका वर्षमा यस्तै आशीर्वाद मागेथेँ ।
सञ्चिता लुइँटेल : भर्खरै बिमारी भएर उठेकाले मचाहिँ आज व्रत बस्दिनँ । फेरि म भर्खरकी सुत्केरी पनि हुँ । यस्तो बेलामा भोकै बस्नु स्वास्थ्यलाई खतरा हुन सक्छ । पोहोर पनि तिजकै दिन पहिलो बच्चाको न्वारन परेककाले व्रत बसेकी थिइनँ । व्रत नबसे पनि दिदीबहिनीसँग मिलेर रमाइलो चाहिँ गर्नेछु । हिजो आमाले बनाएको खिर–लड्डुलगायत परिकार खाइयो । यसपालि आफन्त तथा साथीभाइले निकै नै गिफ्ट पठाएकाले सपिङ नै गर्नु परेन । नजिकको मन्दिरमा पुग्ने योजनमा छु ।
अनु शाह : हिजो बेलुका मासुका परिकार, पुलाउलगायतका दर खाइयो । आज बिहानै व्यक्तिगत कामले विराटनगर जाँदै छु । तर, पनि व्रत भने बस्ने सुरमा छु । यसअघि पनि कहिलेकाहीँ व्रत बस्ने गरेकी थिएँ । तिजको व्रत बसे राम्रो पति पाइन्छ भन्ने परम्परागत मान्यता छ । तर, मचाहिँ संस्कृतिको जगेर्ना गर्ने हिसाबले मात्र व्रत बस्न लागेकी हुँ । मैले आजकै दिन लगाउन भनेर कुर्तासुरुवाल किनेकी छु ।
मेलिना मानन्धर : तिजको व्रत बस्न थालेको जम्मा दुई वर्ष भयो । बिहेअघि कहिल्यै बसिनँ । किनकि म नेवार समुदायमा जन्मेकी हुँ, नेवार समुदायमा तिजको व्रत बसिँदैन । अहिलेको व्रतचाहिँ मलाई कर्मले दिएको हो । व्रत बसे पनि निराहार चाहिँ बस्दिनँ । श्रीमान्ले फलफूल, पानीलगायत खाऊ भन्नुहुन्छ । यो व्रतमा अरूले जस्तै म पनि पतिको अटल सौभाग्यको कामना गर्छु । (सौस)

प्रतिक्रिया