भड्किलो बन्दैछ तिज

काठमाडौं, १ असोज । महिलाले मनाउने महत्त्वपूर्ण पर्व हो तिज । सबैको तिज मनाउने आ–आफ्ना काइदा छन् । पेसा, व्यवसायभित्र पनि तिज बमाउने आ–आफ्नै शैली पाइन्छ ।
तिजमा विवाहित महिलाहरू आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिला सुयोग्य पति पाउँ भन्ने कामनासहित व्रत बस्ने प्रचलन नेपाली समाजमा रहिआएको छ । यो धार्मिक मान्यताबाहेक पनि विभिन्न दृष्टिकोणबाट तिजलाई हेर्न थालिएको छ । माइतीले छोरी/चेलीलाई घरमा बोलाएर मिठामिठा परिकार खुवाउने तथा सुखदु:ख साटासाट गरी एउटै ठाउँमा बस्ने प्रचलन रहिआएको छ । यो प्रचलनले सामाजिक अर्थ राख्छ । महिलाले नाँचगान र मनोरञ्जनको रूपमा यस पर्वलाई लिने गरेको पाइन्छ । यसबाट तिजको साँस्कृतिक महत्त्व अझ बढी प्रस्ट हुन्छ । यसरी तिजलाई बहुआयामिक ढंगबाट हेर्न सकिन्छ ।
परम्परागत रूपमा चल्दै आएको तिज पछिल्लो समयमा भड्किलो बन्दै आएको छ । कतिपय महिलाले यसलाई मनारञ्जनका रूपमा पनि लिने गर्दछन् । बाध्यतात्मक रूपमा बनाउनु पर्ने पनि छ कतिपयलाई । एक महिना अघिदेखि नै यसको चहल पहल सुरु भएको छ । कतिपयले यसलाई रोक्नुपर्छ समेत भन्ने गरेका छन् । एक महिना अघिदेखि दर खाने, नाँचगान गर्नेलगायत प्रक्रियाबाट सुरु भएको हो ।

व्यवस्थित तरिकाले मनाउनु पर्छ
ओमदेवी मल्ल जोशी, सञ्चालक
राष्ट्रिय सहकारी विकास बोर्ड

वास्तविक मनाउने तिज र अहिले मनाउने तिजमा फरक रूपमा पाएको छु । पछिल्लो समयमा तिज भड्किलो रूपमा मनाउने गरेको छ । यो वास्तविक तिज भने होइन । यसको मर्म छुट्टै खालको छ । तिजमा गाउने गितमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिनु पर्छ । जसले गर्दा महिलाहरू सशक्त बन्न मद्दत्त पुग्दछ । तिज पर्वलाई व्यवस्थित तरिकाले मनाई भावी पुस्तालाई पनि संस्कृति जोगाइराख्नु पर्छ । यसै तरिकाले जाने हो भने भावी पुस्ताले वास्तविक तिज मनाउन नपाउन पनि सक्छ ।
सबै वर्गलाई सुहाउने पर्व बनाऔ

प्रभा कोईराला, संचालक
राष्ट्रिय सहकारी संघ

तिज पौराणिक कालदेखि चल्दै आएको संस्कृति हो । यसलाई जोगाइराख्नु हाम्रो दायित्व र कर्तव्य हो । छरिएर रहेका दिदीबहिनी एकीकृत भएर मनाउने चार्ड तिज भएको मैले बुझेकी छु । हुनेखानेले मात्र होइन हुँदा–खानेका लागि पनि तिज पर्व भएकाले यसलाई तडकभडक रोक्नुपर्छ । एक महिना अघिदेखि नाँचगान गर्ने, दर खाने, गहना प्रर्दशन गर्नेलगायत काम रोक्नुपर्छ । होटल, रेस्टुराँमा नभई आफ्नै घरमा बसी तिज मनाउनु पर्छ । सबै वर्गलाई सुहाउने खालको रूपमा यस पर्वलाई मनाउनुपर्छ ।

तीजमा विकृति प्रवेश

अमृता सुब्बा, उपाध्यक्ष
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ

तिज विकृतिका रूपमा प्रवेश गरेको छ । गरहना प्रदर्शन गर्ने पर्वजस्तै बनेको छ । पहिले मानाउने तिज र अहिले मनाउने तिजमा फरक भएको मैले बुझेको छु । यसलाई नियन्त्रण गर्न महिला नै लाग्नु पर्छ । सबै वर्गका मानिसको साझा पर्व तिज हो र हुन पर्छ । किनकि सबै वर्गले स्वीकारेको पर्व हो यो । तिजलाई संस्थागत रूपमा पनि मनाउन सकिन्छ । एक महिना अघिदेखि नमनाई सबै महिलालाई एकठाउँमा जुटाई एकै दिन पनि तिज मनाउन सकिन्छ । तिजमा गाइने गीत सन्देशमूलक हुन जरुरी पनि छ । तिजलाई मर्यादित र व्यवस्थित बनाउन लाग्नु पर्छ ।

प्रतिक्रिया