बसुन्धराको बुझाइ रभोगाइमा तिज

नेपालको चलचित्र क्षेत्रका लागि सबैले सम्मानले लिइने नाम हो– बसुन्धरा भुषाल । हास्यकलाकारिताका क्षेत्रमा नक्कलीको नामले परिचित बसुन्धरा भुषाल पहिलो हास्यअभिनेत्री पनि हुन् । चलचित्रकलाकारको छाता संघको नेतृत्व सम्हाल्ने पहिलो महिला पनि हुन् उनी । नेपालको कलाकारितामा राम्रो दख्खल राख्ने उनको सक्रियतामा युवा अवस्थाको भन्दा क्रियाशीलतामा कुनै कमी आएको छैन । हालसम्म सयौँ चलचित्रमा अभिनय गरी सकेकी छिन् उनले । उनै कलकार भुषालसँग तिजको सन्दर्भका भएको कुराकानी :
म सानै छुनुमुनु गर्ने हुदाँ आमाहरूले तिजको व्रत बसेर पूजा गरेको हेर्दा रमाइलो लाग्थ्यो । सबै जम्मा भएर गीत गाउँथे, दर खान्थे, म निदाएजस्तै गरेर बस्थे, कति बेला दर खान थल्लान् र उठौँला भनेर । आमालाई लाग्दो रहेछ, आफूहरू खाएपछि उठाउँला भन्ने । मेरो मन किन मान्थ्यो र म उठिहाल्थेँ । आमाले टोल छिमेकका दिदीबहिनी जम्मा पारेर दर खुवाउनुहुन्थ्यो । रातभर नाचगान गर्थे, हामी रमाइलो मान्थ्यौँ ।
पहिलोपटक महिनावारी भएपछि पञ्चमीको पूजा गर्नथालेँ । धेरैजना जम्मा भएर पूजा गर्दा रमाइलो लाग्थ्यो । हिजोआज भने पहिलाजस्तो धेरैजना हुदैनौँ तर पूजा भने गछौँ । पञ्चमीको दिन खाने कर्कलोको तरकारी केराउको अचार र भात केराको पातमा खाँदा साह्रै मीठो लाग्छ अहिले पनि ।
तिजको व्रत बिहे नभएकाले राम्रो पति पाउनका लागि र बिहे भएकाले श्रीमान्को सुस्वास्थ्य र दीर्घायुका लागि बस्ने मान्यता छ । अहिले आएर कतिले भन्छन्– हामी श्रीमान्का लागि व्रत बस्ने हो भने श्रीमान्ले पनि हाम्रा लागि व्रत बस्नुपर्छ । म यो कुरामा सहमत छैन । समानताको नाममा विवाद गर्नुहँदैन जस्तो लाग्छ । तिजको व्रत श्रीमान् सँगसँगै परिवार आफ्नो स्वास्थ्य र धर्मका लागि बस्ने हो ।
व्रत बस्दा शरीर हलँुगो भएजस्तो लाग्छ मलाई । बिहे पहिला त व्रत बसिन बिहेपछि सधैँ बसेकी छु । भगवान्को कृपा होला आजसम्म तिजमा व्रतमा कुनै बाधा अड्चनले छेकेको छैन । साँझ श्रीमान्को गोडाको पानी खानुपर्छ भन्ने धार्मिक मान्यतालाई मैले पनि पच्छ्याएकी छु ।
सानैमा बिहे भयो । बिहे पहिला तिजको व्रत बसिनँ । बिहेपछि व्रत बस्नुपर्छ भनेर बसेँ । बिहे गरेपछि व्रत बस्नै पर्छ भन्ने थियो । पहिलो ब्रत म बिहे गरेकै वर्ष बसेँ रमाइलो लाग्यो ।
पहिला मैले बुझेको तिज, मीठोमीठो खाने, गहना लगाउने, रातो सारी लगाउने, नाच्ने गाउने र पूजा गर्ने थियो । अहिले तिज मनाउने शैलीमा परिवर्तन भएको छ । अहिले त फेसनजस्तै भएको छ । गहना र कपडा देखाउने बाहना बनेको छ तिज । हाम्रो जस्तो गरिब देशको लागि यो राम्रो होइन । सबैलाई सम्मान हुनेगरी एकै प्रकारको कपडा र सामान्य गहना मात्र लगाउँदा राम्रो होला जस्तो लाग्छ ।
म ब्रत बस्दा सधैँ निराहार नै बस्छु । एक दुईपटक बिरामी परेर भने फलफूल र काँडा पानी खाएकी छु । एकपटक त तिजकै बेलामा इन्डोस्कोपी गर्नुपर्‍यो । खाली पेट औषधि खान नहुने हँुदा फलफूल खाएँ । खासमा फलफूल खाँदाभन्दा भोकै बस्दा सजिलो लाग्छ । बिरामी हुँदा श्रीमान्ले दियो भने खान हुन्छ भन्छन्, मलाई पनि श्रीमान्को आग्रहमा पानी खाइयो ।
कलाकारको जीवन कठपुतलीजस्तै हो । दर्शक र निर्देशकको हातमा हुन्छ । कथाले के माग्छ त्यही गर्नुपर्ने । निर्देशकको आदेशमा चल्नुपर्नेर्े । तिजको बेला आमा दिदीबहिनीहरू रातो सारी, सौभाग्यमा सजिएर व्रत बसिरहेका हुन्छन् । हामी कलाकार भने बिधवाको सिनमा सुटिङ गर्नुपर्छ । हामीलाई जे मन लागेको हुन्छ त्यो गर्न नै नपाइने कुनै सफलतामा मन खुसी भएको हुन्छ । उता सुटिङको दृश्यमा भने बलिन्द्रधारा आँसु झारेर ग्वाँग्वाँ रुनुपर्ने हुन्छ ।
तिजको दृश्य भएको सिनेमा सुटिङमा तिजमा लगाउने रातो–हरियो कपडा लगाएर झ्यामझ्याम नाच्दा, सुटिङ नभएर साँचै तिज नै हो कि जस्तो लाग्छ । कन्यादान, सुनगाभा, आमाको आर्शिवादलगायत फिलिममा तिजका दृश्य छन् । तिजको दृश्यमा बिधवाको भूमिका पनि निभाइयो ।
एक वर्ष तिजकै दिनमा जलजला फिलिमको सुटिङ पोखरामा थियो । प्लेनमा पोखरा गएँ धेरैलाई लागेछ मेरो माइती पोखरा भएकाले तिज मान्न पोखरा गई भन्ने । उता पोखरामा पनि धेरैले भने तिजमा माइत आउनुभएको । सुटिङमा विधवाको ड्रेसमा थिए । एकजना बुढीआमाले आएर कठै नानी † सुटिङमा त कति राम्री भएको कहिले बित्नुभयो ज्वाइँ साहेब ? भन्नुभयो । म पनि महिला न हुँ भावुक भएँ । श्रीमान्को दीर्घायुका लागि व्रत बसेकी मलाई साह्रै नरमाइलो लाग्यो । बाटोमा शिवको मन्दिर थियो, गएर दर्शन गरेँ । भगवानसँग भने यो मेरो कर्म हो । मेरो आत्मामा श्रीमान्प्रतिको श्रद्धामा कुनै कमी छैन ।
तिजकै दिन सुटिङ परे पनि म निराहार बस्छु । चाडवाडको दिनमा सुटिङ पर्दा राम्रो लाग्दैन । आफन्त साथीभाइसँग बसेर रमाइलो गर्न पनि नपाइने । आफन्तले बोलाउँदा जान पनि नपाइने । बोलाउँछन् नजाउँm भने ठूली भएकी भन्छन् सके र भ्याएसम्म बोलाएको सबै आफन्त र कार्यक्रममा जान्छु ।
तिजमा व्रत बस्ने, सौभाग्य लगाउने र श्रीमान्लाई दु:ख दिने सराप्ने महिला पनि हुन्छन् । धर्ममा औपचारिकता हुनुहँुदैन । जे गरिन्छ आत्म शुद्ध र सन्तुष्टिको साथ गर्नुपर्छ देखाउनका लागि होइन ।
सुनगाभा सिनेमामा दिया मास्के र निशा अधिकारी मेरा छोरी भएर खेलेका छन् । तिजको दिन उनीहरूलाई लिएर पशुपति जानुपर्ने सिन थियो । सुटिङ सकियो दिदीबहिनीले हात समातेर नाच्न तानेको तान्यै गरे, आफू त सुटिङमा थिए । जे होस्, रमाइलो नै भयो ।
तिजमा किनमेल गर्न भने भ्याउँदिन । धेरै वर्ष भयो एउटै साडी लगाएको । यसपालि त भदौ पाँचबाट नै तिज लागि हाल्यो । हातमा राम्रोसँग पालिस लगाउन पनि भ्याएको छैन । बोलाएको ठाउँमा टीका, चुरा, पोते फूल दिन्छन् त्यही लगाउँछु । कति ठाउँको त लिन पनि भ्याइँदैन । सबैले दिएको राख्ने ठाउँ पनि हुँदैन । म पनि दिदीबहिनीलाई गच्छेले भ्याएसम्म सौभाग्यका सामान बाँड्छु । तिजमा जति धेरै सौभाग्यको सामान बाड्यो उति राम्रो भन्छन् ।
पहिले पहिले दर खाने भनेर दिदीबहिनीलाई घरमा जम्मा गर्थे । कलाकर र उनको परिवारलाई घरमा बोलाएर नाचगान खाई–पिई गरिन्थ्यो । अहिलेचाहिँ कसैलाई खुवाउनु छ भने पहिले नै खुवाइहाल्ने गर्छु तिजको दिनमा त सम्भवै हँुदैन । अब त उमेर पनि बढ्दै गयो गाह्रो हुन्छ । आफ्ना दिदीबहिनीलाई जहिले खुवाए पनि हुन्छ । राति खायो जुठा भाँडा टन्नै हुने बिहान व्रतको दिन जुठो भाँडा माझ्नुपर्ने भन्दा त पहिले नै खुवाएर उम्कनु नै ठीकजस्तो लाग्छ ।
अहिले त एक दिनमा चारपाँच ठाउँको कार्यक्रम भ्याउनुपर्छ । धार्मिक कार्यक्रम, सामाजिक संघसंस्थाका कार्यक्रममा बोलाउँछन् । दिनभर दर खाने कार्यक्रममा जान्छु साँझ घर गएर भात खान्छु । कार्यक्रममा प्राय: खान नै भ्याइँदैन । अनुहार देखाउँदै हिँड्दै गर्नुपर्ने अवस्था छ ।
तिज आउनु एक महिनाअगाडिबाट दौडधुप हुन्छ । अझ शनिबारको दिन त भ्याउनै गाह्रो हुन्छ । नाच्न त मलाई साह्रै आउँदैन । तर, पनि ननाची सुखै पाइँदैन । मलाई साह्रै मन पर्ने गीत कन्यादान फिलिमको ‘तिजको रहर आयो बरी लै’ बोलको हो । तर, जीवन नै नाच्ने भएर होला जानीनजानी नाच्छु ।
सिनेमामा मात्र होइन, वास्तविक जीवनमा पनि महिलामाथि गरिने शोषण देख्दा नरमाइलो लाग्छ । कतिपय सिनेमामा त म आफैँले त्यस्तो गर्नुपरेको हुन्छ । श्रीमान् नभएकाले रातो लगाउनु हुँदैन भन्ने कुराको विपक्षमा छु म, रातो टीका, चुरा, गुन्यो, चोलीसँगै दिन्छन् बाबुआमाले, श्रीमान्ले दिने त पोते र सिन्दुर हो । त्यो मात्र लगाउनुहँुदैन श्रीमान् बितेका महिलाले भन्ने लाग्छ मलाई । कन्यादानमा गौरी मल्ललाई सुभद्रा दिदीले चड्काएको पनि सम्भँmदा आहिले पनि म झस्किन्छु ।
हिजोआज एकडेड महिनाअगाडिदेखि तिज मान्ने दिदीबहिनीलाई म उत्ताउलो मान्दिनँ । यो एउटा पर्व हो । संघसंस्थामार्फत दिदीबहिनीको एउटा भेटघाट गर्ने माध्यम पनि हो यो । तर, क्लबमा जाने तडकभडक गरेर तिज मान्ने कुरोमा मेरो सहमत छैन । अहिले पनि दुई छाक खान नपाउनेको संख्या धेरै छ । उनीहरूका अगाडि तडकभडकले मन दुखाउन सक्छ । आम्दानी कम हुनेलाई ऋणको भारी र पीडा पनि हुन सक्छ । त्यसैले सबैले सक्ने र पच्ने गरी चाडवाड मान्नुपर्छ ।
नेपालमा मात्र होइन । म त अमेरिका जाँदा पनि त्यँहा बस्ने नेपालीहरूले तिज त्यतिकै मान्छन् । अमेरिका पुग्दा पनि मैले तिजको उपहार र दर पाएको छु । कतै त सुन नै पनि उपहार पाएँ । नेपालमा पहिलेपहिले तिजमा चुरा, पोते, टीका उपहार पाइन्थ्यो । यसपालादेखि त खाममा राखेर चुरा लगाउन भन्दै नगद नै पो दिन लागे त । नगद लिँदा भने मलाई अलि अफ्ठ्यारो लाग्यो । तिजको कार्यक्रम पनि अहिले पार्टीपार्टीको फरकफरक हुँदा मलाई निको लाग्दैन ।
तिजलाई भनेर मैले सारी कहिले पनि किनेको छैन । पुरानो सारीलाई रफु भर्दै लगाउँदै गरेकी छु । व्रतमा लगाउने एउटा चोखो राख्छु त्यति हो । उपहारमा कहिलेकाहीँ दाजुभाइले दिएका सारी छन् । सिउन पनि भ्याएको छैन । चुरा लागउन पनि भ्याएको छैन । अरूले दिएकै चुराले पुग्छ । इन्द्रचोकमा कुमारदाइको चुरा पसल छ उहाँले दिनुहुन्छ ।
हिजोआज महिनौँदेखि दर खान वा तिजको कार्यक्रममा जानुपर्छ । तर, म शृंगारका लागि ब्युटिपार्लर जान भ्याउँदिन समय र पैसाले । फिलिम सुटिङमा भने हल्का शृंगार गर्नुपर्छ । युनिटले नै मिलाएको हुन्छ ।
छोराको ससुरालीबाट पनि दर आउँछ । म पनि छोराकी सासुलाई दर पठाउँछु । छोराको ससुरालीको मात्र खानुपर्छ भन्ने मलाई लाग्दैन । बुहारीको माइतबाट सम्मानपूर्वक आएको दरमा म सन्तुष्ट हुन्छ । दर खाने दिन रातभर थरीथरी खाने र भोलिपल्ट दिनभर निराहार बसेर धेरै महिला बिरामी पर्छन् । यसो गर्नु ठीक होला जस्तो लाग्दैन । तिज खान लाउन मात्र होइन, दिदीबहिनीबीच आपसमा सुखदु:ख बाँड्न पनि हो । तिजमा आमालाई खुब सम्झन्छु । अहिले उहाँ हुनुहुन्न । पहिले पहिले खान बोलाउनुहुन्थ्यो । घरमै पठाउन थाल्नुभयो । आमाले दिएको दरको अगाडि अरूले दिएको फिक्का हुँदो रहेछ । दिदी र जेठानीले दिनुहुन्छ । म पनि उनीहरूलाई दिन्छु । पूर्वआइजिपी एवं मन्त्री डिबी लामासंँग मैले तिहारको टीका लगाउने गरेकी छु । उहाँले पनि दर पठाउनुहुन्छ ।
तिजको व्रत बस्दा शरीर फुर्तिलो भएको जस्तो लाग्छ, खासै गाह्रो लाग्दैन । बिहेपछि सधैँ बसेकी छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया