पचास हजार युवालाई स्वरोजगार बनाइने

काठमाडौ, १ असोज । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले उद्यमशीलताको विकास गर्दै चालु आवमा ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ काम गर्ने भएको छ ।
गत बिहीबारदेखि जारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका स्वयंसेवकको राष्ट्रिय गोष्ठीका सहभागीले विगतमा कर्जा प्रवाहलगायत विविध कारणले लक्ष्य प्राप्त गर्न नसकिएको बताउँदै युवा तथा साना व्यवसायीलाई व्यावसायिक खेती, पशुपक्षी पालन र कृषि तथा वनपैदावारमा आधारित उद्योगमा लाग्न बेरोजगार युवालाई उत्प्रेरित गरिने बताए ।
मुलुकभरका सबै जिल्लाका ५० हजार युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी लक्ष्यका साथ सुरु गरिएको स्वरोजगार कार्यक्रमलाई कागतमा मात्र सीमित नराखी त्यसलाई व्यवहारमा अनुवाद गर्न आफूहरूलाई पर्याप्त ज्ञान राष्ट्रिय गोष्ठीबाट प्राप्त भएको उनीहरूको कथन थियो ।
युवा तथा साना व्यवसायीको क्षमता अभिवृद्धि, वास्तविक बेरोजगार तथा उद्यमशील व्यक्तिको पहिचान, कर्जा प्रवाह तथा त्यसको उपयोग एवं अनुगमन, बजार व्यवस्थापनबारे आफूहरूलाई जानकारी भएको उल्लेख गर्दैै उनीहरूले त्यसलाई प्रभावकारीरूपमा प्रयोग गर्ने बताए ।
गोष्ठी समापन गर्दै अर्थसचिव कृष्णहरि बाँस्कोटाले उद्यमशीलताको विकासमार्फत परम्परागत उत्पादन प्रणालीमा परिवर्तन गरी मुलुकको द्रुततर विकासका लागि शिक्षित तथा अशिक्षित बेरोजगार युवालाई स्वरोजगारका अवसर उपलब्ध गराउने नीतिको अक्षरश: पालना गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।
आर्थिक–सामाजिक रूपान्तरणलाई सरकारले अधिक प्राथमिकता दिएको उल्लेख गर्दै उनले बैंक तथा वित्तीय संस्थालाई कृषि, पशुपालन, आयआर्जन, स्वरोजगारी सिर्जना, साना तथा मझौला उद्योगको प्रवद्र्धनमा सरल ढंगले कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताए । उनले बेरोजगार युवाको पहिचान गर्न तथा उनीहरूले गर्न लागेको व्यवसायबारे यथेष्ट जानकारी उनीहरूलाई दिन पनि स्वयंसेवक सजग भएर लाग्न निर्देशन दिए ।
कोषका उपाध्यक्ष प्रा. पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा भएको समापन कार्यक्रममा कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले व्यावसायिक कृषि तथा कृषिजन्य उद्यममा लाग्न युवालाई प्रेरणा दिन स्वयंसेवीलाई आग्रह गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न गोष्ठी सफल भएको विश्वास व्यक्त गरे ।
युवालाई स्वरोजगारयुक्त बनाउन नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंंक र कृषि विकास बैंंकले २५–२५ जिल्ला गरी ७५ वटै जिल्लामा बढीमा दुई लाख ऋण प्रदान गर्दै आएका छन् । चालु आवमा निर्धारित लक्ष्य प्राप्त गर्न ग्रामीण विकास बैंक, लघुकर्जा, साना किसान सहकारीलगायत अन्य स्थानीय वित्तीय संस्थाले पनि सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्नेछन् ।
गोष्ठीमा मुलुकभरका ७५ वटै जिल्लाका स्वयंसेवक, कोषका पदाधिकारी, नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, मेघा बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, साना किसान विकास बैंकका वरिष्ठ अधिकृत गरी करिब एक सय सहभागी थिए ।

प्रतिक्रिया