तिजले बिगार्ला स्वास्थ्य

आज तिजको अघिल्लो दिन । अर्थात् दर खाने दिन । आज राति विभिन्न परिकार सेवन गरेपछि पर्सि बिहान पूजा नगरुन्जेल महिलाले अन्नपान गर्न नहुने परम्परा छ । भोलि दिनभर शिवपार्वतीको कठोर व्रत बस्छन् महिलाहरू ।
बढ्दो सहरीकरण र देखासिकीका कारण दरका नाममा अनेक खानेकुरा खाने चलन बढेको छ पछिल्लो समय । अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी पनि नखाई व्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हुने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार केही दरको नाममा बढी चिल्लो, पिरो र मसालेदार खान खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या निम्तिन्छ । भोको बस्दा ग्लुकोजको मात्रा कम भएर मुर्छा पर्दै उपचारका लागि अस्पताल आउने महिलाको संख्या पनि बढिरहेको छ । त्यसमाथि भोकोपेटमा नाचगान बढी गर्नाले पनि नाच्दा नाच्दै ढल्ने वा मूर्छा पर्ने समस्या आउने गरेको वीर अस्पतालका चिकित्सक डा. धु्रवप्रसाद सिंहले बताए । उनका अनुसार ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको पाइन्छ ।
त्यसो त एउटा स्वस्थ व्यक्तिले एक दिन निराहार बस्न नसक्ने होइन । मानिसलाई दैनिक करिब दुई हजार दुई सय ७० क्यालोरी शक्ति चाहिन्छ । उक्त शक्ति खानाबाट प्राप्त हुन्छ । खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन । यस्तो अवस्थामा उक्त शक्ति शरीरमा सञ्चित बोसोबाट प्राप्त हुन्छ । प्रोटिन र केही भिटामिनको कमी हुने भए पनि एकै दिनमा कुनै गम्भीर असर गर्ने सम्भावना कम हुन्छ । तर, पानीको मात्रा कम हुँदा डिहाइड्रेसनका कारण कमजोर भई मान्छे बेहोस हुने तथा पहिलेदेखि नै कमजोर एवं दीर्घरोगीहरूको मृत्युसमेत हुन सक्छ ।
डा. सिंह तिजको व्रतमा पानी पनि नखानुलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मान्न नसकिने बताउँछन् । उनका अनुसार मानव शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानी चाहिन्छ । ‘निराहार बसेका बेला अझ बढी पानी चाहिन्छ । नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र लवण बढी खेर जाने भएकाले हाम्रो शरीरलाई अझ बढी पानी चाहिन्छ,’ उनले भने, ‘त्यस कारण महिलाहरूले पानी नै नखाई व्रत बस्नु आफ्नै स्वास्थ्यलाई असर पुर्‍याउनु हो ।’ उनका अनुसार उपवासका बेला अन्न नखाए पनि पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । कोही महिला मूर्छा परेर ढलेमा पानी, ग्लुकोज पानी वा जीवनजल दिनु फाइदाजनक हुन्छ ।
तिजको रमाइलो पक्षमध्ये पर्छ अघिल्लो दिन दर खानु पनि । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । यसरी तयार पारिएका परिकार बनाउन प्रयोग गरिएको तेल, मसला आदिको गुणस्तरमा ध्यान पुर्‍याउनुपर्ने चिकित्सकहरू बताउँछन् । घरमा तयार गरिएका परिकार सुन्दर नभए पनि ताजा र स्वस्थकर हुन्छन् तर आजकल महिलाहरू घरमा दर बनाउन झन्झटिलो हुने भन्दै बजारबाट मिठाइ तथा अन्य परिकार खरिद गरी ल्याउने गर्छन् । बजारमा सजाइएका मिठाइ हेर्दा आकर्षक र खाऊँ–खाऊँ लाग्ने भए तिनलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रंग तथा ‘प्रिजरभेटिभ’ प्रयोग गरिएको हुन्छ । विश्वासिला मिठाइ पसलेहरूले समेत कम गुणस्तरका खाद्य रंग प्रयोग गरेका हुन सक्छन् । यसले कसैलाई पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड पोइजनिङ आदि गराउन सक्छ ।
रंग तथा ‘प्रिजरभेटिभ’ ले मान्छेलाई विभिन्न खाले एलर्जी गराउँछ । मुख तथा जिब्रोमा घाउ, खटिरा आउन सक्छन् । दरमा विभिन्न किसिमका अचार पनि राखिन्छ । यस्ता अचारले खानामा रुचि बढाउने भए पनि अधिक चिल्लोपना र मसालाका कारण अपच हुने, एसिडिटी बढ्ने समस्या निम्तिन्छ । दरका अधिकांश खाने कुरा यसै पनि चिल्ला हुन्छन्, त्यसमाथि घिउ विशेष खाने चलन हुन्छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइन्छ भन्ने विश्वास छ । यसरी धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ । त्यसैले दरमा चिल्लो खानेकुराका तुलनामा दही, फलफूल, हरियो सलाद आदिमा बढी जोड दिन महिलाहरूलाई सुझाब दिन्छन् डा. सिंह ।

प्रतिक्रिया