गणेशमान क्याम्पसको वार्षिकोत्सव

काठमाडौं : गणेशमान सिंह बहुमुखी क्याम्पस कलंकीको पाँचौँ वार्षिकोत्सव तथा तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले वर्तमानमा देखिएका विकृतिको जिम्मेवार वर्तमान भट्टराई सरकार भएको आरोप लगाए । भट्टराई नेतृत्वको सरकार नहटेसम्म मुलुकमा सुशासन कायम नहुने दाबी गर्दै उनले सरकारको बर्खास्तीका लागि राष्ट्रपतिले भूमिका खेल्नुपर्ने बताए । यस्तै, कांग्रेसका काठमाडौं जिल्ला सभापति भीमसेनदास प्रधानले गणतान्त्रिक नेपालको जग बसाउन महत्त्वपूर्ण भूमिका खेलेका गणेशमानलाई राज्यले उचित सम्मान दिन नसकेको गुनासो गरे । यस्तै, भारतका लागि पूर्वनेपाली राजदूत तथा कूटनीतिज्ञ डा. दुर्गेशमान सिंहले अस्थिर सरकारकै कारण शैक्षिक क्षेत्र दिन प्रतिदिन तहसनहस बन्दै गएको बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उत्तमराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख रामहरि रिजाल, पूर्व क्याम्पस प्रमुख रामेश्वर काफ्ले, शान्ता सिवाकोटीलगायतले मन्तव्य राखेका थिए भने विभिन्न राष्ट्रिय स्तरका कलाकारले तिज गीतका साथमा विभिन्न प्रहसन प्रस्तुत गरेका थिए । (सौस)

प्रतिक्रिया