बेलायतमा अमेरिकी झन्डा जलाइयो

लन्डन : अमेरिकामा निर्मित फिल्मले पैगम्बर मोहम्मदको अपमान गरी इस्लाम धर्मलाई होच्याएको भन्दै मुसलमान बहुल राष्ट्रबाट सुरु अमेरिकाविरोधी प्रदर्शन बेलायतसम्म फैलिएको छ । शुक्रबार बेलायतको राजधानी लन्डनमा प्रदर्शनकारीले अमेरिकी झन्डा जलाएका छन् ।
करिब डेढ सय मुसलमान प्रदर्शनकारी ‘अमेरिकालाई जलाइदे’ जस्ता आक्रामक नाराबाजी गर्दै लन्डनस्थित अमेरिकी दूतावासतर्फ अघि बढेका थिए । लगत्तै उनीहरूले अमेरिकी झन्डा जलाएका थिए । साथै इजरायलको राष्ट्रिय झन्डामा समेत प्रदर्शनकारीले आगो लगाएका थिए । बेलायतमा सारिया कानुन लागू गर्न पनि उनीहरूले माग गरेका थिए । दुई प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
फिल्मसम्बन्धी विवादकै कारण गत साता आक्रोशित प्रदर्शनकरीले लिबियाको दोस्रो ठूलो सहर बेन्घाजीस्थित अमेरिकी कन्सुलेट कार्यालयमा आक्रमण गर्दा अमेरिकी राजदूतसहित अन्य तीन अमेरिकी कूटनीतिज्ञको मृत्यु भएको थियो । त्यसलगत्तै अरबभर अमेरिकाविरोधी प्रदर्शन फैलिएको थियो । यमन र इजिप्टमा समेत प्रदर्शनकारीले अमेरिकी दूतावासमाथि धावा बोल्ने प्रयास गरेका थिए । अमेरिकामा बनेको सो फिल्मले इस्लामको बेइज्जत गरेको र आफ्ना राजदूतको हत्यापछि अमेरिकी लिबियातर्फ युद्धपोत पठाएको भन्दै विरोधमा नाराबाजी भएको थियो । इजिप्टस्थित अमेरिकी दूतावासभित्रै प्रवेश गरी प्रदर्शनकारीले अमेरिकी झन्डा च्यातेका थिए । यसबाहेक बंग्लादेश, मोरक्को, सिरिया, इराक, इरान, अफगानिस्तान, टर्की, पाकिस्तान, बहराइनलगायत राष्ट्रस्थित अमेरिकी दूतावासअघि पनि अमेरिकाविरोधी प्रदर्शन भएका छन् ।
मुस्लिम जगतलाई आक्रोशित पार्ने फिल्मको नाम ‘इनोसेन्स अफ मुस्लिम’ हो । फिल्ममा इस्लामको चर्को आलोचना गरिएको छ । साथै मोहम्मदलाई जाली, स्त्रीलम्पट र बौलाहका रूपमा चित्रण गरिएको छ । अमेरिकाको चरमपन्थी क्रिस्चियनको एउटा समुदायले फिल्म निर्माण गरेको बताइन्छ ।
फिल्मलाई लिएर अमेरिकाको चर्को विरोध हुन थालेपछि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले फिल्मसँग अमेरिकी राज्यको कुनै सम्बन्ध नरहेको जिकिर गर्नुपरेको थियो । अरब जगतमा अमेरिका–विरोधी भावना फैलिएपछि लेबानन पुगेका क्रिस्चियन धर्मका सर्वोच्च धर्मगुरु पोप बेनेडिक्टको सुरक्षाबारे चिन्ता व्यक्त गरिएको छ । बेनेडिक्ट तीन दिने भ्रमणका लागि शुक्रबार लेबानन पुगेका थिए । (एजेन्सी)

प्रतिक्रिया