‘राष्ट्रपति सुन्दरीको ताजजस्तो होइन’

काठमाडौ : एमाले नेता केपी शर्मा ओलीले संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले राजनीतिक निकासका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट प्रगतिशील व्यावसायिक कानुन व्यवसायी संगठनले शनिबार बल्खुस्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा नेता ओलीले राष्ट्रपति सुन्दरी प्रतियोगितामा सुन्दरीको शिरमा प्रदर्शन गरिने ताज मात्रै नभएको बताए । ‘राष्ट्रपति सुन्दरी प्रतियोगितामा सुन्दरीको शिरमा पहिरिने ताजजस्तो होइन,’ ओलीले भने, ‘संविधानले नै राष्ट्रपतिलाई संविधानको संरक्षक मानेकाले संकटमा परेका बेला संरक्षकका हैसियतले राष्ट्रपतिले निकास दिनुपर्छ ।’
उनले दुई वर्षको म्यान्डेट पाए पनि संविधानसभाले चार वर्ष बिताएर संविधान बनाउन नसकेकाले संविधानसभा पुन:स्थापनाको औचित्य नभएको बताए । ‘दुई/दुई कार्यकालसम्म पनि असफल भइसकेको संविधानसभा ब्युँताएर विदेशी चलखेललाई मलजल गर्नुको कुनै अर्थ छैन,’ उनले भने, ‘संविधान नबनाउने संविधानसभा ब्युँताएर विदेशीलाई चलखेल गर्ने अवसर दिनु र एमाओवादीको अभीष्ट पूरा गर्ने बाटो खोल्नुको साटो जनतासँग नयाँ जनादेश माग्नु उपयुक्त
हुन्छ ।’ अञ्जु लामा/प्रशिक्षार्थी

प्रतिक्रिया