बिबी एयरवेजको जहाज अवतरण

काठमाडौं : बिबी एयरवेजको पहिलो उडान बिओ ४२८ बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
कम्बोडियाको सियाम रिपबाट दुई सय एक पर्यटक लिएर आएको बोइङ ७५७–२०० विमानबाट बिबी एयरवेजले आफ्नो उडान थालेको हो । विमान अवतरणपछि बिबी एयरवेजका अध्यक्ष भवन भट्टले भने, ‘यो हाम्रो मात्र उपलब्धि होइन, सम्पूर्ण देशकै उपलब्धि हो ।’
उडानले देशको आर्थिक उन्नतिका लागि नयाँ आयाम थपेकोमा पनि उनले बताए । एयरवेजको चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रूपमा सञ्चालन गरिएको छ । एयरवेजले आफ्नो नियमित उडान २५ असोजदेखि सञ्चालन गर्दै छ । सो नियमित उडान मलेसियाको क्वालालम्पुर र चीनको हङकङतर्फ हुनेछ भने जापानको नारिताका लागि पनि एयरवेजले साताको दुईवटा चार्टर उडान गर्ने जनाएको छ ।
एयरवेजले क्वालालम्पुरसम्म साप्ताहिक रूपमा चारपटक र हङकङमा तीनपटक उडान भर्ने जनाएको छ । क्वालालम्पुरका लागि सोमबार, बिहीबार, शनिबार र आइतबार उडान हुनेछन् भने हङकङका लागि मंगलबार, शुक्रबार र आइतबार उडान हुनेछ ।  एयरवेजको भाडादर काठमाडौंबाट क्वालालम्पुर र फिर्तीका लागि ३६ हजार रुपियाँबाट सुरु हुन्छ भने हङकङका लागि भने काठमाडौं–हङकङको दोहारो भाडादार ४८ हजार रुपियाँबाट सुरु हुने पनि एयरवेजले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा एउटा जहाज अवतरण हुनु ठूलो कुरा नहोला तर निजी क्षेत्रको संलग्नताबाट भएको नेपालको अन्तर्राष्ट्रिय उड्डयनको इतिहासमा एउटा ठूलो फड्को भएको एयरवेजका प्रबन्ध निर्देशक शिशिर भट्टले बताए । (सौस)

प्रतिक्रिया