सम्झिरहन्छु, मुग्लिनको हनिमुन

गाउँमा एमाले पार्टीका तर्फबाट सांस्कृतिक कार्यक्रम थियो । अग्रजहरूले मलाई पनि गीत गाउन बोलाउनुभयो । त्यति बेला तिरिरिरी दाजु बाँसुरी बज्यो बनैमा, दु:ख लाग्छ दाजु बाबाको मेरो मनैमा गीत गाएको अहिलेजस्तो लाग्छ । अनि भर्खरैजस्तो लाग्छ, त्यही स्टेजमा एउटी केटीले कम्मर मर्काइ–मर्काइ नाचेको । कल्पना नाम गरेकी उनलाई त्यसअघि पनि देखेको भने थिएँ, एउटै स्कुलमा पढ्थँे । कक्षा फरक भएकाले चिनजान थिएन । म आठमा पढ्थेँ, उनी पाँचमा ।  त्यो कार्यक्रमको रिहर्सलभरि सँगसँगै भइयो ।
रिहर्सलको तेस्रो दिन । गाउँकी एक बहिनीले मेरो हातमा एउटा चिठी थमाइन् । तिनै कल्पनाले पठाएकी रहिछन् । म त अचम्ममा परेँ । त्यसमा लेखिएको थियो– ‘श्री प्राणभन्दा प्यारो साथी बद्री.. आकाशभन्दा फराकिलो, समुद्रभन्दा गहिरो, नदीभन्दा लामो, चिनीभन्दा गुलियो †’ यस्तै के–के लेखेर मलाई मायाका शब्दहरूले सम्बोधन गरिएको थियो । उनले ममा के देखिन् कुन्नि † त्यस बेलासम्म उनी मलाई राम्री लाग्थिन् तर मायालु नजरले हेरिसकेको थिइनँ ।
चिठी पढिसकेपछि मलाई पनि कताकता काउकुति लागेर आयो । त्यत्तिकै कहाँ मान्थ्यो र मनले † भोलिपल्टै जवाफ पठाएँ– ‘प्रिय कल्पु, मीठो सम्झना अनि मायाहरू, स्वीकार ल †’ अब हामीबीचको सम्बन्ध यसरी झाँगियो कि एक दिन मात्रै कसैले चिठी लेखेन भने के नपुगे–नपुगेजस्तो लाग्न थाल्यो । यही क्रम निरन्तर निरन्तर आठ वर्ष चलिरह्यो ।
मेरो पहिलो डेटिङ नै उनैसँग भएको हो । कल्पना पंगेनी (वशिष्ठ) हुन् । करिब १९ वर्षअगाडि २०५० सालतिर हो, हामीबीच लभ अफेयर चलेको । पाल्पाको रामपुर हाम्रो गाउँ । घर नजिकैनजिकै थियो । म सानैदेखि गीतसंगीतमा रुचि राख्थेँ । उनी नाच्न मन पराउँथिन् ।
आठ वर्ष लामो प्रेमसम्बन्धमा हामीले कहिल्यै एकान्तमा डेटिङ गरेनौँ । पार्टी, पौवा चौतारीलगायतमा भेट्थ्यौँ । म गहुँ–मकै भुटेर स्कुलमा लैजान्थेँ, उनी पनि घरबाट केही न केही ल्याउँथिन् । साथीहरूसँगै बसेर खान्थ्यौँ । सम्बन्ध लम्बिँदै जाँदा हामी नजिकका जंगलहरूतिर पनि जान थाल्यौँ । चराचुरुंगीको चिरबिरसँग रमाउँदै घन्टौँ मायाका गफ गरेर बिताउँथ्यौँ । भगवान्लाई साक्षी राखेर भन्छु, यस्ता कुनै परिस्थितिमा हामीबीच सेक्स सम्बन्ध भएन । आठ वर्ष लामो प्रेमसम्बन्धमा उनीसँग चुम्बनचाहिँ साटासाट भएको हो । एकचोटि मेरो हातमा घाउ भएको थियो । कसोकसो कोट्याउन पुगेँछु, रगत आयो । उनले त्यसलाई पुछिदिइन् । पहिलोचोटि उनी र मबीच ‘टच’ भयो । मैले उनको हात समाएँ । उनले मेरो घाउमै चुम्बन गरिन्, मलाई आनन्द आयो । त्यसपछिचाहिँ जे त पर्ला भनेर मैले पनि उनलाई चुम्बन गरिदिएँ ।
१० कक्षा पढिरहँदा म काठमाडौं आउनुपर्ने भयो । उनीसँगको प्रेम कहिल्यै नओइलाउने गरी मनमा साँचेर छुट्टिएँ । काठमाडौंमै बसेर एसएलसी पास गरेँ । आपसमा नभेटीकन बस्दा थाहा हुँदो रहेछ, एकअर्काको कति माया लाग्दो रहेछ भनेर । एकअर्काविना बाँच्नै नसक्ने स्थिति थियो । त्यसैले टाढा भए पनि हामीबीच सम्पर्क भने भई नै रह्यो । सम्पर्कको दह्रिलो र सजिलो माध्यम उही चिठी नै थियो । जिल्लामा ०७५२९४११ नम्बरको एउटा मात्र टेलिफोन थियो, त्यसले २० हजारभन्दा बढी मान्छेलाई धान्नुपथ्र्यो । तर, बिस्तारै उनले बेवास्ता गरेजस्तो अवस्था देखियो । मैले तीन महिनाका बीचमा ७–८ वटा चिठी पठाइसक्दा पनि उनका तर्फबाट एउटै जवाफ आएन । एक मनले सोच्थेँ– ‘मलाई धोका दिई ।’ फेरि अर्को मनले भन्थ्यो– ‘बिरामी पो भई कि †’ लामै समयसम्म पनि चिठी नआएपछि धोकै दिएको लख काटेँ ।
एकचोटि रामपुरमै एउटा सांस्कृतिक महोत्सव हुने भयो । यति बेलासम्म म चिनिएको कलाकार भइसकेको थिएँ । दुइटा एल्बम निकालिसकेथेँ । त्यही कार्यक्रममा मैले गीतमार्फत ‘मायामा उनले दिएका चोटहरू’ को बदला लिने सोचेँ । उनी बाहुन र म क्षत्रीको छोरो भएकाले जातकै कारण उनले धोका दिएकी हुन् भन्ने लागेको थियो । मलाई जसरी हुन्छ, ‘धोका’ले छटपटिएको मनको डाह शान्त पार्नु थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ बाट दुई लाइन सापट लिएर गीत बनाएँ । अनि त्यही कार्यक्रममा गाएँ–
क्षत्रीको छोरो यो पाउ छुन्छ घीनले छुँदैन
मनिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
उनी रै’छन् ठूलो जातको म त सानो जातको
फूलको रसमा रमाउनेलाई केको माया पातको †
कार्यक्रममा उनी आमासँग आएकी थिइन् । देखेर पनि नदेखेझैँ गर्न मन लाग्यो मलाई । त्यही रन्कोमा लगातार बिछोडका गीतहरू गाएँ । हाम्रो सम्बन्धबारे थाहा पाएका दर्शकले चर्चा पनि गरे– बद्रीले यो गीत कल्पनाकै लागि गाएको हो † मैले वास्तै गरिनँ, आफ्नै पारामा लागिरहँे ।
म नबोलेपछि उनको चित्त साह्रै दुखेछ । घरमा गएर आमासँग साह्रै रोइछिन् । आमाको मन न हो । कुरा के रहेछ भनेर मलाई भेट्न बोलाउनुभयो । रामपुरको एउटा खोलाछेउमा हामी भेट भयौँ, भोलिपल्टै । ‘म बद्रीबाहेक अरू कसैसँग बिहे गर्दिनँ, म उसलाई पहिल्यैदेखि एकदम माया गर्छु’, आमासँग यसो भन्दै रुन थालिन् । त्यही बेला मैले पनि दुखेसो गरेँ– ‘तेसो हो भने मेरो चिठीको जवाफ किन नपठाएको, मलाई किन माया मारेको ?’ कुरो बुझ्दै जाँदा हामीबीच असमझदारी पो भएको रहेछ । उनी मलाई अझै उत्तिकै माया गर्दी रहिछन् । उनले पठाएको चिठीमा ठेगाना मिस्टेक लेखिछन् । त्यही कारण रिटर्न भएर गाउँमै पुगेछ । हुलाकीले त्यो चिठी उनका बुबालाई दिएछ । बुबाले यो कुरा थाहा पाएपछि चिठी आउन बन्द भइहाल्यो । उनको दोष होइन भन्ने थाहा पाएपछि झन् माया लागेर आयो मलाई । उनीप्रतिको ईख सबै एकैछिनमा पखालिदियो मनले । उनकी आमासँग आग्रह गरेँ– ‘म पनि कल्पनालाई एकदमै माया गर्छु, दु:खसुख जस्तो भए पनि जीवनभर पाल्छु ।’  हाम्रो प्रेम देखेर उहाँको मन पग्लिएछ । छोरी मैलाई दिने वचन दिनुभयो । अनि मेरो सफलताको कामना गर्दै काठमाडौं पठाउनुभयो– ‘राम्रो प्रगति गर्नू ।’ त्यो दिन मलाई दुनियाँमा आमाजस्तो महान् कोही हुँदैनन् भन्ने लाग्यो । उनका बुबाले पनि यो कुरा थाहा पाउनुभएछ । अब सुरु भो अप्ठ्यारो । आमाले त हामीबीच सम्बन्ध जोडिदिनुभयो । तर, उनका बुबाआमाबीचचाहिँ खटपट सुरु भयो । विवाद हुन थालेपछि उहाँहरू एक महिनासम्म छुट्टाछुट्टै खाने, बस्नेसम्म अवस्थामा पुग्नुभएछ । बुबा भूपू प्रधानपञ्च । ‘बद्रीलाई छोरी दिन्नँ’ भनेर अठोटै लिनुभएछ । कल्पनाको बिहे अन्तै गर्ने योजना बनाउनुभएछ । एक दिन एक्कासि आमाको फोन आयो– ‘तिमीहरूको मायालाई सफल बनाउने हो भने तुरुन्तै बिहे गरिहाल्न पर्ने भो ।’ म समस्यामा परेँ † उमेर जम्मा १८–१९ वर्ष मात्र न थियो । सोचेँ– ‘उनीविना कसरी बाँच्न सकूँला र ? आफ्नो पहिलो प्रेम त्यत्तिकै जान दिन्नँ ।’ बिहे गर्ने निर्णयमा पुगेँ । घरमा मेरो बुबासँग सल्लाह गरेँ, उहाँ सकारात्मक हुनुभयो । लाग्यो– संसारका उत्कृष्ट बुबाहरूमध्ये मेरो बुबा पनि एक हुनुहुन्छ ।
२०५८ साल असार १६ गते बुटवलको सिद्धबाबा मन्दिरमा साधारण किसिमले हाम्रो विवाह भयो । सासूआमा उनीसहित  केही आफन्त लिएर आउनुभयो । म पनि लोकगायक भगवान भण्डारीसहित केही मिल्ने साथीहरू लिएर गएको थिएँ । संयोग पनि कस्तो पर्‍यो भने म जन्मिएको दिन पनि असार १६ नै हो । उनको हात मेरो हातमा थमाएर सासूआमा रामपुर फर्किनुभयो । म जिम्मेवारीबोध गर्दै उनलाई लिएर काठमाडौंतर्फ लागेँ । अब उनी सधैँभरिका लागि मेरी भइसकेकी थिइन्– कल्पना पंगेनी (वशिष्ठ) बनेर ।
त्यसो त हामीले त्यस दिन पोखरा जाने निधो गरेका थियौँ । तर, साथीहरूले बिहेको रात अन्त हिँड्न नहुने बताएपछि मुग्लिनमै बास बस्यौँ । त्यहीँ भयो हाम्रो हनिमुन । बिहान उठेर हामीले सँगै नुहायौँ । उनले मेरो अन्डरवेयर धोइदिइछन् । मलाई चित्त बुझेन, अबदेखि त्यसो नगर्न आग्रह गरेँ । अहिले पनि श्रीमतीलाई कुनै कुरा नगर्न आग्रह गर्दा मलाई मुग्लिनको त्यही हनिमुन सम्झना आइहाल्छ । बिहेको तीन महिनापछि दसैँमा उनको घर गयौँ ।
अहिले त हामीबीच बिहे भएको पनि ११ वर्ष पुगिसकेछ । नौ वर्षकी छोरी बिहानी चार कक्षामा पढ्दै छिन् । यसबीच शंका–उपशंकाले वैवाहिक सम्बन्धमा अलिअलि तनाब पनि ल्यायो । श्रीमती सँगै छिन्, गीत गाउनुपथ्र्यो– कसरी मन बुझाउने मैले खै, कल गरेर मेरो हजुर श्रीमती पोइल गई । पेसागत कलाकारिताका क्रममा जस्तो भावनाका गीत पनि गाउनुपर्ने हुन्छ । तर, उनले नबुझिदिँदा  अलिअलि ठाकठुक पनि पर्‍यो । हाम्रो सम्बन्धलाई सकारात्मक भइरहेको देख्न नचाहनेहरूले खेलेको भूमिकाले पनि अलिकति समस्या आएको थियो । त्यसैमाथि अनावश्यक रूपमा मेरो नाम कुनै केटीसँग जोडेर अफवाह फैलाइयो । यिनै कारणले एक समय त उनी मप्रति निकै अविश्वासी बनिन् । पोकापन्तेरा बोकेर ‘म तँसँग यसरी बस्न सक्दिनँ’ भन्दै कोठाबाट निस्किएको याद छ ।  यस्ता केही समस्या हामीले भोगेका छौँ, जसलाई अहिले नकोट्याऊँ । एउटा गीतै छ नि– कति कुरा नभनेरै मीठा हुन्छन् ।
अहिले चाहिँ सुमधुर सम्बन्धमा बाँचिरहेछौँ, कुनै शंका–उपशंका छैन । लाग्छ– मागी विवाहभन्दा प्रेमविवाह नै राम्रो हो । त्यसो त पतिपत्नीबीच कहिलेकाहीँ केही समय ग्याप हुनु पनि राम्रै जस्तो लाग्छ मलाई । कार्यक्रमका लागि विदेश गएका बेला एक महिनापछि पत्नीसँग भेट हुँदा छुट्टै मायाको अनुभूति हुँदो रहेछ । लामो समयपछि भेटिएका आत्मीय प्रेमीप्रेमिकाको जस्तो । तिनै डेटिङ जाँदाताकाको जस्तो फ्रेस अनि कञ्चन प्रेमानुभूति । नत्र त सधैँ कोठामा गयो त्यही बूढी, भान्सामा गयो त्यही बूढी † श्रीमतीलाई पनि कोठामा आयो त्यही बूढा, भान्सामा गयो त्यही बूढा । सम्बन्धमा नयाँपन नहुँदो रहेछ । मलाई त लाग्छ– व्यवहारको चंगुलमा फसिसकेपछि कुनै पनि पतिले पत्नीलाई सधैँ खुसी राख्छु भन्ने अठोट नलिए हुन्छ । सँगै बसेपछि अलिअलि ठाकठुक त भई नै हाल्छ । तर, तिनै ठाकठुकभित्र गहिरो माया पनि लुकिरहेको हुन्छ । त्यसैले हामीलाई जीवनभर एकअर्काबाट छुट्टिन नसक्ने मायाको सूत्रमा बाँधिरहेको हुन्छ । अन्त्यमा उनलाई भन्न चाहन्छु– ‘विश्वास नै माया हो, मलाई विश्वास गर है †’
प्रस्तुति : विशाल राई (तस्बिर पनि) 

प्रतिक्रिया