चोरको प्राथमिकता सुनमा

काठमाडौं, २९  भदौ । सुनको भाउ बढेसँगै उपत्यकामा सुनचोरीका घटना पनि बढेका छन् । पछिल्लो एक सातामा भएको १२ वटा चोरीका घटनामा नौ स्थानमा सुनका गहना चोरी भएका छन् ।
प्रहरीका अनुसार एक सातामा १४ तोलाभन्दा बढी सुनका गहना, चार तोला चाँदी, डेढ तोलाभन्दा धेरै तौलको तीनवटा औँठी, त्यही परिमाणको दुईवटा सुनका रिङ चोरी भए । सोही अवधिमा २२ लाख २९ हजार रुपियाँ नगद चोरी भयो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले चोरहरूले सुनका गहनालाई नै विशेष ‘टार्गेट’ बनाउनुमा बढ्दो मूल्य एउटा कारण रहेको बताए । उनले भने, ‘सुनका गहना चोरी भएका छन्, यसो हुनुमा बेच्न सजिलो, ‘इजी एक्सेस’ र बढ्दो मूल्य नै हो ।’ उनले काठमाडौंमा दैनिक सुन चोरीका घटना एकदेखि दुईवटासम्म हुने बताए ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका डिएसपी हिमालय श्रेष्ठका अनुसार चोरहरूले चोरी गर्दा सुनका गहनालाई नै ‘टार्गेट’ बनाउनुमा मूल्यवृद्धि मात्रै कारण होइन । ‘मूल्यवृद्धि नहँुदा पनि सुनका गहना चोरी भएकै थिए, त्यो क्रम अहिले पनि निरन्तर छ,’ श्रेष्ठले भने । उपत्यकाभित्र औसतमा दैनिक सुन चोरीका तीनवटा घटना हुने र दिनमा साढे दुई लाख नगद चोरी हुने जानकारी दिए । प्रहरीका अनुसार चोरीका घटना सबै दिउँसो भएका छन् । काठमाडांै–२९ कपुरधारा बस्ने खोटाङ–२ की नीता खत्रीको कोठामा १३ भदौमा दिउँसै चोरी भयो । ललितपुरको गोदावरी–६ स्थित क्लुनी संस्थाको सहयोगमा विनिता मुखिया राईले सञ्चालन गरेको शान्ति रानी स्कुल (गरिब र असहाय बालबालिकाले पढ्ने)मा पनि दिउँसै चोरी भएको थियो ।
टेकुमा रिचार्ज कार्डको होलसेल पसल सञ्चालन गर्ने राजु भण्डारीको नगद ५ लाख ८० हजार दिउँसै चोरी भयो । महादेवस्थान–७ बस्ने सीता पाण्डेको घरमा १९ भदौमा चोरी भयो । पाण्डेको घरबाट नगद १० हजार रुपियाँ, सुनका गहना साढे २ तोला र क्यामेरा चोरी भयो, त्यो पनि दिउँसोको समयमै । त्यस्तै, कीर्तिपुर–१६ नगाउ बस्ने गोरख खोप्लाङ–८ का श्यामप्रसाद लामिछानेको घरमा १९ भदौमा चोरी भयो । कोठाबाट  चोरले दिउँसै २५ हजार रुपियाँ, तीन तोला सुन र चार तोला चाँदीका गहना लगे । यस्तै, नैकाप–९ बस्ने ६८ वर्षीया सुन्तली महर्जनले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री र कानमा लगाएको रिङ दिउँसै लुटपाट भयो ।
यी घटनाले रातको समयमा भन्दा दिउँसो हुुने चोरीका घटना बढेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको आर्थिक वर्ष ०६८/६९ को तथ्यांकले पनि रातिभन्दा दिउँसो बढी चोरी हुने गरेको देखाएको छ । तथ्यांकअनुसार महाशाखामा वर्षभर उपत्यकामा एक सय ७८ वटा चोरीका घटना दर्ता भए । त्यसमध्ये ७५ वटा चोरीका घटना दिउँसो भएका थिए । रातको समयमा भने ४५ वटा मात्रै भएको थियो । तथ्यांकअनुसार साँझ १९ वटा र बिहान ३९ वटा चोरीका घटना भएका थिए । प्रहरीका अनुसार रातको समयमा अधिकांश घरधनी घरमै हुन्छन् । दिउँसो सुनसान हुने भएकाले चोरीका घटना बढेको हो । महाशाखाका डिएसपी हिमालय श्रेष्ठले दिउँसो चोरी हुने क्रम बढेको स्विकार्दै भने, ‘दिउँसो घर सुनसान हुन्छ, घरमा कोही नभएपछि चोरी गर्न सजिलो छ, त्यही भएर रातिभन्दा दिउँसो चोरी धेरै भएको देखिन्छ ।’  एसएसपी चन्दले दिउँसो चोरी गर्ने क्रम बढेको बताए । त्यसमध्ये पनि भिडभाडको ठाउँमा मोटरसाइकलबाट गलाबाट सुनको गहना थुत्ने घटना धेरै भएको उनको भनाइ छ ।

प्रतिक्रिया