आचार्यका दुई पुस्तक सार्वजनिक

काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यका दुई पुस्तक सार्वजनिक भएको छ । बुधबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश खिलराज रेग्मीले डा.आचार्यका दुई पुस्तक ‘कम्प्रेटिभ सिस्टम अफ जुडिसियल रिभ्यु’ र ‘माई एस्से इन ल, मिडिया फ्रिडम, एन्ड पोलटिक्स’ सार्वजनिक गरेका हुन् ।
सार्वजनिक पुस्तकमा संवैधानिक कानुनका ज्ञाता डा. आचार्यका न्यायिक पुनरावलोकन तथा  कानुन, स्वतन्त्र पत्रकारिता र राजनीतिसम्बन्धी लेख छन् ।  ‘कम्प्रेटिभ सिस्टम अफ जुडिसियल रिभ्यु’ पुस्तकमा २०१० सालदेखि ०६७ सालसम्म नेपालको न्यायालयबाट भएका फैसला र त्यसबाट भएका सिकाइलाई समेटिएको छ । पुस्तकमा न्यायालयले विभिन्न समयमा गरेका कतिपय निर्णय अहिले पनि आलोचित भएको र कतिपय फैसला र आदेश एसियामै चर्चाको विषय बनेको उल्लेख गरेका छन् । पुस्तकमा २१ आँै शताब्दीको न्यायालय र न्यायिक पुनरावलोकनका विषयमा तथ्यहरू पेस गरिएको छ । यस्तै, नेपालको कानुन कार्यान्वयनको रोचक प्रसंग पनि पुस्तकमा उल्लेख छ । ०४७ सालको संविधानका तीन धाराबाहेक सबै धारा राज्य, राज्य सञ्चालकबाट उल्लंघन भएको तथ्य पेस गरेका छन् । देशनिकालाजस्ता तीन धाराबाहेक सबै धारा तत्कालीन प्रधानमन्त्री, मन्त्रिपरिषद्, राजा र दरबारले उल्लंघन गरेको तथ्य पुस्तकमा समेटिएको छ ।
यसैगरी, डा. आचार्यको ‘माई एस्से इन ल, मिडिया फ्रिडम, एन्ड पोलिटिक्स’ मा सन् १९९८ देखि हालसम्म उनले विभिन्न मिडियामा लेखेका ५२ लेख रचना समावेश गरेका छन् । यो पुस्तकमा नेपालको वर्तमान कानुन, स्वतन्त्र पत्रकारिता र वर्तमान देशको राजनीतिलाई समेटिएको छ । पुस्तकमाथि वरिष्ठ अधिवक्ता शम्भु थापा, राष्ट्रपतिका कानुनी सल्लाहकार डा. सूर्य ढुंंगेल र श्रीलंकका संवैधानिक कानुनका ज्ञाता रोहनले समीक्षा गरेका थिए । (सौस)

प्रतिक्रिया