यी चित्र कलात्मक कि अराजक ?

काठमाडौं, २८ भदौ । हिन्दू देवी–देवतालाई अनौठा भंगीमामा प्रस्तुत गरेर बनाइएका चित्रहरू विवादमा परेका छन् । युवा कलाकार मनीष हरिजनको एकल चित्रकला प्रदर्शनीमा ११ दिनदेखि ती चित्रहरू राखिएका थिए ।

हिन्दू संगठनले आपत्ति जनाएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार नै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीलाई सिल गरेको छ । कलाकार हरिजनले यसमा पूर्वीय र पश्चिमी कलाको फ्युजन गरेको बताएका छन् भने विश्वहिन्दू महासंघले हिन्दू देवीदेवताको अपमान भएको जनाएको छ ।

‘द राइज अफ द कोलाट्रल’ नाम दिइएको प्रदर्शनीमा हरिजनका ११ वटा विभिन्न आकृतिका चित्रकला राखिएका छन् । ११ वटै चित्रकलामा हिन्दू देवी तथा देवतालाई विभिन्न भावभंगीमामा उतारिएका छन् । पश्चिमा ‘कमिक बुकमा पाइने काल्पनिक पात्र सुपरम्यानसित देवीदेवतालाई दाँजिएका चित्र पनि छन् । सबैभन्दा विवादास्पद लाग्ने चित्र कालीको देखिन्छ । े
चित्रमा कालीलाई सुपरम्यानको जस्तो पहिरनमा प्रस्तुत गरिएको छ तर पहिरन अत्यन्त छोटो छ । कालीका ६ वटा हात देखाएको छ जसमध्ये एउटा हात कम्मरभन्दा तल पुर्‍याएर माझीऔँलाले अश्लील संकेत गरेको छ । ‘हिप्पी’ अनुहारसँग मिल्ने गरी बनाइएको कालीको ओठमा भने लिपिस्टिक पोतिएको छ ।
अर्को विवादास्पद चित्र छ, भैरवको । पहेँलो रंगमा उतारिएका कालभैरवलाई सुपरम्यानले छातीमा मुड्की बजारिरहेको छ । उसले अर्को हातमा ढाल बोकेको छ । अर्को चित्रको क्याप्सनमा रियल बुद्ध लेखिएको छ । रियल बुद्ध शीर्षकको पेन्टिङमा कालो पहलमानले एउटा हातमा रियल जुस र अर्को हातमा बुद्धलाई अँठयाएको देखिन्छ । शिवको नटराज स्वरूप उतारिएको अर्को पेन्टिङमा पात्रले एउटा हातमा कमलको फूल र अर्को हातमा बन्दुक बोकेको छ ।
विश्वहिन्दू महासंघले प्रदर्शित तस्बिरहरूले हिन्दूधर्मलाई नै अपमान गरेको दाबी गरेको छ । महासंघका अध्यक्ष हेम कार्कीले प्रदर्शित चित्र हिन्दू देवीदेवतालाई व्यंग्य गर्ने खालको भएको बताएका छन् । उनले भने, ‘कालीलाई स्कर्ट पहिर्‍याइएको छ, हातको इसारा अनर्थ लाग्ने खालका छन्, शिवको हातमा पेस्तोल राखिएको छ, भैरवलाई अर्कै पारामा उतारिएको छ, यी कस्ता खालका तस्बिर हुन् ? यसले हिन्दू देवीदेवाताको खिल्ली उडाएन र ?’
कलाकार हरिजन भने आफ्नो कलाले कुनै पनि धर्मलाई व्यंग्य नगरेको दाबी गर्छन् । कलालाई बुझ्न नसकिएका कारण केही विवाद आएको उल्लेख गर्दै उनले भने, ‘सबै चित्रका आ–आफ्नै अर्थ छन्, विशेषगरी पश्चिमा कला र पूर्वीय कलाको ‘फ्युजन’ हो मेरो चित्र ।’
उनले थपे, ‘हिन्दूधर्ममा भैरव र कालीजस्ता शक्तिशाली देवीदेवता छन् तर उनीहरूको महिमालाई अहिले पश्चिमा संस्कृतिमा चल्ने स्पाइडरम्यान र सुपरम्यानजस्ता काल्पनिक पात्रले ओझेलमा पारिसके । यसैलाई देखाउन खोजेको हुँ मैले ।’
चित्रकै कारण आफूलाई मार्नेसम्मको धम्की आएको उनले बताए । महासंघका अध्यक्ष कार्कीले ग्यालरीमै आएर ‘सुट’ गर्ने धम्की दिएको उनको दाबी छ । हरिजनले भने, ‘कार्कीजी दलबलसहित आउनुभएको थियो, म ग्यालरीमा नै थिएँ, उहाँसँगै आएका केटाहरूले ज्यान मार्ने र देशनिकाला गर्नेसम्मको धम्की दिए ।’ ग्यालरीकी निर्देशक संगीता थापाले पनि महासंघका अध्यक्षले हरिजनलाई ज्यान मार्ने धम्की दिएको बताइन् । उनले भनिन्, ‘चित्रकला नबुझेकाहरूले यस्तो प्रवृत्ति देखाइरहेका छन् ।’
तर महासंघका अध्यक्ष कार्कीले भने आफूले कसैलाई ज्यान मार्ने धम्की नदिएको दाबी गरे । उनले भने, ‘म ग्यालरीमा पुग्दा चार–पाँच जना केटा त्यहीँ रहेछन्, मैले चित्रकलाको बारेमा टिप्पणी गर्दै थिएँ, त्यहीँ रहेका केटाहरूमध्ये कसैले ‘ज्यान मार्ने’ भन्न थाले, मैले भनेको छैन ।’

मेरो चित्र बुझेनन्
– मनीष हरिजन
कलाकार
११ दिनदेखि मेरा चित्र प्रदर्शनीमा राखिएका थिए । मेरा चित्रमा पूर्वीय र पश्चिमा कलालाई ‘फ्युजन’ गरिएको छ । प्रत्येक चित्रको आफ्नै मिनिङ छ । कतिपय चित्रको तल्लोपट्टि क्याप्सन पनि राखिएको छ तर उनीहरूले मेरो चित्रलाई बुझ्न सकेनन् । उनीहरूले नै मलाई ज्यान मार्ने धम्की दिएका छन् । मेरा चित्रले कुनै धर्मको खिल्ली उडाएको छैन । हाम्रा पुराना देवीदेवतालाई आधुनिक शैलीमा उतार्ने कोसिस गरेको हुँ । अहिले हिन्दूधर्ममा वर्णन गरिएको शक्तिका स्रोत मानिने शिव, भैरव, कालीलाई नयाँ जेनेरेसन बिर्सिने क्रममा छ । तर, उनीहरूमा सुपरम्यान, स्पाइडरम्यानजस्ता काल्पनिक पात्रको प्रभाव परेको छ । त्यसलाई मैले चित्रमा देखाउन खोजेको हुँ ।
हिन्दूधर्मको अपमान
– हेम कार्की
अध्यक्ष, विश्वहिन्दू महासंघ
मंगलबार म बानेश्वरतर्फ मिटिङमा जाँदै थिए । आर्ट ग्यालरीमा प्रदर्शित चित्रबारे मैले फोनमा सुनेको थिएँ । बाटो परेकाले के रहेछ भनी हेर्न छिरेँ । चित्र हेरेँ । चित्रमा काली, शिव, भैरव, गौतमबुद्धको आकृति झल्कन्थ्यो तर उनीहरूको भावभंगीमा सामान्य खालको थिएन । त्यसमध्ये पनि कालीको आकृतिझँै लाग्ने चित्रमा अश्लील संकेत गरिएको रहेछ । यसले हिन्दूधर्मलाई व्यंग्य गरेको प्रष्ट थियो । चित्र हेरेलगत्तै कलाकारको खोजी भयो । उनी त्यहीँ छन् भन्ने सूचना पाएपछि भेट्ने इच्छा भयो । भेटेँ र चित्रकारले टिप्पणी गरे । मेरा पछाडि केही युवा पनि झुम्मिए । तिनीहरूमध्ये कसैले पिट्नुपर्छ भने त कसैले पेस्तोल ठोक्ने भने । कसैले देशनिकाला गर्नुपर्छ पनि भने तर दुर्घटना केही भएन ।

प्रतिक्रिया