एमाले नेता झालाई सर्वोच्चले बोलायो

काठमाडौं, २९, भदौ । सर्वोच्च अदालतले एमाले नेता एवं पूर्वमन्त्रीलाई नागरिकताको विषयमा बुझ्न अदालतमा उपस्थित हुन आदेश दिएको छ । नेता झा नेपाली नागरिक नै नभएको दाबी गर्दै सर्वाेच्च अदालतमा रिट परेपछि अदालतले बुधबार यस्तो आदेश दिएको हो ।

न्यायाधीश भरतराज उप्रेती र भरतबहादुर कार्कीको संयुक्त इजलासले झालाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो । यसैगरी, सर्वोच्चले उनलाई नागरिकता दिने जिल्ला प्रशासन कार्यालय धनुषाबाट सक्कली फाइल झिकाउने आदेश पनि दिएको छ । ‘वंशजका नाताले नेपाली नागरिकताको प्रमाणपत्र दिने सम्बन्धित जिल्ला प्रशासन कार्यालय धनुषाको सक्कली फाइल र विपक्ष झा लिखित जवाफसहित उपस्थित हुन’ आदेशमा भनिएको छ । झाले ५ चैत ०४५ मा नेपाली नागरिकता लिएका थिए । जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई ना.प्र. ५६१४२२०५ नम्बरको नागरिकता दिएको थियो ।
यसअघि धनुषा जिल्ला प्रशासन कार्यालयले झा नेपाली नागरिक भएको दाबी गर्दै सर्वाेच्च अदालतलाई जवाफ फर्काएको थियो । जवाफमा पहिले झासँग भारतीय नागरिकता भए पनि पछि उक्त नागरिकता त्यागी नेपाली नागरिकता लिइएको उल्लेख थियो तर सर्वाेच्च अदालतले जवाफलाई विश्वास नगरी सक्कली फाइल नै ल्याउन आदेश दिएको छ । बाबु पुलकित झा नेपाली नागरिक भए पनि उनकी आमा भने भारत मधुवनीकी हुन् ।
झाका भाइ मदनचन्द्रसँग पनि नेपाली नागरिकता नै छ । झाले नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उनका बाबु पुलकित झा नै नेपाली नागरिक नभएको भन्दै देवचन्द्र यादवले उनीविरुद्ध रिट दायर गरेका थिए । ३ माघ ०६५ मा दायर भएको रिटमा ०४५ सालमा उनका बाबु नै नेपाली नागरिक नभएका बेला वशंजका आधारमा नागरिकता दिइएकाले बदरको माग गरिएको थियो ।
रिटमा झाले नेपाली नागरिकता लिँदा उनका बाबु भारतको मधुवनी जिल्ला हरखाली करणा पञ्चायतका स्थानीयवासी भएको जिकिर गरिएको छ । रिटमा झाले पनि सोही समयमा भारतीय नागरिकता लिएको र भारतीय निर्वाचनको मतदाता सूचीमा उनको नाम ४७६ रहेको उल्लेख छ ।

प्रतिक्रिया