महानिरीक्षक नियुक्तिमा राजनीति धेरै

काठमाडौं, २७ भदौ । पूर्व गृह सचिव र पूर्व महानिरीक्षकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा देखिएको खुल्ला राजनीतिककरणले प्रहरीको व्यावसायिकतामा नकारात्मक असर पर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनीहरुले सक्षमता र वरिष्ठतमका आधारमा महानिरीक्षक नियुक्त गर्दा प्रहरीको व्यावसायिकतमा सहयोग मिल्ने उनीहरुको सुझाव छ ।
पूर्व गृहसचिव उमेश मैनालीले राजनीतिक दलहरुले आफ्नो पक्षमा निर्वाचनमा धाँधली, आपराधिक कार्यकर्तालाई उन्मुक्ति दिनेलगायतका विषयमा निर्णय गराउन आफू निकट महानिरीक्षक नियुक्त गर्ने परम्परा रहेको आरोप लगाए ।
उनले हरेक पटक प्रहरी अधिकारीहरुको बढुवा र नियूक्तिमा राजनीतिक चलखेल हुने गरेको बताए । उनले भने, ‘यस पटक प्रहरी महानिरीक्षक बनाउँन राजनीतिक नेतृत्ववीच नाङगो नाच भएको छ ।’
उनले कर्मचारी नियूक्तिमा राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाउनु लज्जास्पद भएको बताए । यस्ता घटनाले व्यवसायिक छवि भएको प्रहरी संगठनभित्र गुटबन्दी हावी भएर संगठननै ध्वस्त हुने उनले चेतावनी दिए ।
पूर्व गृहसचिव खेमराज रेग्मीले राजनीतिक दलहरुले जनताको मत माथि विश्वास नगरेर प्रहरीको शक्तिको दुरुपयोगमा विश्वास गर्ने गरेको बताए ।
उनले महानिरीक्षक नियुक्तिमा देखिएको राजनीतिक विवादले नेपाली जनतामाथिको अपमान भएको बताए ।
पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले प्रहरी संगठनबाट भएको सिफारिसलाई सरकारले वेवास्ता गरेका कारण दुर्भाग्यपूर्ण अवस्था आएको बताए । उनले अहिलेका तीनै जना एआईजी सक्षम भएकाले कसैलाई पनि कसैले बोक्न जरुरी नभएको स्पष्ट पारे ।

प्रतिक्रिया