नेम्वाङ गद्धार/गच्छेदार अतिवादीः लेखी

ताप्लेजुङ, २७ भदौ । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई गद्धार एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार अतिवादी शासकको आरोप लगाएका छन् ।
‘आदिवासी जनजातिको कुलमा जन्मिएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई गद्धार हुन्,’ उनले भने, ‘फोरम लोकतान्त्रिकका अध्यक्ष विजयर गच्छदारलाई अतिवादी शासक हुन् ।’
आदिवासी जनजाति पत्रकार संघले आज ताप्लेजुङको सदरमुकाम फुङलिङ वजारमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा अध्यक्ष लेखीले संविधानसभाको नेतृत्व गर्ने नेम्वाङले संवैधानिक संकट निम्त्याएर देशलाई असंवैधानिक बाटोमा लैजान सहयोग गरेको आरोप लगाए ।
उनले ठूला दलका नेताहरु आरोप प्रत्यारोपमा समय खर्चेर नयाँ संविधान बनाउन नसकेको बताए । ‘जातिवादी, अतिवादी, यथास्थितिवादी, सामन्ति र प्रतिगामी केही नेताहरुका कारण संविधानसभा विघटन भएको हो,’ उनले भने ।
सात दिनका लागि संविधानसभा पुनःस्थापना गर्नु पर्ने सुझाव दिएका लेखीले विवादित विषयमा सहमति गरेर नयाँ संविधान जारी गर्नु पर्ने उल्लेख गरे ।
‘आदिवासी जनजाती महासंघले एउटा जातिको मात्रै राज्य चाहेको छैन,’ उनले भने, ‘जाति, भाषा, भूगोल, पहिचान, ऐतिहासिक पृष्ठभूमि, जनसंख्यालगायतका आधारमा राज्यको पूनःसंरचना चाहेका छौं ।’ उनले एकल जातीय राज्य र बहुजातीय राज्यको आविष्कार वालुवाटार, सिंहदरवार, पेरिसडाँडा र बल्खु दरबारबाट भएको आरोप लगाए ।

प्रतिक्रिया