विश्वसनीयता गुमाउँदै नेवानि

काठमाडौं, २७ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज मंगलबार क्वालालम्पुर एयरपोर्टमा बिग्रँदा एक सय ९० यात्रु अलपत्र परे । उडान १२ घन्टा ढिलो हुन पुग्यो । निगमको उडानमा बारम्बार आइरहने यस्ता समस्याले यसको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परिरहेको छ ।
निगम प्रवक्ता सरोजकुमार कसजूका अनुसार जहाज मंगलबार बिहान क्वालालम्पुरको स्थानीय समयअनुसार ४ बजेर ४५ मिनेट जाँदा उड्नु पर्ने थियो । तर, अचानक इन्जिनमा खराबी देखियो । ‘समस्या समाधान भइसक्यो । मंगलबार राति जहाज काठमाडौं आइपुग्छ,’ कसजूले भने । तर, यात्रु भने जहाज उड्नेमा पूर्णरूपमा विश्वस्त छैनन् । जहाजमा घर फर्कने क्रममा रहेका करिब एक सय ५० कामदार थिए ।
निगमले आकाश छोएको ५५ वर्ष नाघिसकेको छ तर अहिले यो जम्मा दुई पुराना जहाजको भरमा चलिरहेको छ । भएका दुईवटा जहाजमध्ये एउटा हाल मर्मतका क्रममा इजरायलमा छ । सो जहाज सेप्टेम्बर अन्तिम सातासम्म नेपाल आइपुग्ने निगमले जनाएको छ ।
साढे पाँच दशक लामो अवधिमा निगमले गन्तव्य पनि कटौती गर्दै लगेको छ । अहिले निगमले चारवटा मात्र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्छ । यसै महिना निगमले दुबई गन्तव्यमा उडान बन्द गरेको छ । दुबई–काठमाडौं उडान गर्ने बजेट तथा सुविधा सम्पन्न एयरलायन्सका कारण यो गन्तव्यमा निगमको बजार खस्किँदै गएको थियो । युएइका एयर अरेबिया, फ्लाई दुबई, इमिरेट्स एयरलाइन्स, इत्तिहाद र र्‍याक एयरवेजले काठमाडौं उडान गरिरहेका छन् ।
निगमको दुई जहाजमा अधिकांश समय एउटाले मात्र उडान गर्दा भनेको समयमा टिकट नपाउने, पाए पनि कुनबेला रद्द हुन्छ अनिश्चित भएकाले यात्रु घटेको बताइएको छ । जहाज पुराना भएकै कारण मर्मत खर्च पनि ठूलो छ । निगम स्रोतका अनुसार कुल आम्दानीको २३ प्रतिशत मर्मतका लागि खर्च हुन्छ । सामान्यतया एकपटक जहाज सिचेक गर्दा करिब २२ लाख अमेरिकी डलर खर्च लाग्छ । पुराना जहाज बारम्बार बिगिँ्रदा निगमको छवि बिग्रेको पर्यटन व्यवसायी बताउँछन् । ‘प्रतिस्पर्धात्मक बजारमा विश्वसनीय सेवा दिन नसक्दा निगमको बजार घट्दो छ ।’ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) का अध्यक्ष पवित्रकुमार कार्कीले भने । नयाँ जहाज खरिद गरेर सञ्चालनमा नल्याएसम्म पर्यटकलाई नेवानिको जहाज चढ भन्न नसकिने उनको भनाइ छ ।
निगमको सबैभन्दा नाफामुखी सेक्टर क्वालालम्पुरमा प्रतिस्पर्धा बढेकाले सेवास्तरीय बनाउनु पर्ने पर्यटन व्यवसायी बताउँछन् । लामो समय निगमको एकाधिकार रहेको काठमाडौं–सेक्टरमा अहिले मलेसिया एयरलाइन्स र एयर एसियाले उडान सुरु गरिसकेका छन् । असोज अन्तिम सातादेखि बिबी एयरवेजले सुरु गर्दैछ । निगमको दिल्ली उडानसमेत पुन: सुचारु हुन सकेको छैन । अत्यधिक रूपमा उडान रद्द भएपछि निगमले दिल्ली उडान स्थगित गरेको थियो । अहिले काठमाडौं दिल्लीमा ६ वटा कम्पनीले उडान गर्छन् । अहिले निगमले क्वालालम्पुर, हङकङ, दोहा र बैंककमा उडान गरिरहेको छ । यी गन्तव्यमा समेत पूर्णरूपमा उडान हुन सकेको छैन ।

प्रतिक्रिया