पश्चिमा रणनीतिक जालमा नेपाल

दुई वर्षको कार्यकाल दोब्बर बढाउँदासमेत असफल भइसकेको संविधानसभाको पुन: स्थापनाको एजेन्डासँगै उठाइएको जनमत संग्रहको बल्छी पश्चिमाहरूको नेपाललाई गृहयुद्धमा धकेल्ने नयाँ रणनीति हो । प्रचण्ड, शेरबहादुरदेखि अशोक राईसम्म र अर्कोतर्फ डलरवादी युवा भन्नेहरू तथाकथित प्रो. पश्चिमा समर्थक बौद्धिकहरू उपयुक्त एजेन्डामा एउटै केन्द्रमा छन् । पहिलो चरणमा राजावादी आवरणको राप्रापा (नेपाल)द्वारा फालिएको जनमत संग्रह र ताजा निर्वाचनको बल्छी दोस्रो चरणमा सर्वोच्च अदालत हुँदै तेस्रो चरणमा उनीहरू दलभित्र प्रवेश गरेका छन् । यो या त्यो दल होइन सिआइए रणनीतिमा हरेक दल र तथाकथित बौद्धिक वर्ग यो एजेन्डामा उभिएका छन् । यसकारण स्पष्ट रूपमा राष्ट्रपतिले निकास दिन सक्तैनन् । स्वतन्त्र राजनीतिज्ञहरूसहितको नेतृत्वमा मुलुकको स्थायी राज्यसत्ता, संवैधानिक निकाय र प्रहरी साथै जेलले मुलुकलाई निकास दिनुको अब विकल्प छैन ।
संविधानसभा पुन: स्थापना भनेको पहिले जसरी मरेको संसद् राजाले असंवैधानिक रूपमा पुन:स्थापना गर्दा सिआइए र पश्चिममा रणनीतिक जालमा फस्दै म्याग्नाकार्टा हुँदै अहिलेको अराजक अवस्था सिर्जना भयो त्यस्तै हुने देखिन्छ । अब संविधानसभा पुन:स्थानपना भनेको दलाई लामाको नयाँ मोडलमा आएका दाहाल, भट्टराईको नाजीवादी फासिजमलाई खुला बाटो छोड्नु हो भन्ने कुरा समयमै हेक्का राख्न जरुरी छ । जुन देशमा राजकीय संरचनाहरू राष्ट्रको सुदूर भविष्यसमेतको ख्याल राख्दै उन्नत चेतनाको माध्यमबाट तयार गरिएको हुन्छ, त्यहाँ जनता र राष्ट्रको समृद्धिका लागि जनमत संग्रह गरिन्छ । त्यस्तो अवस्थामा जनमत संग्रहजस्ता उन्नतस्तरका राजनीतिक प्रयोग राष्ट्रियता अभिवृद्धि गर्न प्रयोगमा ल्याइन सक्छ । तर, हाम्रोजस्तो मुलुक जहाँ राजनीतिक पार्टीहरूसमेत चुनावी मोर्चाभन्दामथिको हैसियतमा उठेका छैनन् त्यस्तो मुलुकमा जनमत संग्रहजस्तो विषय घात प्रतिघात लागू गराउने रणनीतिभन्दा भिन्न हुन सक्दैन । विगतमा २०३६ सालको जनमत संग्रहको प्रयोग हेर्दा अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरूको षड्यन्त्रबाट नेपाली प्रजातान्त्रिक स्थायित्व क्षतविक्षत गर्न प्रयोगमा ल्याउन खोजिँदैछ भन्ने बुझ्न सकिन्छ । माले, मसाले, मण्डले र ०४६ पछि चौमको वर्णाशंकर हुँदै उदय भएको माओवादी १७ हजारको हत्या र रक्तपात ‘प्लान्टेड टेन्डेसी’ नै थियो । सन् १९७४ अप्रिल १४ को सिक्किमी जनमत संग्रहले राष्ट्र नै गुमाउने वैधानिकता दिएको इतिहास ताजै छ । त्यही विन्दुबाट बदलिँदो परिवेशमा पश्चिमाहरूले जनमत संग्रहमार्फत वैधानिकता दिलाउँदै धर्म निरपेक्षताका नाममा ख्रिष्टानीकरण, संघीयताका नाममा जातिवादको वीजारोपण र राजतन्त्रको नाममा विस्थापनको वैधानिकता सिद्ध गर्ने योजनाबद्ध एजेन्डा तयार गरिएको बुझिन्छ । अर्को कोणबाट पश्चिमाहरूको प्रयोग र अभ्यासको रियर्सल अन्तर्राष्ट्रिय खुफिया एजेन्सीद्वारा निर्देशित अभ्यास आजसम्म आइपुग्दा मुलुककै अस्तित्वमाथि विभिन्न कोणबाट खुला धावा बोल्दै पुन: जनमत संग्रहको हतियार प्रयोग गर्न उद्धत देखिन्छ ।
आवरण र रंग फरक भए पनि घोर दक्षिणपन्थ ०३६ को माले, मसाले र पछिल्लो माओवादी यी दुवै अतिवादी केन्द्रहरूको मिलन सारमा नेपाल ध्वंस गरेर अराजकता सिर्जना गर्दै पश्चिमाहरूको क्रीडास्थल बनाउनु नै रहेको छ । त्यतिमात्र होइन तत्कालीन ब्रिटिस साम्राज्यविरुद्ध युद्धको नेतृत्व दिएका भीमसेन थापालाई असफलका रूपमा चित्रण गर्ने र कोतपर्वमार्फत तत्कालीन ब्रिटिस साम्राज्यवादको आडमा उक्त साम्राज्यवादसँग लडेका नेपालीलाई तथाकथित गोरखा भर्ती केन्द्रमार्फत साम्राज्यवादको रक्षार्थ उभ्याउने इतिहासलाई पनि हामीले बिर्सन मिल्दैन । जंगबहादुरजस्तो दलाललाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता गराएको आवरण अघि सारेर पश्चिमाहरूले त्यसताका नै दीर्घकालीन रणनीति तयार गरेका थिए । अहिले त्यसैको पुनरावृत्ति गर्न जनमत संग्रहेको अस्त्र फ्याँकिँदैछ । त्यति मात्र होइन, नेपाललाई क्रिस्टानीकरण गरी ग्रेटर तिब्बत र नेपालसम्म सुसंगठित गुरुयोजना राष्ट्रवाद, माओवाद, धर्म र जाति कब्जा गर्दै चौतर्फी केन्द्रीकृत गर्ने पश्चिमाहरूको गुरुयोजना छर्लंगै छ । नयाँ मोडलका रूपमा फालिएको ताजा निर्वाचन, संविधानसभा पुन:स्थापना जनमत संग्रहको बल्छी माछालाई बल्छीमा चारो हालेर सिकार गरेजस्तै पश्चिमाहरूको अर्को रणनीति हो । जनमत संग्रह संविधानसभा पुन:स्थापना बृहत् रणनीति पश्चिमाहरूको प्लान्टेड कार्यक्रमको एउटा अर्को मोडल हो भन्ने कुरा समयमै हेक्का राख्नु अनिवार्य छ । अलकायदा मोडलमा सिआइएद्वारा प्लान्टेड एमाओवादीलाई अमेरिकाले आतंककारी भन्नु नाटक मञ्चन मात्र थियो । सार्वभौम नेपालसहित प्रगतिशील राजनीति र प्रजातान्त्रिक सरकारको दिशानिर्देशबाट समृद्ध नेपालको सुनिश्चिततामा विश्वास राख्नेहरूले किमार्थ पनि यी गलत तत्त्वले प्रयोगमा ल्याउन खोजेको जनमत संग्रहको बाटो रोक्नुपर्छ ।
दलाइ, दाहाल, वान कि–मुन र बौद्ध : अमेरिकाको एउटा कम्पनीले भगवान् गौतम बुद्धको तस्बिरलाई जुत्तामा राखेर बजारमा ल्याएकामा सर्वप्रथम शान्ति पार्टी नेपालले अमेरिकी दूतावासमा प्रेस वक्तव्यसहित विरोध जनायो । त्यस्तै नेकपा (एमाले) ले पत्रकार सम्मेलनमार्फत उक्त अपमानित कार्यको भत्र्सना गर्‍यो । आफूलाई बुद्धको नयाँ अवतार भन्ने दलाई लामा, लुम्बिनीलाई भ्याटिकन सिटी बनाउने उद्घोष गर्दै एपेक भन्ने विवादास्पद संस्थामार्फत लुम्बिनीको नक्कली चिन्ता जाहेर गर्ने पुष्पकमल दाहाल र राष्ट्रसंघीय महासचिव वान कि–मुनले भने उक्त अपमानित कार्यप्रति मौन समर्थन जनाए । शान्तिका अग्रदूत गौतम बुद्धको अपमान गर्दा उनीहरू बोल्न सकेनन् । यसले आज नेपालका गुम्बाहरू पश्चिमा ग्रान्ड डिजाइन र बुद्धिज्जमको ब्यानरमा फ्री तिब्बत गतिविधि गर्नेहरू वास्तवमा को हुन् आपैँmमा उजागर भएको छ । दलाई लामा, पुष्पकमल दाहाल र राष्ट्रसंघीय महासचिव वान कि–मुनहरू बुद्धिज्जमको ब्यानरमा बुद्ध धर्मको दुरुपयोग गर्दै पश्चिमा ग्रान्ड डिजाइनमा दलाई लामामार्फत चीन विभाजन गराउने दीर्घकालीन सोचअनुरूप प्रयोग भएको प्रस्ट बुझ्न सकिन्छ । पश्चिमाहरूले कहिले हिन्दूहरूको पवित्र दर्शन गीता त कहिले मुसलमानहरूको पवित्र दर्शन कुरानमाथि अपमान गर्ने दुस्साहस गर्दै आइरहेका थिए । यतिबेला उनीहरू एसियाका तारा शान्तिका अग्रदूत गौतम बुद्धमाथि अपमान र नेपालका साथै विश्वका न्यायप्रेमी, प्रगतिशील सनातन हिन्दू तथा बौद्ध धर्मावलम्बीको अपमान गर्दैछन् । यो खेदको विषय हो । त्यति मात्र होइन, हिन्दुइजमका नाममा सनातन संस्कृतिको दुरुपयोग गर्ने घोर दक्षिणपन्थी मण्डले, बुद्धिज्जमको नाममा बौद्ध संस्कृतिको दुरुपयोग गर्ने दलाई लामा, पुष्पकमल दाहाल र वान कि–मुनहरूलाई नेपाल तथा विश्वका समस्त न्यायप्रेमी इस्लाम, सनातन हिन्दु तथा बौद्धमार्गीहरूले पहिचान गर्दै भण्डाफोर गर्नु हामी सबैको कर्तव्य हो ।
जसरी सिंगो इस्लाम धर्मलाई ध्वंस गर्न मध्यपूर्वमा अल कायदाको प्रयोग अमेरिकी साम्राज्यवादले गर्‍यो, त्यसरी नै भारतीय विस्तारवादलाई अगाडि सार्दै भारतीय जनता पार्टी र ‘र’को आवरणमा पश्चिमा ग्रान्ड डिजाइनमा माओवादको आवरणमा माओकै चीन ध्वंस गर्न एकातर्फ दाहाल/भट्टराई र अर्कोतर्फ दलाई लामाको प्रयोग हुँदैछ । यो समग्र एसियाली संस्कृति ध्वंस गर्ने अभ्यास हो । सानै रूपमा भए पनि शान्ति पार्टी नेपाल र एमालेले यसको औपचारिक प्रतिरोध गर्दै भगवान गौतम बुद्धप्रतिको अपमानमा आफ्नो मत जाहेर गर्नु समग्र नेपालीका लागि सकारात्मक पाटो हो । घटनाक्रमले स्पष्ट पारेको छ नेपालमा दाहाल, भट्टराईदेखि तथाकथित दलाई लामाका अनुयायीहरूको बुद्धिज्जमको नक्कली आवरण ख्रिस्टानीकरणको अर्को रूप हो भन्ने आफैँमा स्पष्ट भएको छ । एमाओवादीले आफ्नो अभीष्ट पूरा गरिदिने भएपछि अलकायदा मोडलमा दाहाल र भट्टराईको नेतृत्वमा प्रयोगका साथै अभ्यासमा ल्याएका पश्चिमाहरूले आतंककारीको सूचीबाट एमाओवादीलाई निकाले । यसले के स्पष्ट गर्छ भने नेपाललाई क्रिस्चियानीकरण गर्दै तिब्बत र नेपाल दुवै मुलुकलाई ध्वंस गर्ने रणनीतिमा पश्चिमाहरू लागेका छन् ।

प्रतिक्रिया