ट्रान्सफर्मर प्रतिवेदनले को–कोलाई तान्यो ?

काठमाडौं, २७ भदौ । २०६४ सालपछि नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा वर्तमान कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठसहित करिब दुई दर्जन व्यक्ति दोषी देखिएका छन् । प्राधिकरण सञ्चालक समितिका सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित छानबिन समितिद्वारा मंगलबार प्राधिकरण सञ्चालक समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा २३ जनालाई दोषी देखाइएको हो ।

विभिन्न कम्पनीबाट ल्याइएका ट्रान्सफर्मर निरीक्षणका लागि गएका कर्मचारीलाई प्रत्यक्ष दोषी तथा फाइल मूल्यांकन, सदरलगायत गर्नेलाई अप्रत्यक्ष दोषी देखाइएको स्रोतले जनाएको छ । प्रतिवेदनअनुसार प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरू अर्जुन कार्की, दीपेन्द्रनाथ शर्मा, रामेश्वर यादव र डा. जीवेन्द्र झा तथा पूर्वमहाप्रबन्धकहरू दीपक उपाध्याय र युगोलकिशोर शाह पनि दोषीको सूचीमा छन् ।
त्यसैगरी, प्राधिकरण वितरण तथा ग्राहक पूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मा र पश्चिमका महाप्रबन्धक उपेन्द्रदेव भट्ट, ग्रीड विकासका महाप्रबन्धक गणेशप्रसाद राज, नेपाल–भारत क्रस बोर्डर प्रसारण लाइनका निर्देशक पुष्पराज खड्कालगायत दोषी रहेको प्रतिवेदनमा उल्लेख छ । भट्ट प्राधिकरण बोर्ड बैठकद्वारा आन्तरिक रूपमा कर्मचारीमाथि छानबिन गर्न गठित समितिका संयोजक हुन् । त्यस्तै, प्राधिकरणका कर्मचारीहरू मनोज बराल, सुरेन्द्र पनेरू, कैलाश अटल, सिन्धु यादव, शेखर दत्त, प्रज्वल पाण्डे, विजय चौधरी, विद्युत पौडेललगायतलाई पनि प्रतिवेदनमा दोषी देखाइएको छ ।
अति गोप्य राखिएको प्रतिवेदनका केही अंश मात्र सौर्यले प्राप्त गरेको छ । उपसमितिका संयोजक पन्तले प्रतिवेदनबारे विस्तृत बताउन चाहेनन् । मंगलबारको बैठकमा आफूहरूले प्रतिवेदन पेस गरेको र यसबारे छलफल भइरहेको उनले बताए ।
प्राधिकरणभित्रको सुडान घोटालाजस्तै मानिएको उक्त प्रकरणमा संलग्नमाथि के कारबाही गर्ने र कसरी कारबाही गर्ने भन्ने अन्योल सञ्चालक समितिभित्रै बढेको छ । दोषी कर्मचारीबारे छानबिन गर्न गठित समितिका संयोजक भट्ट नै दोषीको सूचीमा रहेको प्रतिवेदन प्रस्तुत भएपछि कारबाही प्रक्रियामा अन्योलता थपिएको हो । कामु कार्यकारी निर्देशक श्रेष्ठलाई भट्टको समितिले स्पष्टीकरण लिनसक्ने कि नसक्नेबारे पनि बोर्ड बैठकमा छलफल भएको स्रोतले जानकारी दिएको छ । बैठकमा श्रेष्ठले नै भट्ट समितिले सोधपुछ र स्पष्टीकरण लिन नसक्ने बताएपछि त्यसलाई सञ्चालक समितिमार्फत अगाडि बढाउने छलफल भए पनि निर्णय भने भएको छैन ।
बैठकमा प्राधिकरणको नियमअनुसार दोषीमाथि कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनेबारे छलफलसमेत भएको थियो । प्राधिकरणको कर्मचारी विनियमावलीअनुसार प्राधिकरण आपैँmले दोषी देखिएका कर्मचारीलाई स्पष्टीकरण लिने र त्यो चित्तबुझ्दो नभए आवश्यकता हेरी निलम्बन वा ग्रेड रोक्का गर्नसक्ने व्यवस्था छ ।
पन्तको प्रतिवेदन सञ्चालक सदस्यहरूलाई बाँडिएको र बिहीबार बस्ने बैठकले ठोस निर्णय गर्ने स्रोतले जनाएको छ । ‘कार्यकारी निर्देशकलगायत नै दोषी देखिएपछि सञ्चालक समितिले हस्तक्षेप गर्नुपर्ने भएको छ,’ बैठकमा सहभागी एक उच्च अधिकारीले थपे, ‘मंगलबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लगिसकेको छ, आयोगले इमानदारपूर्वक छानबिन गरेमा सुडानभन्दा खतरा प्रकरण यो हुन्छ ।’ उनका अनुसार प्राधिकरणका उच्च व्यक्तिहरू दोषी देखिएकाले प्राधिकरण कारबाहीका लागि आपैँm सक्रिय हुन नसक्ने अवस्था छ ।
गत २५ चैतमा प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन गर्न बनेको समितिले २०६४ सालयता ल्याएका करिब साढे ६ हजार ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदनपछि ट्रान्सफर्मर आयातमा संलग्न कर्मचारीबारे छानबिन गर्न पन्तको संयोजकत्वमा समिति गठन गरिएको थियो । यसअघि २०६६ सालमा पूर्वसञ्चालक मुकेश काफ्लेको संयोजकत्वमा रहेको समितिले समेत ट्रान्सफर्मरहरू गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो तर त्यो प्रतिवेदन कार्यान्वयन भएन ।
अख्तियारको २४ घन्टे पत्र
ट्रान्सफर्मर खरिदमा अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएको फाइल मंगलबार नेपाल विद्युत् प्राधिकरणले बुझाएको छ । सोमबार मात्र अख्तियारले अटेर गरेको भन्दै २४ घन्टाभित्र फाइल बुझाउन भनेको थियो ।
ट्रान्सफर्मर गुणस्तरहीन र कमसल प्रकरणबारे समाचार सार्वजनिक भएपछि गत १७ भदौमा फाइल मगाएको थियो । तर, तीन दिनभित्र बुझाउन अख्यितारले दिएको निर्देशन प्राधिकरणले अटेर गरेपछि अख्तियारले अर्को पत्र पठाएको थियो । अब प्राधिकरणले पठाएको फाइल अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउने अख्तियार स्रोतले जनाएको छ ।

प्रतिवेदनअनुसार दोषीहरू
वर्तमान कायममुकायम
कार्यकारी निर्देशक
महेन्द्रलाल श्रेष्ठ
पूर्वकार्यकारी निर्देशकहरू
अर्जुन कार्की
दीपेन्द्रनाथ शर्मा
रामेश्वर यादव
डा. जीवेन्द्र झा
पूर्वमहाप्रबन्धकहरू
दीपक उपाध्याय
युगोलकिशोर शाह
महाप्रबन्धकहरू
चिरञ्जीवी शर्मा
महाप्रबन्धक
उपेन्द्रदेव भट्ट
गणेशप्रसाद राज
अन्य कर्मचारी
पुष्पराज खड्का
मनोज बराल
सुरेन्द्र पनेरू
कैलाश अटल
सिन्धु यादव
शेखर दत्त
प्रज्ज्वल पाण्डे
विजय चौधरी
विद्युत पौडेल

प्रतिक्रिया