‘मेडाबोन’को अवैध बिक्री

काठमाडौं, २७ भदौ । सुरक्षित गर्भपतनका लागि प्रयोग हुने ‘मेडाबोन’ औषधि अनधिकृत रूपमा बिक्री भइरहेको पाइएको छ । सूचीकृत संस्थामा सूचीकृत चिकित्सक एवं स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा मात्र गर्भपतनका लागि प्रयोग गरिने मेडाबोन विभिन्न औषधि पसलमा खुलेआम बिक्रीवितरण हुने गरेको पाइएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले गरेको अध्ययनले सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा मात्र ‘मेडाबोन’ उपलब्ध गराउने जिम्मा पाएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पपुलेसन सर्भिस इन्टरनेसनल (पिएसआई) को लापरबाहीका कारण मेडाबोनको दुरूपयोग बढेको देखाएको छ । सरकारी नियमविपरीत पिएसआईले मेडाबोन औषधिलाई खुद्रा बिक्रेतासम्म पुर्‍याएकाले बजारमा मेडाबोनको दुरूपयोग बढेको अध्ययनको ठहर छ ।
नियमअनुसार मेडाबोन औषधि बिक्रीका लागि अनुमति प्राप्त मेडिकल तथा मेडिकलका स्वास्थ्यकर्मीसमेत सूचीकृत हुनुपर्ने तथा मान्यताप्राप्त स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको लिखित सिफारिस आवश्यक पर्ने व्यवस्था छ । त्यसका लागि सरकारले थोक व्यापारीलाई मात्र सूचीकृत गरेको छ । सरकारले हालसम्म खुद्रा व्यापारीलाई सूचीकृत गरेको छैन । तर, बजारमा खुद्रा औषधि पसलमा नै मेडाबोन धेरै मात्रामा पाइने गरेको छ ।
पिएसआईले केही समयअघि आठ सयभन्दा बढी फार्मेसी केमिस्ट्रीलाई तालिम दिएर उक्त औषधिको बिक्री गर्ने अनुमति दिएको थियो । नियमानुसार पिएसआईले त्यसरी तालिम दिएर औषधिको प्रवद्र्धन गर्न पाउँदैन । पिएसआईले फार्मेसीलाई तालिम दिएर मेडाबोन बिक्री गर्न दिएको कुरा स्वयं स्वीकार गरेको छ । पिएसआईले सोमबार आयोजना गरेको कार्यक्रममा देशभरका आठ सय ८७ औषधि पसललाई तालिम दिएको बताएको छ ।
नेपालमा सुरक्षित गर्भपतनको दश वर्षको उपलब्धि र चुनौती विषयमा आयोजित कार्यक्रममा पिएसआईले सन् २०१० मा ३३ जिल्लाका आठ सय ८७ औषधि पसले र दुई सयभन्दा बढी अहेव तथा नर्सलाई मेडाबोनसम्बन्धी तालिम दिएको जनाएको हो । सरकारी नियमविपरीत पिएसआईले तालिम दिइसकेका जिल्लाहरूमा काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, कास्की, तनहँु, झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, रूपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, बाँके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, धनुषा, महोत्तरी र दोलखा छन् । ती जिल्लामा मेडाबोनको दुरुपयोगका कारण महिलामा बढी रक्तश्राव भएर उपचारका लागि अस्पताल पुग्ने महिलाको संख्या पनि अत्यधिक रहेको विभागको अनुसन्धानले देखाएको छ ।
सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति, २०६० अनुसार चिकित्सक वा स्किल वर्थ एटेन्डेन्स (एसबिए) तालिम लिएका नर्सले मात्र परिवार स्वास्थ्य महाशाखामा सूचीकृत भई सूचीकृत संस्थामार्फत मात्र गर्भपतन गराउन पाउँछन् । हालसम्म परिवार स्वास्थ्य महाशाखामा पाँच सयभन्दा बढी संस्था र एक हजारभन्दा बढी चिकित्सक र नर्स सूचीकृत छन् । मेडाबोनको प्रयोगसम्बन्धमा त्यसरी फार्मेसीलाई तालिम दिएर गर्ने भन्ने नियम सरकारको नभएकाले पिएसआईले चलाएको तालिम गैरकानुनी नै भएको परिवार स्वास्थ्य महाशाखाले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
परिवार स्वास्थ्य महाशाखाका अनुसार उमेर, तौल र गर्भको अवधि जाँचगरी नौ साताभन्दा कमको गर्भ मात्र औषधि प्रयोगबाट पतन गराउन पाइन्छ । गर्भपतनको अवधि तथा शारीरिक अवस्था नमिलेमा गर्भपतन गर्दा बढी रक्तश्राव हुने, शारीरिक समस्या बढ्ने र मृत्युसमेत हुनसक्छ । परिवार स्वास्थ्य महाशाखा, सुरक्षित मातृत्व शाखाप्रमुख डा. शिलु अर्यालले पिएसआईले नियमविपरीत तालिम दिएको अनुसन्धानबाट देखिएको बताइन् । उनले यस विषयमा विभागले थप अध्ययन गरिरहेको जानकारी दिइन् । ‘जथाभावी रूपमा मेडाबोनको प्रयोगले महिलाहरूमा जटिलता देखिन सक्छ,’ उनले भनिन्, ‘सरकारले सूचीकृत गरेका संस्था र व्यक्तिबाट मात्र मेडाबोनको प्रयोग गर्न सकिन्छ ।’
मेडाबोनले महाशाखाले मेडाबोनको सही प्रयोगतर्फ ध्यान दिन र सही रूपमा मात्र बजारमा पुर्‍याउन पिएसआईलाई जानकारी गराएको छ ।

प्रतिक्रिया