बस दुर्घटनामा ३० को निधन

नेपालगन्ज, २७ भदौ । सुर्खेतबाट जुम्ला जाँदै गरेको ना ४ ख ६८७७ नम्बरको कर्णाली यातायातको यात्रुवाहक रात्रिबस सोमबार राति ११ बजे पाखा–१ बिर्तामोडबाट ६ सय मिटर तल तिला नदीमा खस्दा ३० जनाको घटनास्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये जुम्ला महतगाउँका ४० वर्षीय भीमदत्त गुरुङ, कालिका थुन्चा घर भई जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत प्रहरी जवान पसलबहादुर शाही, पान्दुगुफा–१ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की, पान्दुगुफा–४ का १८ वर्षीय मीनबहादुर रोकाय, कालीकोट राचुली–८ का २८ वर्षीय गोविन्द कोइरालाको सनाखत भएको छ ।
त्यस्तै कालीकोट मान्मा–५ की ४० वर्षीया जगतकुमारी शाही, पाखा–१ की ४८ वर्षीया कान्छी मल्ल, पाखा–८ का २३ वर्षीय जंगबहादुर शाही, कैलाली सारेपानी–४ का ३२ वर्षीय लालबहादुर भण्डारी, संग्राम शार्दूल गुल्म कालीकोटमा कार्यरत नेपाली सेनाका सिपाही बैतडी दशरथ नगरपालिका घर भएका २६ वर्षीय मनोजसिंह कार्कीको पनि सनाखत भएको छ । बाँकी अन्यको सनाखत हुन सकेको छैन ।
कालीकोटका सिडिओ जगतबहादुर बस्नेतका अनुसार रातिको समयमा बस दुर्घटनामा परेकोले मृत्यु हुनेको संख्या बढी भएको हो । बस दुर्घटनामा ११ यात्रु घाइते भएका छन् । घाइते सबैलाई एम्बुलेन्समा मान्म ल्याइएको सिडिओ बस्नेतले बताए । बसबाट हाम फालेर पाँच यात्रुले ज्यान जोगाएको बस्नेतले बताए । भारी वर्षा र अफ्ठयारो मोडका कारण बस ब्याक गर्दा दुर्घटना भएको हाम फालेर बाँच्न सफल यात्रुले बताए । बसमा ४८ भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।
बस दुर्घटना हुनेबित्तिकै बसकै सहचालक जिल्ला प्रहरी कार्यालय मान्म पुगेर खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मान्मबाट इन्स्पेक्टर वरुणकुमार मण्डलको नेतृत्वमा राति १२ बजेर ४५ मिनेटमा नै घटनास्थलमा पुगेर उद्धार गरेका थिए । उद्धारमा नेपाली सेनाको १३ सदस्यीय मेडिकल टोली पनि घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए । मृतकको सनाखत हुन
बाँकी रहेको छ ।
यस्तै, कालीकोटबाट जुम्ला जाँदै गरेको यात्रुवाहक बस कर्णाली राजमार्गको बिर्तामोडमा दुर्घटना हुँदा घाइते भएकामध्ये ११ लाई थप उपचारका लागि हेलिकोप्टरमार्फत भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याइएको छ । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । घाइतेमध्ये कालीकोट मान्म–३ की ३८ वर्षीया जुनपुरा जैसी, सुकाटिया–४ की नन्दा भट्टराई, जुर्ला कालिका–७ का नयनबहादुर शाही, जुर्ला गुठीचौर–७ का वसन्त बुढा, प्युठान गचेरा–८ की ट्युरा सिंह र जुर्ला चन्दननाथ–२ का भैरव रावतलाई फिस्टेल एअरको हेलिकोप्टरबाट उपचारका लागि नेपालगन्ज ल्याइएको हो ।
त्यस्तै जुर्ला–२ का पदम थापा, पाण्डव–गुफा–१ का टोपबहादुर कार्की, पाण्डवगुफा–४ का बलबहादुर रोका, कालीकोट छाप्रे–५ का रणबहादुर सिंह र मुगु कार्कीवाडा–२ का जयबहादुर भानलाई पनि हेलिकोप्टरबाट नेपालगन्ज ल्याइएको छ । कालीकोटको सदरमुकाम मान्मदेखि यात्रु बोकेर जुर्लातर्फ जाँंदै गरेको ना ४ ख ६८७७ नम्बरको बस सोमबार राति ११ बजे बिर्तामोडबाट झन्डै पाँच सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया