दुई वर्षमा पनि बनेन प्रसूतिगृह

जाजरकोट, २७ भदौ । एक वर्षअघि निर्माण भइसक्नुपर्ने सीमा–४, राग्माकोटस्थित इलाका स्वास्थ्य कार्यालयको दुईकोठे प्रसूतिगृह ठेकेदारको लापरबाहीले पूरा हुन सकेको छैन । भवन निर्माण कार्य पनि रोकिएको छ ।

मातृ तथा शिशु मृत्युदर कम गर्न जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा प्रसूतिगृह बनाउने कार्यलाई तीव्रता दिइए पनि निर्माण कार्य थालेको दुई वर्षमा पनि काम सम्पन्न नभएको हो । भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले ठेकेदार राजु सापकोटलाई निर्माण कार्यको जिम्मा दिइएको थियो । तर, ठेकेदार सापकोटाबाट जाजरकोटका ठेकेदार ओमभक्त कार्कीले ६५
लाख रुपियाँमा भवनको ठेक्का लिएका दिए ।
ठेकेदार कार्कीले निर्माण कार्य जिम्मा लिएपछि ०६७ चैतबाट निर्माण कार्य सुरु गरिएको भवनलाई ०६८ असार मसान्तभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता गरिएको थियो । तर, भवनको निर्माण कार्य गएको जेठदेखि बन्द छ । भवन निर्माणमा सम्झौता फेरि थप गरिएको बताइएको छ ।
समयमै भवन नबन्नुमा ठेकेदार कार्कीको लापरबाही भएको स्थानीयको आरोप छ । ठेकेदारले बर्सेनि सम्झौता थप्दै जाने तर भवन बनाउनेतर्फ ध्यान नदिएको स्थानीयले बताए । भवन निर्माणसँगै वरपर तारजाली लगाउने भनिए पनि काम हुन नसकेको स्थानीय निमबहादुर रावतले बताए । उनले भने, ‘भवन बनाउने र वरपर तारजाली लगाउने कुरा सुनिएको हो तर दुई वर्ष बितिसक्दा पनि भवन नै बनेको छैन ।’
ठेक्का प्रणालीबाट भवन बनाउँदा कार्यालयसँग कुनै पनि समन्वय नहुने भएकाले भवनको निर्माण कार्य कहिले सम्पन्न हुने भन्नेबारे कुनै जानकारी नभएको इलाका स्वास्थ्य कार्यालय सीमाका प्रमुख सिनियर अहेव अमरराज सेजुवालले बताए । सेजुवालले समयमा प्रसूतिगृह नबन्दा कामकाजमा समस्या भएको उल्लेख गरे । उनले भने, ‘बन्ने भनिएको सुविधासम्पन्न प्रसूतिगृह अहिलेसम्म बनेको छैन, कार्यालयमा सुत्केरी हुन आउने महिलालाई निकै समस्या पर्ने गरेको छ ।’
ढलान गर्ने अवस्थामा रहेको भवनका लागि आवश्यक फलामको सरिया, सिमेन्ट, सिमेन्टको पिलर र फलामको ढोकालगायत निर्माण सामग्री निर्माणस्थलभन्दा करिब डेढ किलोमिटर अगाडि सीमा–१, शिवालयमा बेवारिसे अवस्थामा छन् । शिवालयमा सामग्री चार महिनाअघिदेखि बेवारिसे अवस्थामा रहेको स्थानीय व्यापारीले बताए ।
भवन निर्माण कार्यमा संलग्न मजदुरलाई काम गरेबापत पाउनुपर्ने करिब आधा रकम नदिएको मजदुरहरूले बताएका छन् । मजदुर हरिबहादुर थापाले भने, ‘दुई/चार पैसा कमाएर घरको गर्जाे टारौँला भनेको अहिलेसम्म आधा ज्याला पाइएको छ्रैन । ठेकेदार कता छन्, अत्तोपत्तो छैन ।’
उचित स्वास्थ्य सुविधा, साधनस्रोत र जनशक्तिको अभावमा जाजरकोटमा बर्सेनि दर्जनौँ गर्भवती तथा सुत्केरी महिलाको ज्यान जाने गरेको छ । आर्थिक वर्ष ०६८/६९ मा जिल्लामा ११ सुत्केरी महिलाको ज्यान गएको थियो भने बितेको साउनयता मात्र पाँच सुत्केरी महिलाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया