पाँच सहकारीलाई एसियाली अवार्ड प्रदान


काभ्रे, २६ भदौ । पाँच सहकारीले एसियाली स्तरको अवार्ड प्राप्त गरेका छन् । पाँचवटामध्ये तीनवटा सहकारी काभ्रेकै परेका छन् ।
एसियाली ऋण महासंघले विगत चार वर्षदेखि नेपालका सातवटा सहकारीमा एसिस् ब्रान्डिङ कार्यक्रम सञ्चालन गरेको थियो । पाँच सहकारीले एसियाली ऋण महासंघको एसिस् ब्रान्डको पहिलो चरणको ‘ब्रोन्च’ अवार्ड प्राप्त गरेका हुन्् । फिलिपिन्सको मनिलामा सम्पन्न एसियाली ऋण महासंघको साधारणसभामा नेपालका सहकारीलाई पुरस्कार प्रदान गरिएको थियो ।
काभ्रे पनौतीस्थित खोपासीको विन्द्यवासिनी र सामुदायिक साकोस तथा बनेपा बुडोलको बुडोल सामुदायिक साकोसले सो पुरस्कार प्राप्त गरेका हुन् । त्यसैगरी भक्तपुरको सिद्धिगणेश र दोलखाको जनचेतना सहकारीले पनि सोही अवार्ड प्राप्त गरेका छन् । भक्तपुरको बाराही र उपकार सहकारीले अझै अवार्ड प्राप्त गर्नसकेका छैनन् । सहकारीले एसियाली ऋण महासंघको सूचकांकमा उत्तीर्ण हुँदै गएपछि तेस्रो सिल्भर, दोस्रो गोल्ड र सबैभन्दा उत्कृष्ट प्लेटेनियम अवार्ड प्राप्त गर्नेछन् ।
पुरस्कार प्राप्त गरेका सहकारीले ६०–७० अंक ल्याई यो तहको पुरस्कार प्राप्त गरेका हुन् । सिल्भर तहका लागि ७२–८०, गोल्डेन तहका लागि ८१–९० र प्लेटेनियमका लागि त्योभन्दा माथिको अंक प्राप्त गर्नुपर्छ । विशेषगरी संस्थागत पुँजीको ५ प्रतिशत, कुल सम्पत्तिको भन्दा धेरै र उठ्न बाँकी ऋण ५ प्रतिशतभन्दा कम भएका सहकारीले मात्रै यसमा प्रतिस्पर्धा गर्न सक्नेछन् । महासंघको मापदण्डमा राखिएको सूचकांकमा समावेश भए पनि यी दुई बुँदामा अनुत्तीर्ण सहकारी यसका लागि अयोग्य हुन्छन् ।
एसियाली ऋण महासंघको साधारणसभामा अवार्ड लिन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट सो ब्रान्डका अध्यक्ष दीपक थापा र प्रमुख कार्यकारी व्यवस्थापक कृष्णकुमार श्रेष्ठ, बुडोल सामुदायिक साकोसका कोषाध्यक्ष ध्रुवबहादुर भुजेल र विन्द्यवासिनी सहकारीका अध्यक्ष प्रदीप थापा, कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ र लेखासमिति संयोजक राजु दुलाल सहभागी भएका थिए । नेपालबाट सो सहकारीका पदाधिकारी तथा नेफ्स्कुनका ४४ जनाको प्रतिनिधिमण्डल फिलिपिन्स गएको थियो ।
नेफ्सकुनका केन्द्रीय कोषाध्यक्ष दीपक थापाले नेपालका सहकारीको गुणस्तर एसियामै उत्कृष्ट भएपछि अझै जिम्मेवारी थपिएको महसुस भएको बताए । एसियाली महासंघले नेपालका सात र फिलिपिन्सका चार सहकारीलाई ‘पाइलट’ प्रोजेक्टका रूपमा लिएको थियो । आवेदन दिन महासंघले तयार गरेर पठाएको ८६ सूचकांकभन्दा अलग्गै संरचना तयार गरी त्यसमा प्रतिस्पर्धा गर्नसक्नेले मात्रै आवेदन दिनसक्ने व्यवस्था छ । पहिलो चरणमा पेस भएका सहकारीको निर्णय नआउँदै दोस्रो चरणमा ११ वटा सहकारीले आवेदन दिएको एक वर्ष भएको छ भने तेस्रो चरणमा १३ वटा सहकारीले आवदेन दिएको ६ महिना बितेको छ । मापदण्डमा सहभागी हुने सहकारीले विशेषगरी संस्थाको सञ्चालनमा वित्तीय परिवेश, सदस्यको दृष्टिकोण, आन्तरिक व्यवसायी दृष्टिकोण र सिकाइ वृद्धिको क्षेत्रमा उत्कृष्ठता हासिल गर्नुपर्नेछ ।

प्रतिक्रिया