“पढेकी केटीलाई बिग्रिएकी भन्थे”

शरीरभरि पहेँलो वस्त्र, तिलचामले केश अनि निधारमा रातो धर्के टीका । सामान्य गृहिणी नारीहरूको भन्दा पृथक् पहिरन छ उनको । मुसुक्क हाँसिरहने यी गोरी वृद्धालाई देख्दा लाग्छ– यिनी जीवनप्रति निश्चिन्त छिन् । हार्मोनियमको तालमा रामनाम जप्दै भगवत् भक्तिमा लीन भइरहेकी भेटिन्छिन् । समवयी वृद्धाहरू भजनकीर्तन र पूजापाठमा यिनलाई साथ दिइरहेका हुन्छन् । उनको खास नाम अम्बिकादेवी हो तर पछिल्लो समय उनी चिनिन्छिन्, पुरुषोत्तम आमाका नामले । जीवनका चालीस वर्ष उनले शिक्षणपेसामा बिताएकी छन् । दुई छोरी जन्मिएपछि पढ्न सुरु गरेकी उनको शिक्षणयात्रा आफैँमा रोचक छ अनि त्यत्तिकै कठिन अन्तर्संघर्ष पनि । लाग्छ– कुनै गहिरो वैराग्यसँग साक्षात्कार भएकी छन् । सौर्यकी चमिना भट्टराईसँग जीवनका भोगाइ अनि अनुभूतिहरू बाँड्दै छिन् उनी :
सानैमा बिहे भएको मेरो । चौध वर्षकै उमेरमा छोरी जन्माइसकेकी थिएँ । दुई वर्षपछि अर्की छोरी जन्मिई । घर जनकपुर । अहिलेजस्तो खानेपानीको सुबिधा थिएन । नुहाउन सधैँ पोखरीमा जान्थेँ । अहिलेजस्तो स्वतन्त्रता कहाँ थियो र † झ्याम्म घुम्टो ओढेर हिँड्नुपथ्र्यो । दुर्गा र तारा नामका दुई दिदीले मलाई नियालिरहनुभएको रहेछ । उहाँहरू शिक्षिका हुनुहुन्थ्यो । उति बेला पढेका नारीहरू भेट्नु ठूलो कुरा थियो अनि छोरीहरू स्कुल जाने संस्कार अहिलेजस्तो विकसित थिएन । उहाँहरूमध्ये एकजना नेपाली पढाउनुहुन्थ्यो भने अर्की अंग्रेजी ।
एक दिन उहाँहरूले मलाई सोध्नुभयो– ‘तिमीलाई पढ्न आउँछ नानी ?’ कहिले स्कुल नटेकेकी मलाई पढाइ के हो थाहा थिएन । उहाँहरूले सम्झाउनुभो, ‘तिमी पनि पढ्न आऊ, अब नारीले पनि पढ्नुपर्छ ।’ सोच्दै नसोचेको कुरा सुनेर अचम्म लाग्यो । ‘म त छोराछोरीकी आमा भइसकेकी मान्छे अब कहाँ पढ्नु नि †’ उहाँहरूले पढ्नलाई उमेर बाधक हुँदैन भन्दै मलाई प्रेरित गर्नुभयो । पढाइको महत्त्वबारे बुझाउनुभयो । मलाई पनि आँट आयो । तर, उति बेलाको समाजमा केटी मान्छे पढ्न जानु बिग्रिनु मानिन्थ्यो । त्यसैले घरमा कसैले मन पराएनन् । तैपनि, मलाई अब पढ्नुपर्छ भन्नेचाहिँ लागिसकेको थियो । घरकाले नमानेपछि बाहिरका मान्छेलाई अभिभावकका रूपमा राखेर स्कुल भर्ना भएँ ।
पढ्न त गएँ तर मेरो त्यो पढाइ साह्रै महँगो साबित भयो । यसै कारण घरबाट धेरै यातना पाएँ । कुटाइ त कति खाएँ, खाएँ, भनिसाध्य छैन । बितेका ती पीडादायी दिन सम्झँदा खाटो बसेको घाउ बल्झिएजस्तै लाग्छ ।
घुम्टो ओढेर बस्ने सोझी नारी म । परिवारको आदेशबेगर नचल्ने । मुखबाट आवाज निकाल्न पनि डर लाग्ने, मुन्टो हल्लाएर हो वा होइन भन्थेँ । एउटी छोरी बिती । अर्की दुई वर्षकी थिई । मलाई लछार्दै र कुट्दै लखेटे । त्यो एउटी छोरी जनकपुरको रामजानकी मन्दिरकी माताले समाइदिनुभयो । आमाजूका श्रीमान् मेरा दाजु पर्नुहुन्थ्यो । उहाँले नै लमी बनेर मेरो बिहे गरिदिनुभएको थियो । घरका मान्छेले उहाँलाई कुरा लगाएछन्– पढ्न गई भनेर । उहाँले सोध्नुभयो– ‘तिमी पढ्न थालेकी हौ ?’ बोल्न त डर लाग्थ्यो, टाउको हल्लाएर हो को संकेत गरेँ । तर, दाजुले मेरो साथ दिनुभयो । मेरो टाउकोमा हात राखेर ‘तिमीले राम्रो काम गरिछौ, पढेको विरोध गर्नुहुँदैन’ भन्नुभयो । उहाँको साथले मलाई थप साहस दियो । मलाई ढाडस दिनुभयो, ‘पढ्ने इच्छा गर्नेलाई सरस्वती माताले साथ दिनेछिन्, विश्वास गर्नुपर्छ ।’
त्यसो त सात–आठ वर्षकी हुँदा नै मलाई हनुमान चालिसा कण्ठ थियो । त्यो पढेर होइन, अरूले पढेको सुनेर जानेको । छोरी मान्छेले पढ्नुहुँदैन भन्थे, घरबाट पढ्नै पठाउँदैनथे ।
तर, पछिल्लोचोटि ममा पढाइप्रति तीव्र इच्छा पलाइसकेको थियो । हो रहेछ, चाहना गर्ने हो भने सरस्वती माताले पुर्‍याइदिँदी रहिछन् । त्यति बेला म लहानमा थिएँ, हार्मोनियम बजाउन आउँदैनथ्यो । तर, बजाउन सिक्ने ठूलो चाहना थियो, त्यसैले एउटा हार्मोनियम किनेर राखेकी थिएँ । एक दिन सपनीमा मलाई ठाकुरजीले हार्मोनियम बजाउन सिकाए । विपनामा पनि उनले सिकाएअनुसार चलाउँदै गएँ । नभन्दै त्यही बेलादेखि मलाई हार्मोनियम बजाउन आयो । इच्छा भए भगवान्ले पुर्‍याउँदा रहेछन्, त्यसैले त पढ्न सकेँ, हार्मोनियम बजाउन सकेँ ।
पाँचवटा बच्चा जन्मिए मेरा, अहिले आफन्तका नाममा दुइटी छोरी छन् । एउटी वायुसेवा निगममा छिन्, अर्की दिल्लीमा । दुवैको घरजम भइसक्यो । मैले जीवनमा संघर्ष गरेर भए पनि छोरीहरूलाई उच्च शिक्षा दिलाएकी छु । उनीहरूले मैले जस्तो रोएर, कुटाइ खाएर पढ्नु परेन । यसैमा खुसी लाग्छ ।
उति बेला अलिअलि पढ्नु पनि ठूलो कुरा थियो । केही जान्ने भएपछि मलाई तालिम दिइयो । त्यो तालिमपछि पढाउन भनेर मलाई उदयपुर खटाइयो, २१/२२ सालतिर । त्यहाँको अवस्था पनि त्यस्तै रहेछ, केटीहरूलाई कसैले स्कुल नपठाउने । पञ्चायती हाइस्कुल थियो । बाह्र–तेह्र शिक्षक थिए, शिक्षिका म एउटी मात्रै । गाउँभरि हल्ला भयो– एउटी आइमाई पढाउन आएकी छ रे † त्यसले गाउँकी सबै केटी बिगार्ने भई भनेर गाउँले उचालिन थालेछन् । त्यति बेला म २४–२५ वर्षे जवान थिएँ । स्कुल व्यवस्थापन समितिको अध्यक्ष एकजना लप्टन थिए । सबैभन्दा धेरै विरोध उनैले गरे– ‘यो आइमाईलाई यहाँ राख्नु हुँदैन, पढाउन दिनुहुँदैन, पिटेर लखेट्नुपर्छ ।’ लाग्यो– पढ्दा त कुटाइ खाएँ–खाएँ, पढाउँदा पनि कुटाइ खानुपर्ने भयो । तर, पिट्नचाहिँ पिटेनन् । पढाउन गयो, हाहा र हुहु गर्दै हुटिङ गर्थे पढाउनै नदिने । सरकारले नै पठाएर गएकाले म बस्नु त पथ्र्यो नै । जसोतसो नौ–दस महिना त्यहाँ बिताएँ । एकजना महिला पनि पढ्न आएनन् । सहकर्मी शिक्षकले चाहिँ मलाई सहयोग नै गर्थे ।
तिहार आउँदै थियो । स्टाफ मिटिङमा मैले स्कुलका तर्फबाट गाउँमा देउसीभैलो खेल्न जाने प्रस्ताव राखेँ । अनि, भट्याउँदा देउसिरेको सट्टा जनचेतना पुग्ने किसिमले ‘देउछोरी’ भनौँ भनेँ । मैले भट्याएँ, अरूले ‘देउछोरी’ भने । पहिलो देउसी तिनै लप्टनको घरबाट सुरु गर्‍यौँ, अरू दुई–चार घर खेल्यौँ ।
त्यो देउसीको प्रभाव राम्रो परेछ । तिनै लप्टनले आफ्ना दुई छोरी पढ्न पठाए । त्यसपछि अरूले पनि छोरीलाई स्कुल पठाउन थाले । दस–बाह्रजना केटी भर्ना भए । मलाई खुसी लाग्यो, केही सफल भएँजस्तो लाग्यो । म पनि प्रमोसन हुँदै गएँ ।
सरुवा भएर सिरहाको लहान पुगेँ । त्यहाँ उदयपुरमा भन्दा अलि सजिलो भयो । त्यसो त मैले स्कुलका विद्यार्थीलाई मात्र होइन, साँझ बिहान गाउँका गृहिणीलाई जम्मा पारेर प्रौढशिक्षा पनि पढाउँथेँ, स्काउट शिक्षकका रूपमा । जहाँ गए पनि सक्रिय हुनुपर्छ भन्ने मेरो मान्यता थियो । हिजो घरमा पढेकै कारण पिटाइ खानुपरेकी मैले शिक्षिका भएर पैँतालीस वर्ष बिताएँ ।
जुन अवस्थामा मैले पढ्न सकेँ, त्यो भगवान्कै कृपाले हो भन्ने मलाई सधैँभरि लागिरहन्छ । २४/२५ वर्षकै उमेरदेखि रामको भक्तिमा लीन हुन थालेँ । अवकाश पाएपछि यो क्रम झन् बढ्यो ।
परिवारसँगको सम्बन्ध भने उति बेलैदेखि टुटेको हो । आज चालीस वर्ष भयो, श्रीमान्सँग भेट नभएको । उनी भारतको कास्मिरतिर छन् रे । मसहित उनका तीनवटी श्रीमती भएछन् । मभन्दा पहिलेकी बितेकी थिइन् । मलाई छाडेपछि अर्की च्यापेर भारततिर छिरेछन् । रोएर पछि लाग्नुभन्दा मैले आफ्नै ढंगले संघर्ष गर्ने अठोट गरेँ । पति नै भए पनि बेइमान गर्नेका लागि रोएर बस्नु हुँदैन । पतिविना पनि बाँच्न सकिन्छ । घरमा अंश लिन आइज त भनेका छन् तर म गएकी छैन । अब त मेरा पति, मातापिता जे भने पनि सबै भगवान् हुन् । मनमा आएको चिन्ता, वैराग्य, पीर भगवान्को भक्तिले बिर्साउँछ ।
अहिले म जेमा तल्लीन छु, यो पेसा होइन, भगवान्को भक्ति हो । युवावस्थादेखि नै जीवनमा वैराग्य सुरु भो । हन्डर–ठक्करले गाँजेपछि मलाई मात्र होइन, सबैलाई यस्तै हुन्छ । जीवन जिउने बाटो खोज्दै जाँदा भगवान्को भक्तिलाई सबैभन्दा उत्तम मार्ग देखेँ । यसैमा आनन्दको अनुभूति हुन थाल्यो, पीडा बिर्साइदियो ।
मान्छेमा भ्रम छ– भगवान्को भक्तिमा लाग्नेले घर–सन्तान त्याग्नुपर्छ भन्ने । तर होइन, घरव्यवहार सबैलाई अँगालेर पनि भनेजसरी लाग्न सकिन्छ । मैले अँगालेको धर्मलाई श्रीसम्प्रदाय भनिन्छ । ‘पुरुषोत्तम आमा’ मलाई गुरुआमाले दिनुभएको नाम हो, अझ पदचाहिँ हो । म रामायणको सुन्दरकाण्डको प्रचार गर्छु । यसबारे मलाई राम्रै ज्ञान पनि छ । रामायणका लोकहितका गाथा सबैलाई सुनाउँछु ।
परिस्थितिले दिने वैराग्यसँगै मान्छेलाई आत्मग्लानि हुन थाल्छ । उमेर ढल्कँदै जाँदा मान्छेको वैराग्य झन् बढ्छ । यस्तो अवस्थामा भगवान्को भक्तिले मनमा आनन्द जगाउँछ । भगवत् अनुभूतिले बाँच्न प्रेरित गर्छ ।
संघर्ष के हो, मैले राम्ररी बुझेकी छु । अनि, अरूलाई पनि परिस्थितिसँग अनात्तिनू भन्छु । डराएको वा हार मानेको भए जनकपुरमा घुम्टो ओढेर खुम्चिएर बसेकी अम्बिकादेवी अहिलेकी स्वतन्त्र पुरुषोत्तम आमा बन्न सक्ने थिइनँ । अहिले पनि बुढेसकाल त्यही घुम्टोभित्रै गुम्सिरहेकी हुन्थेँ होला ।

प्रतिक्रिया