क्रिकेटको सफलता

मुलुकमा सबैतिर निराशा, वितृष्णा, अन्योल र चरम निराशा छाइरहेका बेला क्रिकेट खेलबाट भए पनि सुखद समाचार आएको छ । संविधान निर्माण र शान्ति व्यवस्थापनको कुरा निरन्तर टाढा गइरहेको भान भइरहेका बेला नेपाली क्रिकेट खेलाडीले मुलुकको राजनीतिक दुरवस्थालाई बिर्सेर विदेशमा राष्ट्रिय झन्डाको सान राख्ने प्रशंसनीय काम गरेका छन् ।
हो, अभूतपूर्त रूपमा नेपाली क्रिकेटले अनायास एक गतिलो फड्को मारेको छ । मलेसियामा सोमबार नै सकिएको ‘आइसिसी डिभिजन फोर क्रिकेट प्रतियोगिता’मा नेपालले फाइनलमा अमेरिकालाई पराजित गरी उपाधि जित्नुका साथै आइसिसी विश्वकप प्रतियोगितामा सहभागी हुने आकांक्षालाई जीवन्त तुल्याएको छ । यो अहिलेसम्म नेपालले खेलेका सबै क्रिकेट प्रतियोगितामा सबैभन्दा ठूलो उपलब्धि हो ।
नेपालले यो प्रतियोगिता अवधिभर स्थिर प्रदर्शन, अर्थात् कन्सिस्टेन्सी प्रदर्शन गर्‍यो । नेपाली क्रिकेटको अहिलेसम्म आलोचनाको विषय बन्दै आएको पक्ष थियो– नेपालले उमेर समूहका प्रतियोगितामा राम्रो प्रदर्शन गर्छ तर जतिखेर सिनियर अथवा खुला प्रतिस्पर्धाको कुरा उठ्छ, त्यसबेला भने नेपाल चिप्लिन्छ । तर, यसपटक ती सबै अड्कल र अनुमानलाई चिर्दै नेपाल आइसिसी डिभिजन फोर प्रतियोगिताको विजेता भएको छ ।
राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले फाइनलसमेत सबै ६ खेल जित्यो । यो पहिलो अवसर हो, जतिबेला नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा समान ढंगलै स्तरीय प्रदर्शन गर्‍यो र विपक्षी टोलीलाई सबैतिरबाट निरीह साबित गर्‍यो । यसको अर्थ, नेपाली टोलीमाथि लगाइएको ‘उमेर समूहको दादा’ र ‘सिनियर लेभलको बालक’ भन्ने आरोप कम्तीमा यसपटक गलत साबित भएको छ ।
सन् २००० मा पहिलोपटक यु–१९ विश्वकप खेलेको नेपालले त्यसको आठ वर्षपछि आइसिसी डिभिजन (फाइभ) प्रतियोगिता खेल्न थालेको थियो । सुरुको प्रतियोगितामा खेलेका विनोद दास, सन्जम रेग्मी, वसन्त रेग्मी, शक्ति गौचनलगायत खेलाडी अहिलेसम्म टोलीमा छन् । यसका साथै पछिल्लो समयका प्रतिभाशाली पृथु बास्कोटासमेत यो टोलीमा सहभागी छन् । अर्थात्, नेपाली टोलीमा पुराना र नयाँको राम्रो ‘कम्बिनेसन’ मिलाउने योजनाबद्ध प्रयास भइरहेको छ । यो सकारात्मक पक्ष हो । नेपालले आइसिसी डिभिजन फोरको फाइनल जितेलगत्तै चौधरी ग्रुपले नेपाल क्रिकेट संघलाई पाँच वर्षसम्म घरेलु प्रतियोगिता गर्न दुई करोड रुपियाँभन्दा बढीको प्रायोजन सम्झौता गरेको छ । नेपालमा क्रिकेटलाई व्यवसायीकरण गर्न यस्ता सम्झौताले पक्कै पनि उल्लेखनीय योगदान पुर्‍याउने निश्चित छ ।
डिभिजन थ्रीमा नेपालले अमेरिकासँगै इटाली, बर्मुडा, ओमान र युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यो समूहमा पनि प्रथम दुईभित्र पर्न सकेमा नेपालले आइसिसी विश्वकप २०१४ खेल्नका लागि एसोसिएट र एफिलिएट सदस्यका तर्फबाट दह्रो चुनौती पेस गर्न सक्नेछ ।
सवाल के हो भने यसरी मुलुकको प्रतिष्ठा बढाएर आएका खेलाडीलाई राज्य र सरकारले कसरी हेर्छ ? राज्यले यी शतप्रतिशत सफल नतिजा निकाल्न सफल खेलाडीलाई उत्साह बढाउन, उनीहरूको मनोबल उकास्न र भविष्यमा अझ राम्रो प्रदर्शन गर्नका लागि प्रोत्साहित गर्न के–कस्तो काम गर्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ । राज्यको जिम्मेवारी आफ्नो ठाउँमा छ, क्रिकेट विकासको ठेक्का लिएको नेपाल क्रिकेट संघ (क्यान)ले के गर्छ भन्ने कुरा पनि छँदै छ । कसरी क्यानले नेपाली खेलाडीलाई ५० ओभरका म्याच खेल्नका लागि तयार गर्छ– के छिमेकी मुलुकमा लैजान्छ ? नेपालभित्रै त्यसको व्यवस्था गर्छ ? प्रशिक्षण र खेलाडीको शारीरिक फिटनेसका लागि के–कस्तो व्यवस्था गर्छ ? के नेपालभित्रै घरेलु प्रतियोगिताका रूपमा रहेका राष्ट्रिय प्रतियोगिताबाहेक अन्य कुनै प्रोफेसनल (टी–ट्वान्टी नभएर कम्तीमा ५० ओभरवाला म्याच) इभेन्टको आयोजना गर्ने साहस गर्न सक्छ ? यस्ता धेरै प्रश्न छन् जसले नेपाली क्रिकेटको भविष्यलाई प्रभावित पार्न सक्छन् ।
मलेसियामा प्राप्त डिभिजन फोरको सफलता आफैँमा अभूतपूर्व हो, नेपालले हालसम्म हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि हो । तैपनि, के कुरा साँचो हो भने नेपाली क्रिकेटको बिसौनी यति मात्र होइन । हामीले यसपछि डिभिजन थ्री र त्यसपछि ‘बिग क्वालिफायर’ आइसिसी विश्वकप क्रिकेटका लागि पनि भिड्नुपर्ने छ । यसका लागि हामीले अतिशय पुलकित हुने, मात्तिने वा आफूलाई अत्यधिक धेरै आँक्ने प्रवृत्तिबाट टाढै रहन सक्नुपर्छ । त्यसो हुन सके मात्र डिभिजन थ्रीमा प्रमोसन हुन सकेको उपलब्धि सार्थक हुनेछ ।

प्रतिक्रिया