तिजका नाममा विकृति

आधा आकाश ढाकिएका महिलालाई घरभित्र मात्र सीमित गरिनु हुंदैन, राज्यका सबै तहमा महिला पुरुष बराबर हुनुपर्छ भन्ने आवाज धेरै पहिलेदेखि नै उठ्दै आएको भए पनि गणतन्त्र आएपछि सबै क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य मात्रमा भएको छ । राजनीतिक दलहरूले ३३ प्रतिशत कोटा महिलाका लागि छुट्याएका छन् । नेपाल सरकारको जागिरमा होस् कि अन्य क्षेत्रमा महिलाका लागि कोटा सुरक्षित छन् । राज्यले महिलालाई हरेक क्षेत्रमा आरक्षण दिई देश विकासको मूल प्रवाहमा ल्याउने उद्देश्य राखेको छ । देशका विभिन्न क्षेत्रमा पुरुष महिलाबाट पीडित भए पनि त्यसको खासै मतलब छैन तर महिलालाई घरपरिवारले केही गरे आमा समूह, महिला समूह, दिदीबहिनी समूह उठेर न्याय दिलाइछाड्छन् । हिजो महिलालाई जे गरे पनि हुन्छ भन्ने मानसिकता भएकाहरू पनि पछिल्ला दिनमा एकपटक सोच्न बाध्य भएका छन् । अहिले महिला जागरुक बनेका छन् । जुन असाध्यै राम्रो कुरा हो । भन्ने गरिन्छ– एउटा पुरुष शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर एउटी महिला शिक्षित हुँदा पूरै घर शिक्षित हुन्छ । यसको अर्थ हुन्छ कि महिलाले विवेक पुर्‍याएर काम गर्छन् । तर, तिजका हकमा त्यो कुरा लागू हुन सकेन ।
तिज नेपाली महिलाको महत्त्वपूर्ण चाड हो । यसलाई हर्षोउल्लास तरिकाले मनाउन पाउनु नारीको अधिकारभित्र पर्ने कुरा हो । त्यसैले नेपाल सरकारले तिज मनाउनकै लागि सार्वजनिक बिदा दिने गरेको छ । तर, केही समययता आएर तिज मनाउने दिनलाई पनि तेत्तीस प्रतिशतमा पुर्‍याइँदै छ । महिला र तिज एक अर्काका पर्यायवाची भएकै कारण होला दुई दिन मनाउने तिजलाई हाल आएर महिनौँ अगाडिदेखि मनाउन थालिएको छ । विगतका वर्षको तुलनामा महँगी डबल भएको छ । सामान्य कमाइले बिहान बेलुकाको छाक टार्न धौधौ परेको छ । केही महिला श्रीमान्लाई अफिस पठाउने, केटाकेटी स्कुल पुर्‍याउने अनि महिनौँअघिदेखि तिजका नाममा कहिले कुन समूहको टिकट बेच्दै छन्, कहिले कुन समूहको । यसरी टिकट बेच्नेहरू पनि राजनीतिक रूपमा पहँुच भएका, श्रीमान् उच्च ओहदामा रहेकाका महिला छन् । तिनले दर खुवाउने नाममा जबर्जस्ती टिकट भिडाएका छन् । आफ्ना लागि श्रीमान्ले कमाएर ल्याएका छन् । प्रशस्त धनसम्पत्ति छँदै छ । तीनलाई गहना लगाउने र आफ्नो चुरीफरी देखाउने यो राम्रो अवसर भएको छ ।
सुरूमा सभ्रान्त परिवारका महिलाले पैसा उठाउँदै पार्टी प्यालेसमा तिजको दर खुवाउने चलन चलाए । अहिले त्यो परम्पराजस्तै भएको छ । काठमाडौंलगायत सहरी क्षेत्रमा एक महिनादेखि पार्टी प्यालेसमा तिजको दर खाने र खुवाउनेको भिडभाड छ । के उद्देश्य र कुन स्वार्थका लागि हो, महिलालाई दर खुवाउनका लागि पनि थुप्रै समूह निस्किएका छन् । विभिन्न संघ संगठन, सम्पर्क मञ्च, आमा समूह, दिदीबहिनी समूह ब्युर्टीपार्लर समूह इन्जिनियर महिला समूह आदि आदि नामका थुप्रै यस्ता समूहले महिलालाई दर खुवाउने गरेका छन् । मानौँ, यो तिज सय वर्षमा आएको हो, अब अर्को तिज सय वर्षपछिमात्र आउँछ जस्तो गरेर लागेका छन् । तिजका नाममा कार्यक्रम नराखे आफ्नो परिचय नै लोप हुनेजस्तो ठानेका छन् । यो के हुन लागेको हो । प्रतिस्पर्धा राम्रो कामका लागि होइन, तिजका नाममा विकृति ल्याउनमा भएको छ । दर खुवाउने नाममा टिकट बेच्ने, चन्दा उठाउने कतै दर खानेसँगै जबर्जस्ती पैसा उठाएर पार्टी प्यालेस, होटल, र क्याट्रिङको व्यवस्था गरेर खुवाउने दरको तिजसँग के साइनो रहन्छ ? महिनौँ अगाडिदेखि खाने त्यो दरको के महत्त्व हुन्छ त्यो त थाहा छैन तर यसले समाजमा विकृति भने प्रशस्त मात्रमा भित्र्याएको छ ।
पार्टी प्यालेस, होटल र क्याट्रिङको व्यवस्था गरेर खुवाउने दरका कार्यक्रममा विशेषगरी हुने खानेका महिला नै जाने गरेका छन् । आयोजक पनि तिनै बनेका छन् । ती ठाउँ उनीहरूका लागि गरगहना देखाउने उपयुक्त ठाउँ भएको छ । अनि, एक अर्कासँग तुलना गर्दै कुन राम्रो, कुन लाउने, उसको भन्दा आफ्नो के कम भयो आदि आदि कुरामा ध्यान दिने गरेका छन् । जतिसुकै धनी, जति नै पढेलेखेका भए पनि महिलामा तुलाना गर्ने बानी अलि बढी नै हुन्छ । त्यसैले सानो पदमा होस् कि उच्च पदमा होस् आफ्ना श्रीमान्लाई यस्तो चाहियो र उस्तो चाहियो भन्दै बढी पैसा कमाउन दबाब दिने गर्छन् । श्रीमतीको दबाब लोग्ने माथि परेपछि ऊ कसरी हुन्छ पैसा कमाउने ध्याउन्नमा लाग्छ । त्यो भनेको भ्रष्टाचारबाहेक अर्को बाटो हुनै सक्दैन । तपाईंहरू तुलना गर्नुस् जब तिजको विकृति बढ्यो राज्यमा भ्रष्टाचार पनि बढ्दो छ । भन्ने गरिन्छ– ‘सज्जन र इमानदार मान्छेलाई पनि कि सारीले कि गाडीले बिगार्छ ।’ यहाँ गाडीले भन्दा पनि सारीले विकृति ल्याएको छ । यसबारे आधा आकास ढाकेका महिला नै गम्भीर बन्नुपर्ने होइन र ?
पछिल्लो समयमा महँगीले सबैको ढाड सेकाएको छ । एकातिर महिलाहरू महँगी बढ्यो, घर धान्ने पीडा महिलालाई हुन्छ भन्दै महँगीविरूद्ध संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन् । अर्कोतर्फ केही महिला महिनौँ अगाडिदेखि दर खाने नाममा पैसा उठाउँदै हिँडेका छन् । तीनको महिनौँदेखि घरमा बास छैन । मानौँ, सबै कुरा पुगेको छ, अब बाह्रै महिना नाच्ने गाउने गर्नुपर्छ जस्तो गरेका छन् । यस्ता कार्यक्रममा अतिथि बनेर जाने नेताहरू पनि तिजको उपलक्ष्यमा गरिने यस्ता कार्यक्रमले हाम्रो संस्कृतिलाई बँचाइराख्छ भन्दै खुबै राम्रो काम गरेको ठान्दै आयोजकको मुक्त कष्ठले प्रशंसा गर्छन् । समाज बदल्न नेता हुनेहरूले यसविरूद्ध पनि आवाज उठाउनुपर्ने होइन ? तिजलाई यसैगरी लैजाने हो भने तिज भन्ने चाडप्रति मानिसको नकारात्मक धारणा विकास हुन्छ । जसरी तिज र महिला पर्यायवाची बनेका छन् त्यसैगरी भोलिका दिनमा तिज र विकृति पर्यायवाची बनेर आए भने यो चाड नै लोप हुनसक्छ । यसको जुन ऐतिहासिक महत्त्व छ त्यसलाई बचाइराख्ने काम पनि महिलाको नै हो । महिनौँअघिदेखि दर खाने भन्दै हिँड्नु, आउँदिन भन्नेलाई पनि जबर्जस्ती गर्नु, गरगहना देखाउने अवसर हो जस्तो ठान्नु कतै आधा आकास ढाकेका महिलाले नै तिजका नाममा समाजलाई विकृतितिर लान मलजल गरेका त छैनौँ ? एकपटक गम्भीर भएर सोच्ने हो कि † तपाईं आमा, दिदी, बहिनीहरू जसले तिजलाई परम्परागत रूपमा मनाउँदै हुनुहुन्छ तपाईंहरूलाई तिजको शुभकामना †

प्रतिक्रिया