युरोपमा पत्रकार राजनीति

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिवेशनका निम्ति हामी चारजना बेलायतबाट पेरिसतर्फ लाग्यौँ । बिबिसी नेपाली सेवाका भगिरथ योगी, पत्रकार महासंघ बेलायत शाखाका केन्द्रीय पार्षद् दीपक न्यौपाने, नेपाल ब्रिटेन अनलाइनका चिरन शर्मा र म । गत अप्रिलमा फ्रान्स बासी पत्रकार दधि सापकोटा बेलायत आएका थिए । उनले युरोपभर छरिएर रहेका पत्रकारहरूलाई संगठित गर्नुपर्ने विचार गरेको कुरा बताएका थिए र उनले यसबारे पत्रकार महासंघसँग पत्राचार गरिसकेको बताउँदै मलाई यसबारे सहयोग गर्न आग्रह गरेका थिए । उनले यस्तै आग्रह भगिरथ योगीसँग पनि गरेका रहेछन् । सोही प्रतिबद्धताको एउटा पाटो थियो हाम्रो पेरिस यात्रा । रात्रिको यात्रा भएकाले ड्राइभरलाई निद्रादेवीले आफ्नो अँगालोमा नकसून् भन्ने उद्देश्यले ठट्टा, हाँसीमजाक गर्ने सल्लाह गर्‍यौँ । पानीजहाजमा गाडी चढाएर जब हामी माथि उक्ल्यौँ, साथीहरूले बियरले घाँटी भिजाउने निधो गरे । म बबुरो साथीहरूलाई सही सलामत पेरिस पुर्‍याउने र बेलायत फर्काउने जिम्मा लिएकाले त्यतातिर आँखा लगाउनु एक विवाहित युवतीले परपुरुषमाथि आँखा लगाएजस्तै पाप हुन्थ्यो । एउटा कडा खालको कफी लिएर चुस्की लिन थालेँ । सवा दुई बजे राति हामी चढेको पानीजहाज फ्रान्सको काले भन्ने ठाँउमा पुग्यो । मलाई अब यहाँदेखि लगभग साढे चारदेखि पाँच घन्टा स्टेरिङको सहारा लिनुथियो । लगभग डेढ घन्टा पर पुगेपछि चिरनजीले पानीजहाजमा पिएको बियर खाली गराउनुपर्ने संकेत दिए । मुग्लिनबाट काठमाडौं जाने बस जसरी सडकको बगलमा रोकेर सूचना दिन्छ त्यसरी नै मैले सूचना जारी गरेँ । लगभग पाँच मिनेट पछि मेरो काम गाडीअगाडि बढाउनुथियो । म अगाडि बढेँ, भगिरथजी गाडीमा भित्रिएकै रहेनछन् । केही मिटर पर पुगेपछि चिरनजीले भगिरथ छुटेको कुरा बताए । उता योगीजी गाडीको पछिपछि दैडिँदै रहेछन् । कसो उनको पहिलोपटकको पेरिस यात्रा जीवनको सबभन्दा महँगो र कष्टपूर्ण बनेको ?
शनिबार बिहान सातबजे गन्तव्य स्थलमा पुग्यौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेसँग भेट भयो । सानो भलाकुसारी पछि मैले चिरन शर्मालाई साधारण सदस्यताका निम्ति प्राप्त भएका सबै दर्खास्त फारमहरू छानबिन गर्न आग्रह गरेँ । यसका निम्ति उनले अध्यक्षको सहयोग लिनुपर्ने कुरा बताएँ । किनभने नेपाल पत्रकार महासंघ युरोप तदर्थ समितिले मलाई निर्वाचन आयोगको संयोजक तोकेको थियो । तदर्थ समितिले विधान नलेखिसकेकाले मलाई उक्त कार्य गर्न असजिलो महसुस भइरहेको थियो । किनकि, महासंघको वैदेशिक नियमावलीअनुसार काम गर्नुपर्ने थियो । कामको सुरुआत कहाँबाट गर्ने भन्ने बिन्दु भेट्टाउन सकिरहेको थिइनँ । वैदेशिक नियमावलीको आधार लिँदा कुनै एउटै मुलुकका पत्रकारले संस्था हत्याउने सम्भावना देखियो । त्यसो हुन नदिन निम्ति एउटा अलग्गै तरिका अपनाउनुपर्ने देखिरहेको थिएँ । किनकि, वैदेशिक नियमावली एउटा मुलुकमा मात्र क्रियाशील पत्रकारहरूलाई संगठित गराउने उद्देश्यले बनाइएकोजस्तो लाग्यो । तर, यहाँ त युरोपभरका दुई दर्जन मुलुकमा क्रियाशील नेपाली पत्रकारको प्रतिनिधित्व हुने छ । जस्तै, निदरल्यान्डबाट एकजनाको मात्र दर्खास्त परेको थियो भने बेल्जियमबाट डेढ दर्जन दर्खास्त आएका थिए । सहभागी र प्रतिनिधित्व कसरी गराउने भन्ने निश्चित खाका तयार थिएन । यस्तो अवस्थाका लागि वैदेशिक नियमावली पनि प्रस्ट बोलेको छैन ।
झगडाको बिउ रोपिने सम्भावनाबाट मुक्त हुन चाहन्थेँ म । हुन पनि मोबाइलका घन्टी बज्न सुरु भइसकेका थिए । कसैले हामी सदस्य संख्यामा एकाउन्न प्रतिशत छौँ, हामीलाई एकाउन्न प्रतिशत पद चाहिन्छ, त्यहीअनुरूप हामीले उम्मेदवारी दिँदै छौँ । यस्तै अर्को घन्टी बज्छ र माग आउँछ म आएको मुलुकमा नेपाली पत्रकार धेरै छैनौँ, तैपनि कार्य समितिमा हाम्रो प्रतिनिधित्व हुनै पर्छ । अर्कोतिर नेपाली कांग्रेसका साथीहरूका क्रियाकलाप हेर्दा लाग्थ्यो, पूरै नेपाल पत्रकार संघ युरोप शाखा मानौँ उनीहरूकै हो । भोलिपल्ट हुन गइरहेको अधिवेशनमा यस्ता समस्या नपरोस् भन्ने चिन्ताले सताइरहेको थियो । यसैबीच कसैले कान फुक्यो– ‘हेर्नुस् नेपाली कांग्रेसले केन्द्रबाटै नेपाल पत्रकार महासंघ युरोप शाखाप्रति निकै सक्रियतापूर्वक चासो देखाउँदै आइरहेको छ । र, आफ्ना युरोपका शाखाहरूलाई नेपाल पत्रकार महासंघ युरोप शाखा कब्जा गर्नसमेत पछि नपर्न आदेश दिएको छ, त्यसैले भोलि युरोपभरका कांग्रसी नेताहरू अधिवेशन स्थलमा आउने छन् । पत्रकार संघलाई कुनै पनि राजनीतिक पोल्टामा जान नदिनुस् ।’ यो अर्को चुनौती थियो हामीलाई ।
शिव गाउँलेलाई बगलमा लगेर अनुरोधात्मक शैलीमा भनेँ, निर्वाचनबाट जोसुकै विजयी भएर आवस्, त्यो मलाई कुनै सरोकार छैन, किनकि मेरा लागि सबै बराबर हुन् तर निर्वाचित व्यक्ति एउटा दलको पत्रकार संघको नेता मात्र नबनोस् ताकि ऊ समग्र युरोपमा रहेका क्रियाशील नेपाली पत्रकारहरूलाई नेतृत्व दिन सक्षम बनोस् । उनी मेरो कुरामा सहमत भए । भोलिपल्ट अर्थात् आइतबार सम्मेलन कक्षमा पुग्यौँ । पत्रकार साथीहरू क्रमश: एकतृत हुनथाले, हात तान्ने, एकान्त जाने, समूह–समूहमा बस्ने, आ—आफ्नो लबिङ गर्ने मानवीय स्वभावबाट त्यहाँ पनि अछुत रहेन । निर्वाचन कसरी गराउने ? अन्योल हुन थाल्यो । मेरो पहिलो दिनको चिन्ता त्यहाँ यथार्थमा परिणत हुने सम्भावना नजिक आयो । नेपाल पत्रकार महासंघ युरोप शाखालाई विशुद्ध पत्रकारभित्र जोगाउन गाह्रो पर्ने देखियो । युरोपमा नेपाली डायस्पोराभित्र पूर्णकालीन पत्रकार हुन निकै गाह्रो छ । गाह्रो मात्र होइन, वर्तमान अवस्थामा प्राय: असम्भव छ । त्यसैले मेरो चासो भनेको कम्तीमा पनि दिनको एक घन्टा पत्रकारिताबारे चिन्तन गर्ने, यसको मर्यादाबारे सोच्ने, समाचार संकलन गर्ने र सम्प्रेषण गर्ने साथीहरू नछुटून् भन्ने मात्र थियो । दुई दर्जन बढी युरोपियन मुलुकहरूमा जहाँजहाँ नेपाली समुदाय छन् र आफ्नो समुदायप्रति चिन्तित भई समाचार सम्प्रेषण अर्थात् पत्रकारितामा लागेका साथीहरू छन्, उनीहरूको प्रतिनिधित्व पनि नछुटोस् भन्ने थियो ।
निर्वाचन आयोगले प्राप्त गरेको सदस्यको लिस्टलाई हेर्दा नेपाल पत्रकार महासंघ युरोप शाखामा कार्यसमितिका सम्पूर्ण पदाधिकारी एउटै मुलुकबाट मात्र आउने सम्भावना देखियो । यसरी नेपाल पत्रकार महासंघ युरोप नभई नेपाल पत्रकार महासंघ त्यही मुलुक हुने भयो । यसलाई कसरी व्यावहारिक रूपमा व्यवस्थापन गर्ने ? अर्को चुनौती त्यहाँ देखापर्‍यो । यसलाई व्यवस्थापन गर्न कुनै न कुनै बिन्दु भेट्टाउनै पर्ने भयो, तर के ? विधान छैन, वैदेशिक नियमावलीले यसबारे बोलेको छैन । अध्यक्षसँग केही समय यसबारे छलफल गरेपछि एक प्रकारको फेडेरालिजम अपनाउनु पर्ने अवस्था आयो । र, हरेक मुलुकलाई त्यहाँका पत्रकारको संख्याको आधारमा प्रतिनिधि तोक्न अनुरोध गर्ने निधो गर्‍यौँ । यसका निम्ति कम्तीमा दुईजना प्रतिनिधि र यदि चारभन्दा बढी संख्या भएमा हरेक चारजनाको एकजना तोक्न लगाउने र यसरी तोकिएका प्रतिनिधिमध्येबाट उम्मेदवारी लिने निधो भयो । मैले अध्यक्षको यही निर्देशनलाई नेपाल पत्रकार महासंघ युरोप शाखा कुनै राजनीतिक पार्टीको कब्जाबाट जोगाएर पत्रकारबीच राख्ने अस्त्रका रूपमा प्रयोग गर्नुपर्ने देखे । तर, त्यो कति सम्भव भयो ? बुुद्धिजीवी पत्रकार साथीहरूसँग उत्तर होला ।
मुलुकमा एकपछि अर्को समस्या थपिँदै गएको अवस्थामा मुलुकलाई कसरी निकास दिने भन्ने चिन्तन गर्नुको बदला नेपाल पत्रकार महासंघ युरोप शाखालाई कब्जा गर्ने चासो लागेछ नेपाली कांग्रेसलाई । यो हामी नेपालीहरूका लागि विडम्बना हो । अधिवेशन सम्पन्न भयो । बेल्जियमका महेश थापा अध्यक्ष पदमा चुनिए । उनको काँधमा युरोपका पत्रकारहरूलाई नेतृत्व दिने जिम्मेवारी आइपरेको छ । बेलजियमकै एक मित्रले महेशजीलाई चिठ्ठा परेको टिप्पणी गर्दै भने– ‘अब सायद महेशजी पत्रकारिताप्रति गम्भीर बन्लान्, पत्रकारिताको मान र मर्यादाभित्र रहेर कर्तव्यनिष्ठ हुनेछन् ।’ मेरो पनि यही शुभकामना उनलाई ।

प्रतिक्रिया