डिएसपीका घरमा जवान अर्दली

काभ्रे, २६ भदौ । नेपाल प्रहरीका अधिकृतको घरमा अर्दली राख्न नपाउने व्यवस्था भए पनि केही अधिकृतले पहुँचका आधारमा अर्दली राखिरहेको तथ्य सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी सुरेन्द्र मैनालीले घरको काम गर्न कार्यालयको काममा खटिएका प्रहरी जवानलाई पालैपालो राख्ने गरेको खुलासा भएको छ । डिएसपीको दरबन्दी रहेको काभ्रेमा सोमबारबाट एसपी आएलगत्तै डिएसपी मैनाली काज सरुवामा हनुमान ढोकाको अपराध अनुसन्धानमा सरुवा भएका छन् । उनी सरुवा भए पनि उनको घरमा काम गर्ने प्रहरी जवान कृष्णबहादुर कार्की अझै जिल्ला फर्किएका छैनन् ।
यसअघि डिएसपी मैनालीले प्रहरी जवान नवीन घिमिरेलाई काममा राखेका थिए । उनी लगत्तै प्रहरी जवान बुद्धिबहादुर थापालाई काममा राख्दाराख्दै बिरामी भएपछि २० दिनका लागि घर बिदा दिएर प्रहरी जवान कृष्णबहादुर कार्कीलाई राखेका हुन् । मैनालीको घरमा कार्कीमात्रै होइनन्, पत्नीका लागि सवारीचालक प्रहरी जवान राजेन्द्र बानियाँलाई राखेका छन् । डिएसपी मैनाली धुलिखेलमा कार्यरत रहेको समयमा तत्कालीन लेखापाल सई हरि राईकी पत्नी उर्मिला श्रेष्ठले कहिल्यै कार्यालय जानुपरेन । सहकर्मी प्रहरी जवान बिरामी हुँदासमेत बिदा पाउन सकेनन् । राई अहिले कार्यदलमा सरुवा भएका छन् ।
वाग्मती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी पशुपति उपाध्यायले कुनै पनि प्रहरी अधिकृतले घरमा काम गराउन प्रहरी राख्न नपाउने जानकारी दिए । ‘विभाग वा संगठनको निर्देशनविपरीत कसैले राखेको पाइए अनुसन्धान गरी कारबाही गर्छौँ,’ उपाध्यायले भने ।
आफ्नो कार्यकालमा विवादित घटना धेरै भएपछि डिएसपी मैनालीले दसैँसम्म बस्ने योजनामा १९ साउनमा कार्यालयको अफिस कोठामा ग्रहशान्ति तथा रुद्री पाठ गरेका थिए । उनले गरेको भाकल पूरा नहुँदै जिल्लामा एसपी आएपछि उनका सबै सपना उडेका हुन् । डिएसपी मैनालीले कार्यालयको बा १ झ ७४२४ नम्बरको गाडी बिग्रिएको भन्दै एक लाख ८७ हजार रुपियाँ खर्च गरे पनि केही दिन चलेर बन्द हुने अवस्थामा पुगेको छ । नमोबुद्ध इन्जिनियरिङमा मर्मत गरेको एक महिनामै पुरानै समस्या आएपछि जिल्ला प्रहरी कार्यालयभित्र भ्रष्टाचारको गन्ध पनि फैलिएको छ ।
जिल्लामा कार्यरत रहँदा डिएसपी मैनालीले विभिन्न मुद्दामार्फत रकम असुल्ने गरेका थिए । मंगलटारका इन्स्पेक्टर सुवास खड्काले सेतो चन्दनसहित पक्राउ गरेर ल्याएका व्यक्तिको मुद्दा कमजोर बनाई व्यापारीसँग ६ लाख लिएका थिए । उही प्रकृतिको चन्दनको मुद्दामा प्रहरीजवानद्वय अझै मुद्दामा छन् । तर, कारोबार गर्ने व्यापारी छुटिसकेका छन् । मंगलटारबाटै जिल्लामा पठाइएको लुटपाटको मुद्दामा समेत डिएसपी मैनालीले ८० हजार रुपियाँमा मिलाएका थिए । उपत्यकाको नजिक दुई राजमार्गको केन्द्र काभ्रे जिल्ला प्रमुखका लागि आर्कषक जिल्ला मानिँदै आएको छ । प्रहरीका आइजी परिवर्तन हुने र चाडवाड नजिकिँदै गरेको समयमा तस्कर र व्यापारीले अरनिको राजमार्ग हुँदै चीनसम्म पुर्‍याउन लागेको रक्तचन्दनको सहज प्रवेशका लागि १५ दिन अगाडिमात्रै साँगा, खावा, पाँचखाल र दोलालघाट प्रहरी चौकीका इन्चार्जहरू मैनालीले परिवर्तन गरेका थिए । एसपी आएर सरुवा हुनुपरेपछि मैनाली बिलखबन्दमा परेका छन् ।
डिएसपी मैनालीले निवासको रासन खर्चमा घरको समेत जोडेर मासिक २५ हजार भुक्तानी लिने गरेका थिए । आफू अनुकूलका लेखापाल राईको सामीप्यमा उनले अन्य कर्मचारीको रासन, दैनिक प्रशासनिक भत्ता, अनुदान, सरुवा भ्रमण खर्च, विशेष शीर्षकको खर्च र बनेपा, पनौती, धुलिखेलका सहरमा भएको जुवाखालको मासिक रकम मैनालीले बुझ्ने गरेका थिए । राजनीतिक रूपमा समेत दोलखाको तत्कालीन माओवादी सभासद् देवी खड्कामार्फत कृष्णबहादुर महरालाई रिझाएर काभ्रे आएका मैनालीले काज सरुवामा धादिङ वा आर्कषक जिल्ला सिन्धुपाल्चोक मागेका थिए । उनै महरामार्फत मुख्य सचिव लीलामणि पौड्यालको विशेष सहयोगमा मैनाली हनुमान ढोकाको अपराध अनुसन्धान विभागमा सरुवा भएका हुन् ।
मैनालीलाई कार्यालयमा भएका टेलिफोन लाइन इन्स्पेक्टरद्वयलाई प्रयोग गर्न नदिएपछि उनीहरू रुष्ट थिए । प्रहरीको सूचना अधिकृतलाई समेत कार्यालयको टेलिफोन प्रयोग गर्न नदिएपछि प्रहरीभित्रको सूचना पहुँचवालाले मात्रै प्राप्त गर्दै आएका थिए । प्रशासनमा रहेका जयराम दुलालमार्फत तल्लो तहका प्रहरीको सरुवा गरिरहँदा इन्स्पेक्टरको समेत राय लिने गरेका थिएनन् । बिदा हुने क्रममा मैनालीले पत्रकारलाई सहयोग गरेकोमा धुलिखेलको एक रिसोर्टमा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया