अप्रेसन ब्ल्याकका नाममा सिडिओको आतंक

हेटौंडा, २६ भदौ । मकवानपुरका सिडिओको राजमार्गमोह बढेको छ । नेपाल सद्भावना पार्टीनेतृ सरिता गिरीनिकट मानिने सिडिओ कृष्णहरि पुष्कर कर्ण अहिले अधिकांश समय जिल्ला क्षेत्रभित्र परेको राजमार्गमा ‘अप्रेसन ब्ल्याक’ मा रहने गरेका छन् भने उनको व्यवहारले उद्योगी, व्यापारी मात्र होइनन्, प्रहरी अधिकृत पनि अप्ठयारोमा परेका छन् ।

जिल्लाको अधिकांश क्षेत्र राजमार्गमा पर्ने भएकोले चाडबाड नजिकिँदै जाँदा हुने आपराधिक क्रियाकलाप र कालोबजारीकरण रोक्ने बहानामा पुष्कर राजमार्गमोहमा परेका स्थानीय व्यवसायीको भनाइ छ । पछिल्लो समय एक सरकारी कार्यालयले सिल गरेर पठाएको सामान पुन: चेकजाँचका लागि फर्काएपछि उनको चर्चा चुलिँदै गएको हो । जिल्लामा अनैतिक ढंगले राजस्व संकलनका लागि मुख्य केन्द्र मानिएको रातोमाटे चेकपोस्टमा बस्न मन पराउने पुष्करले भन्सारले सिल गरेर पठाएको सामान भन्सारमा पुन: निरीक्षणका लागि पठाएपछि आर्थिक चलखेलमा लागेको संकेत मिलेको छ ।
वीरगन्ज भन्सारमा हुने आर्थिक चलखेलको हिस्साको केही प्रतिशत आफ्नो भागमा पर्नुपर्ने भन्दै राजमार्गमोह बढाउँदै व्यवसायीलाई अनावश्यक दु:ख दिने काममा लागेको व्यापारीको आरोप छ । जिल्लाको प्रमुखको हिसाबले बजारमा भएको कालोबजारी नियन्त्रणमा लाग्नुपर्ने वा मातहतका निकायलाई निर्देशन दिनुपर्ने ३५ वर्षीय सिडिओ पुष्करले आफू मातहतकालाई पनि राजमार्ग र भित्री सडकमा परिचालन गरेका छन् । एक यातायात व्यवसायीका अनुसार पहिले छलफलका क्रममा सिडिओको कुरा राम्रो लागे पनि पछिल्लो समय नियतमा खोट देखिन थालेको छ ।
जिल्लामा सञ्चालित अनुगमनलाई ‘अप्रेसन ब्ल्याक’ को नाम दिएर केही सुरक्षा अंगको सहयोगमा एकल छापा हान्ने कार्यको स्थानीय व्यवसायीले विरोध गरेका छन् । केही साताअघि थानाभर्‍याङको एक होटलमा राति पुगेर सिडिओले खाना खाने बहानामा बिल काट्न लगाई भान्सा निरीक्षण गरेका थिए । होटलवालालाई एक रात प्रहरी नियन्त्रणमा राखेपछि उनको विरोध सुरु भएको हो । राति हिँड्ने सञ्चारकर्मी कामबाट फर्किएको अवस्थामा ‘को हो त्यो पेल्दे’ भनी आफू हिँडेको गाडीले पेलिदिने जस्ता काममा सिडिओ पुष्कर अग्रसर देखिएका छन् ।
‘अप्रेसन ब्ल्याक’ का नामले थालिएको अनुगमनको क्रममा राजमार्गमा गुड्ने गाडी, मोटसाइकलमा हेल्मेट नलगाउने चालक, होटलको बिलमा रकम उल्लेख नगर्ने सञ्चालक, दर्ता नगर्ने होटल र बजार क्षेत्रमा रहेका पसलको अनुगमनलाई आफू स्वयम् उपस्थित भएर अनुगमन गर्ने क्रमसँगै उनको सडकमोहलाई जिल्लावासीले चासो दिएका छन् । यसरी राति एक्लै गएर छापा मार्दा स्थानीयको कुटाइमा पर्ने डर रहेको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार आफू मातहतकालाई निर्देशन दिने वा आफू जाँदा सँगै सुरक्षाटोलीलाई खबर गर्नुपर्नेमा ‘झोडी’ स्वभाव प्रस्तुत गर्ने गरेको ती अधिकृतले बताए ।
सरकारले कालाबजारीलाई रोक्नका लागि निर्देशन गरेको भन्दै राजमार्गमा गुडेका सवारीलाई दु:ख दिने नियतले व्यवसायी मारमा परेको बताइएको छ । पछिल्लो समय चाडबाड नजिकिँदै जाँदा बजारमा कालोबजारीकरण भएकोले अनुगमन थालिएको भन्दै रात्रि समयमा एक्लै गस्तीमा नहिँडेको सिडिओ पुष्करले बताए । उनले आफू चढ्ने गाडीमा आफू र आफ्ना सुरक्षाकर्मीलाई लिएर अनुगमनमा हिँड्ने गरेको बताए । गोप्यरूपमा अनुगमनमा नगई सकारात्मक काम गर्नेको विरोधी बढी हुने उनले प्रतिक्रिया दिए ।

प्रतिक्रिया