भाइरलबाट ६ को मृत्यु

हेटौँडा, २६ भदौ । मकवानपुर र इलाममा भाइरलको प्रकोपबाट ६ जनाको मृत्यु भएको छ । उत्तरी मकवानपुरको दुई गाविसमा भाइरल ज्वरोको प्रकोप देखिएको हो । विकट गाविस आग्रा, गोगने, डाँडाखर्क तथा हेटौंडा नगरपालिका क्षेत्रमा भाइरलको प्रकोप देखिएको छ ।

प्रकोपका कारण जिल्लामा एक महिनामा चार जनाको ज्यान गएको छ भने दैनिक दुई सयभन्दा बढी बिरामी हेटौंडा अस्पतालमा उपचारका लागि आउने गरेका छन् । दामन, आग्रा र गोगने गाविसका चार जनाको ज्वरोका कारण ज्यान गएको हो । प्रकोपबाट आग्रा– ७ का दस वर्षीय मिलन सुवेदी, गोगने–३ कटहरेकी सात वर्षीया संगीता वाइबा, दामन–८ का दुई वर्षीय युवराज रुम्बा र विपिन पाख्रिनको मृत्यु भएको हो ।
मकवानपुरसँग सीमा जोडिएको धादिङका किरानचोक गाविसमा पनि भाइरल ज्वरोको प्रकोप रहेको स्थानीयले जानकारी दिए । गाउँमा उचित उपचार हुन नसक्दा उनीहरू मृत्युको मुखमा पुग्ने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको टोली घटनास्थलको अनुगमनका लागि पुगे पनि अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, इलाममा भाइरल ज्वरोका कारण दुई नाबालकको ज्यान गएको छ । एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण दानाबारीका डेढ महिनाकी डिल्लीमाया कार्कीको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा ज्यान गएको हो । तीन दिनदेखि ज्वरोका कारण बिरामी परेपछि दानाबारी हेल्थपोस्ट, स्थानीय मेडिकल, ओमसाई अस्पताल भद्रपुर हुँदै न्युरो अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो । त्यसैगरी, भाइरलबाट गजुरमुखी–२ का ११ वर्षीय लाछिहाङ लिम्बूको ज्यान गएको छ । सदरमुकामस्थित समता शिक्षा निकेतनमा कक्षा–२ मा अध्ययनरत लिम्बूको उपचारका क्रममा धरानस्थित घोपा क्याम्पमा ज्यान गएको हो ।
इलाममा भाइरल प्रकोपकै रूपमा फैलिएको छ । जिल्लाको प्राय: सबै क्षेत्रमा भाइरलबाट बिरामी परेका छन् । इलाम नगरपालिकासहित कन्याम, फिक्कल, दानाबारी, चुलाचुली, बरबोटे, सुलुबुङ, गजुरमुखी, इभाङ, धुसेनीलगायत गाविसमा ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेको स्थानीयले बताए ।

प्रतिक्रिया