नयाँ महानिरीक्षकमा पुनः कुरा मिलेन

काठमाडौं, २५ भदौं । सत्तारुढ दलहरुका वीच नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्तिलाई लिएर पुनः विवाद उत्पन्न भएको छ । विवाद भए पछि सो विषयमा कुनै पनि निर्णय भएन ।
मन्त्रिपरिषदको आज बसेको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री विजय गच्छेदारवीच महानिरीक्षक नियुक्तिमा विवाद भएको स्रोतले जनाएको छ । गच्छेदारले आज पनि कुवेरसिंह राना भन्दा कनिष्ठ भीष्म प्रसाईंलाई महानिरीक्षक बनाउन अडान राखेका थिए ।
यद्यपी प्रधानमन्त्रीले सो विषयमा कुनै असहमति जनाएको स्रोतको भनाई छ । यस विषयमा सत्तारुढ दलहरुले पुनः छलफल गरेर टुङगो लगाउने छन् ।
पछिल्लो पटक बसेको एमाओवादी र मधेसी मोर्चाको बैठकले आज नयाँ महानिरीक्षक नियुक्ति गर्ने सहमति गरेका थिए । सत्तारुढ दलहरुका आआफ्नै अडान रहेपछि सो विषयले ठोस निर्णय पाउन नसकेको हो ।
गच्छेदार पहिलो वरीयताका रानालाई महानिरीक्षक नबनाउने पक्षमा छन् । उनले दोस्रो र तेस्रो वरीयताका प्रसाई र नवराज ढकाललाई महानिरीक्षक बनाउन लागेका छन् । प्रधानमन्त्री भने पहिलो वरीयताका रानालाई नै महानिरीक्षक बनाउने अडानमा छन् ।
मन्त्रिपरिषदले गणतन्त्रवादी नेताका रुपमा परिचित रामराजाप्रसाद सिंहको उपचार सरकारले व्यहोर्ने निर्णय गरेको छ । विरामी भएका सिंहको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।
सरकारले संवैधानिक निकाय सम्बन्धी केही अध्यादेश जारी गर्न निर्णय पनि गरेको छ । अध्यादेश जारी गर्न राष्ट्रपतिको कार्यालय पठाउने निर्णय भएको एक मन्त्रीले जनाए ।

प्रतिक्रिया