बिदेसिएका महिलाको पीडा बढ्दो

काठमाडौं, २५ भदौ । काभ्रेको जैसीथोक गाविस–४ घर भई काठमाडौंमा घरेलु कामदारका रूपमा रहेकी २० वर्षीय महिला एक दलालको फन्दामा परिन् । विदेशमा गए राम्रो पैसा कमाइ हुन्छ भनेपछि उनी फकिइन् । घरका आमाबुबालाई समेत कुवेत उड्ने दिन मात्र भनेकी उनी करिब डेढ वर्षपछि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र अवस्थामा भेटिइन् । पूर्वतिरको एकजनालाई दाइ बनाएर उसद्वारा नै बेचिएकी उनले गएको १० महिनासम्म परिवारलाई कुनै सम्पर्क नगरेपछि परिवारमा ठूलो पीडा थपिएको थियो । १० महिनामा एकपटक सम्पर्क गरेकी र त्यसपछि १६ महिना मात्र सम्पर्कमा आएकी उनले बारम्बार आफूलाई साहुले दैनिकजसो कुटपिट गर्ने गरेको बताउने गरेकी थिइन् ।

त्यसको करिब तीन महिनापछि हड्डी र छाला मात्र भएको दयनीय अवस्थामा उनलाई परिवारले विमानस्थलमा भेटेका थिए । उनको परिवारका अनुसार घरेलु कामदारका रूपमा गएकी उनलाई दलालले दुई लाखमा बेचेको र साहुसँग पैसा माग्दा दुई लाखमा किनेको भन्दै बारम्बार कुट्ने, खान नदिने र बिरामी हुँदासमेत औषधि नदिने गरेको उनले बताइन् । दुई लाखमा बेचिएका उनी बिरामी भएर मर्ने अवस्थामा पुगेपछि हवाईजहाज चढाएर नेपाल पठाएको र एयरपोर्टमा उनका दाजुले आफ्नी बहिनीको आशंकाले हेर्दा उनलाई पत्ता लगाएका हुन् ।
छोरीले विदेश पुगेर पैसा कमाएर ल्याउँछे भन्ने आशामा रहेको परिवार उल्टो दयनीय अवस्थामा छोरी फर्केपछि उनको परिवारलाई उपचारका लागिसमेत आर्थिक समस्या छ । त्यस्तै जैसीथोक गाविस–१ कै २८ वर्षीय रेणुका आले मगर ६ वर्षअघि घरेलु कामदारका रूपमा लेबनान पुगेकी थिइन् । बारम्बार साहुनीबाट कुटपिट र अन्य घरेलु हिंसाको सिकार बन्दै आएकी उनले ६ वर्षसम्म तलब पनि पाइनन् । तलब मागेमा साहुनीको कुटाइ खाएर पीडित भएपछि उनी र साहुनीबीच झगडा नै पर्‍यो । घरपरिवारलाई उनले आफूले कुटाइ खाएको पीडा सुनाइनन् । तर, केहीपछि उनकै साहुनीले एक महिनाभित्र तेरो छोरीको लास आउँछ भनेपछि परिवारमा ठूलो पीडा थपियो । गत १४ भदौमा उनको लास नै आइपुग्यो । पीडामा परेको उनको परिवारलाई क्षतिपूर्ति पाइन्छ कि पाइन्न भन्नेसमेत थाहा छैन । रोजगारको सिलसिलामा लेबनान पुगेकी काभ्रेकै खार्पाचोक गाविस–९ की रेणुका जर्घा मगरले गत १५ भदौमा आत्महत्या गरिन् । घरेलु कामदारक रूपमा गएकी उनले असह्य पीडापछि आत्महत्या गरेकी थिइन् । मेच्छे गाविस–५ की २१ वर्षीय अन्जली थिङलाई साहुनीले घरबाट निकालेपछि हालै उनी कतारस्थित नियोगको शरणमा आइपुगेकी छिन् । घरेलु कामदारक रूपमा गएकी उनलाई बारम्बार कुटपिट गर्ने गरेकामा घरबाट निकालिदिएपछि उनी राजदूतावासको शरणमा आइपुगेकी हुन् । बारम्बार कुटपिट गर्ने साहुनीले गत १३ भदौमा घरबाट राति निकालिदिएपछि उनी रातभर घरबाहिर बसेर भदौ १४ गते नियोग पुगेकी थिइन् ।
यी त केही उदाहरण मात्र हुन् । पछिल्लो समयमा काभ्रेबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ भने पीडित भएर फर्कने, अलपत्र पर्ने र वैदेशिक रोजगारीका क्रममा बेचिने क्रम पनि बढ्दो नै छ । जिल्ला प्रहरी कार्यालयका साथै मानव ओसारपसार तथा बेचबिखनविरुद्ध काभ्रेका सक्रिय संघ/संस्थामा आफन्त र आफू पीडित भएको उजुरी लिएर आउनेको संख्या पनि बढेको छ । ‘वैदेशिक रोजगारीका क्रममा पीडित हुने र त्यसको उजुरी लिएर आउनेको संख्या धेरै बढेको छ,’ मानव बेचबिखन तथा ओसारपसारविरुद्ध र सुरक्षित बसाइँसराइ कार्यक्रमकी सहजकर्ता गंगा दोङले भनिन् । उनका अनुसार वैदेशिक रोजगारी बेचबिखनको सजिलो माध्यम बनेको छ । दोहामा रहेका पत्रकार प्रेम स्याङतानका अनुसार अधिकांश घरेलु कामदारका रूपमा गएका महिला हिंसापीडित छन् । अधिकांशले तलब नपाउने, एउटा कामका लागि गएकामा अर्को काम गर्न बाध्य हुनुपर्ने, साहुबाट कुटपिट, यौन शोषणलगायत सहनुपर्ने बाध्यता छ ।
‘अहिलेसम्म प्रहरीमा एउटा उजुरी पनि छैन, कानुनी उपचारमा आउने छन् तर प्रहरीले घुमाएर सार्वजनिक वा अन्य मुद्दा लगाइदिन्छ,’ अधिवक्ता प्रेमकुमारी पौडेल भन्छिन् । जिल्ला प्रहरी प्रमुख सुरेन्द्र मैनाली भने आफूकहाँ उजुरी आए तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउने गरेको बताउँछन् । ‘प्रहरीले मुद्दा चलाउँदैन भन्ने आरोप मात्र हो, हामीले आएकालाई कारबाही पक्रिया अघि बढाएका छौँ,’ उनी भन्छन् ।
एकिन तथ्यांक नभए पनि काभ्रेबाट मात्र वैदेशिक रोजगारका लागि पाँच हजारभन्दा बढी महिला कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसियालगायत देशमा रोजगारीका लागि पुगेका छन् । आर्थिक अभाव, रोजगारीको कमी, विदेशमा गए धेरै कमाइ हुन्छ भन्ने लहैलहैपनाजस्ता कारणले पछिल्लो समयमा राहदानी बनाउनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार ०६८ साल कार्तिकयता मात्र ६ हजारले राहदानी बनाएका छन् भने तीमध्ये दुई हजार महिला छन् ।
‘अन्य जिल्लाका प्रशासन कार्यालयमा परामर्श कक्ष देखेको थिएँ, यहाँ छैन,’ मानव बेचबिखन तथा ओसारपसारविरुद्ध समितिका सदस्यसचिव एवं महिला विकास प्रमुख माया लोहनी भन्छिन्, ‘विदेशिएका महिलाले पीडा नपाऊन् भनेर परामर्श दिनु आवश्यक छ, यसका लागि परामर्श कक्ष चाहिन्छ, अहिले समिति आफैँले जनचेतनाभन्दा पनि संघ/संस्थालाई समन्वय गरेर काम गरिरहेको छ ।’

प्रतिक्रिया