फितलो पेसागत मूल्यांकन

मान्छेलाई प्रशंसा गरेको मन पर्छ । आहा तपाईंले कति ठूलो गुन लगाउनुभयो, वा कति राम्रो कविता लेख्नुभयो वा कति राम्रो गीत गाउनुभयो, वा तपाईंले कति राम्ररी सबैलाई भुँडी मिच्ने गरी हँसाउनुभयो वा तपाईंले गजबले गोल लगाउनुभयो भनेर हामीले कसैको प्रशंशा गर्‍यौँ भने जोकोही पनि खुसी हुन्छन् । अर्को कुरा कसैको प्रशंसा गर्नलाई खासै पैसा खर्च गर्नु पनि पर्दैन । यो नि:शुल्क नै गर्न सकिन्छ । मान्छेले प्रशंसा पायो भने झन्डै झन्डै जे पनि गर्न तयार हुन्छ भन्दा फरक पर्दैन । मान्छे ज्यानै जोखिममा पारेर पनि कहालीलाग्दा हिमाल चढ्छ, भिराला ठाउँका बेगिला नदीमा कायाकिङ गर्छ, जंगली हात्तीमा चढ्छ, अनकण्टारका भिरमा बन्जी जम्प गर्छ । अर्थात् मान्छेले प्रशंसा प्राप्तिका लागि के मात्र गर्दैन र ? उसले आफूमा भएभरको उच्चतम क्षमता निकाल्छ । प्रशंसाको सन्तुलित प्रयोगले हामीले हाम्रो समाजमा रहेका विभिन्न पेसाका मान्छेहरूलाई स्वस्थ प्रतिस्पर्धा गराएर सबैसँग भएको सबैभन्दा राम्रो गुणलाई निकाल्न सकिन्छ । तर, स्वस्थ प्रतिस्पर्धाका लागि समाजमा सबैले पत्याउने खालका रेफ्री वा मूल्यांकनकर्ताको जरुरी पर्छ । स्वस्थ प्रतिस्पर्धालाई व्यवस्थित गराउनु भनेको चानचुने कुरा होइन ।
सरकारी कर्मचारीको कार्यसम्पादन मूल्यांकन होस् वा कवि, कथाकार, गायक, संगीतकार वा कुनै साहित्यकारको मूल्यांकन होस्, विभिन्न खेलका खेलाडीहरूको मूल्यांकन होस् हाम्रा जनप्रतिनिधिको मूल्यांकन होस, कुनै पनि पेसामा लागेका मान्छेहरूको उचित मूल्यांकन गर्न केही आधारहरू आवश्यक पर्छन् । मूल्यांकनका आधारका साथै मूल्यांकन गर्ने मान्छेहरूको चयन पनि विवादित हुनु हँुदैन । कसैले आफ्नो पेसामा उत्कृष्ट काम गरेको छ भने त्यो व्यक्तिले पुरस्कार, स्याबासी, प्रशंसा वा तक्मा पाउनु राम्रो कुरा हो । तर, मूल्यांकनका आधारहरू फितला, अपारदर्शी र हचुवाका भरका भए भने पुरस्कारको खासै महत्त्व हुँदैन । राम्रो गर्ने मान्छेलाई समाजले मूल्य दिन जानेन भने त्यो समाजले ठीक ठाउँमा ठीक मान्छेलाई लगाउन सक्दैन र मानवीय स्रोतको सही सदुपयोग हुन सक्दैन । हाम्रो समाजमा पुरस्कारलाई बहिष्कार गर्ने लामै परम्परा बसेको छ । साहित्यकारहरू, संगीतकारहरू, खेलाडीहरू, सरकारी कर्मचारीहरू आदिले पदक, पुरस्कार बहिष्कार गरेका घटना नियमितै जसो समाचार बन्ने कुराले के संकेत गर्छ भने हामीकहाँ सबैलाई मान्य हुने गरी निष्पक्ष मूल्यांकनको प्रक्रियामा खोटोपना छ । मूल्यांकन गर्दा पेसागत निपुणतालाई भन्दा व्यक्तिगत चिनजान वा पार्टीगत साँठगाँठतिरबाट गरिन्छ । पेसागत निपुणताको मूल्यांकनविना स्वस्थ प्रतिस्पर्धा हुँदैन र स्वस्थ प्रतिस्पर्धाविना हाम्रो समाज अगाडि बढ्न सक्दैन ।
विकसित देशहरूमा सरकारी कर्मचारीको मूल्यांकन कर्मचारीको हाकिम र आफू मिलेर गर्छन् । यसमा दुवैलाई मान्य हुने गरी कामको लक्ष्य तोकिन्छ (प्राय: वर्षको सुरुमा) र वर्षको अन्त्यमा यी लक्षमा कर्मचारीले आफ्नो मूल्यांकन आफैँ गरेर उनको हाकिमकहाँ पठाउँछन् । हाकिमले उनको मूल्यांकन कर्मचारीले गरेका भन्दा राम्रो वा नराम्रो गरेर माथिल्लो निकायमा पठाउन सक्छन् । लक्ष्यको नजिक पुगेको मात्राको आधारमा उनको मूल्यांकन हुन्छ । यसमा प्राय: पाँच प्रकारका दक्षताका श्रेणी निर्धारण गरेको हुन्छ– एकदमै दक्ष, पदलाई चाहिनेभन्दा दक्ष, पदलाई चाहिने जति नै दक्ष, पदलाई चाहिनेभन्दा कम दक्ष र अदक्ष । यदि हाकिमले गरेको मूल्यांकनमा चित्त नबुझे हाकिमका हाकमलाई उजुरी गर्न पाइन्छ । हाकिमका हाकिमले प्रमाणका आधारमा यसलाइ फेर्न पनि सक्छन् । तर, सामान्य अवस्थामा हाकिमले गरेको मूल्यांकनमा कर्मचारीहरू खुसी नै हुन्छन् । विश्वविद्यालयका प्रोफेसरको मूल्यांकन गर्दा मुख्यतया पाँचवटा आधारहरूमा गरिन्छ । पहिलो आधार पढाउने दक्षता, शोध अनुसन्धानबाट प्रकाशित कृतिको संख्या, प्रकाशित कृतिको गुणस्तर, सिर्जनात्मक कामहरू, र विद्यार्थीको मूल्यांकन । यी कुराहरूमा बार्गेनिङ खासै चल्दैन र करिब करिब प्रोफेसरलाई थाहा हुन्छ कि मैले यी कामहरू गरेँ भने मेरो बढुवा हुनेछ । प्राय: मूल्यांकन प्रोफेसरहरू मिलेर बनेको बोर्डले गर्छ ।
त्यस्तै कवि, कलाकारहरूको मूल्यांकन गर्दा प्राय:जसो आ–आफ्नै क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको बोर्डले कलाकारिताका क्षेत्रका आधारमा तयार पारेका आधारहरूमा गरिन्छ । सापले सापको खुट्टा देख्छ भनेजस्तै जो जुन कुरामा निपुण हुन्छन् त्यसैमा उनीहरूले अरूको मूल्यांकन गर्दछन् । कवि, कलाकारको क्षेत्र धेरै नै फराकिलो भएको हुनाले यो क्षेत्रमा प्रयोग हुने मूल्यांकनका आधारहरूलाई यहाँ राख्न त्यति व्यावहारिक छैन । तर, पनि मूल्यांकनकर्ताहरू को कुन पद र शक्तिमा छन् भन्ने भन्दा पनि पेसागत कार्यकुशलातामा नै भर पर्दछ । हामीकहाँ यी जुनजुन क्षेत्रमा मूल्यांकनका आधारहरू फितला छन् ती क्षेत्रमा विज्ञहरूको टास्कफोर्स बनाएर सबैलाई मान्य हुने खालका मूल्यांकनका आधारहरू तयार गर्न सकिन्छ । जबसम्म हामीले कसैको कामको राम्रोसँग मूल्यांकन गर्न सिक्दैनौँ तबसम्म हाम्रामा ठीक ठाउँमा ठीक मान्छेलाई लगाउन सक्दैनौँ र समाजमा भएको मानव श्रमसाधनको अधिकतम प्रयोग हुँदैन र अन्तत: हामीलाई नै घाटा हुन्छ ।

प्रतिक्रिया