शतप्रतिशत नतिजा निकाल्दै नेपाल फाइनलमा

काठमाडौं, २५ भदौ । नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) वल्र्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन–थ्रीमा प्रवेश गरेको छ । मलेसियामा जारी डिभिजन–फोरमा शीर्षस्थानमा रहँदै नेपालले उक्त यात्रा तय गरेको हो ।

यो जितसँगै नेपालले सन् २०१५ को आइसिसी एकदिवसीय विश्वकप खेल्ने सम्भावनालाई कायमै राखेको छ । नेपाल पहिलोपटक डिभिजन–फोरको उपाधि भिडन्तका लागि अमेरिकाविरुद्ध उत्रने भएको छ । राउन्ड रोबिन लिगको वर्षाले प्रभावित पाँचौँ तथा अन्तिम खेलमा प्रतियोगिताको एक मात्र अपराजित टोली नेपालले आइतबार डेनमार्कलाई डकवर्थ–लेविस आधारमा २५ रनले पराजित गर्‍यो । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ओपनर अनिल मण्डलको ११३ रनको शतकीय इनिङ मद्दतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २४० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । जवाफमा ३१ ओभरमा १५६ रनको ‘रिभाइज्ड’ विजयलक्ष्य पाएको डेनमार्कले ९ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो । पारस खड्काले चार डेनिस खेलाडीलाई पेभेलियनको बाटो देखाएका थिए ।
त्यसो त चौथो खेलमा अमेरिकालाई पराजित गरी नेपालले डिभिजन–थ्रीमा लगभग स्थान सुरक्षित गरिसकेको थियो । डेनमार्कविरुद्ध नेपालले उत्तिकै आकर्षक बलिङ र ब्याटिङ गर्‍यो । टस जिती पहिला ब्याटिङ गरेको नेपालले अन्तिम बलमा १०आँै विकेट गुमाउनुअघि २४० रन जोडेको थियो । नेपालका लागि अनिल मण्डलले शतकीय इनिङ खेले । उनले ११३ रन बनाए । त्यस्तै शरद भेषवाकरले २७, ज्ञानेन्द्र मल्ल २६ र वसन्त रेग्मीले २१ रनको योगदान गरे । अघिल्लो खेलमा शतकीय इनिङ खेलेका प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेलले यसपटक भने खाता खोल्न सकेनन् ।
२४१ रनको लक्ष्य पछयाएको डेनमार्क २५ ओभरमा ७७–३ को स्थिति हँुदा वर्षाले खेल प्रभावित भएपछि नयाँ लक्ष्यस्वरूप ३१ ओभरमा १५६ रन जोड्नुपर्ने चुनौती पाएको थियो । तर, डेनमार्कले निधारित ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र जोड्न सक्यो । पराजित टोलीले ३१आँै तथा अन्तिम ओभरमा पारस खड्काको बलमा ३ विकेट गुमाएको थियो । नेपालको तर्फबाट पारसले ४ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले समान २ विकेट लिए । प्रतियोगितामा वसन्तको विकेट संख्या १६ पुगेको छ जुन प्रतियोगिताकै सबैभन्दा बढी एकल विकेट संख्या हो ।
यसअघि अनिलले १२८ बलमा शतक पूरा गरे । अन्तर्राष्ट्रिय एकदिवसीय सिनियर क्रिकेटमा नेपालको तर्फबाट शतकीय इनिङ खेल्ने अनिल पाँचाँै खेलाडी हुन् । यसअघि राजु खड्का, शरद भेषवाकर, शक्ति गौचन र सुभाष खकुरेलले सिनियर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका थिए । खकुरेलले जारी प्रतियोगितामा अमेरिकाविरुद्ध ११५ रनको इनिङ खेलेका हुन् ।
चावलाको बलमा बोल्डआउट हुनुअघि अनिलले १३४ बलको सामना गरी ८ चौका र ४ छक्का प्रहार गरे । इनिङको दोस्रो बलमै खकुरेललाई गुमाएको नेपालका लागि अनिलले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४४ रनको साझेदारी गरे भने पारस खड्का ३ रनमै आउट भएपछि ५०–३ को स्थितिमा पुगेको नेपाललाई भेषवाकरसँग चौथो विकेटका लागि ९१ रनको साझेदारी गरी उद्धार गरेका थिए । आइतबार नै भएका अन्य खेलमा अमेरिकाले सिंगापुरलाई डकवर्थ–लेविस आधारमै पराजित गर्‍यो ।
६ टोलीबीच राउन्ड रोबिन आधारमा सञ्चालन भएको चालु प्रतियोगितामा नेपालले सबै पाँच खेलमा जित हात पार्‍यो । नेपालसँगै अमेरिका पनि डिभिजन–थ्रीमा पुगेको छ । ६ अंक जोडेको अमेरिकाले समान अंक भएका सिंगापुर र डेनमार्कलाई नेट रनरेटमा पछि पार्दै अघिल्लो डिभिजन यात्रासँगै नेपालसँग डिभिजन–फोरको उपाधि भिडन्त पनि पक्का गर्‍यो । फाइनल सोमबार हुनेछ ।
आइसिसी डिभिजन यात्रा
सन् २००७ मा आइसिसीले डिभिजन लिगको अवधारणा लागू गरेयता नेपाल पहिलोपटक डिभिजन–थ्रीमा पुगेको हो । सन् २०१३ मा बर्मुडामा हुने डिभिजन–थ्रीमा नेपाल र अमेरिकासँगै इटाली, बर्मुडा, ओमान र युगान्डा रहनेछन् । उक्त प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०१४ मा एक वर्षपछि हुने एकदिवसीय विश्वकपको छनोटमा प्रतिस्पर्धा गर्नेछन् । उक्त विश्वछनोटमा १० टोली रहनेछन् । सन् २०११ मा भएको डिभिजन–टुमा सोही डिभिजनमा कायम रहन सफल पपुआ न्युगिनी र हङकङ तथा हाल जारी आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप (डिभिजन–वन) मा रहेका ८ टोली नेदरल्यान्ड्स, अफगानिस्तान, आयरल्यान्ड, केन्या, क्यानडा, स्कटल्यान्ड, नामिबिया र युएईमध्ये ६ टोली पनि विश्वछनोटमा खेल्नेछन् जसमध्ये शीर्ष दुई टोलीले सन् २०१५ एकदिवसीय विश्वकप खेल्नेछन् । डबल लिग (होम एन्ड अवे) आधारमा सञ्चालन हुने वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष दुई टोलीले पनि विश्वकप यात्रा तय गर्नेछन् ।
सुरुआतमा छनोट खेलेर नेपाल पहिलोपटक सन् २००८ मा वल्र्ड क्रिकेट लिग डिभिजन–फाइभ खेलेको थियो । जर्सीमा भएको उक्त प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रहँदै घटुवा पनि भएन र बढुवा पनि भएन । सन् २०१० मा नेपालमै भएको डिभिजन–फाइभमा नेपाल विजेता बन्दै डिभिजन–फोरमा प्रवेश गरेको थियो तर सोही वर्ष इटालीमा भएको डिभिजन–फोरमा नेपाल तेस्रो स्थानमा रहँदै अघिल्लो डिभिजन प्रवेश गर्नबाट चुक्यो ।
आइसिसीले एसोसिएट र एफिलिएट सदस्यलाई ५० ओभरको खेलमा प्रवेश गराउन र एकदिवसीय विश्वकपमा प्रवेश गराउन डिभिजन लिगको अवधारणा ल्याएको हो । यसमा आठवटा डिभिजन छन् । डिभिजन–एट र वन (च्याम्पियनसिप) बाहेकका डिभिजनमा ६ टोली हुन्छन् । हरेक दुई वर्षमा हुने हरेक डिभिजनको प्रतियोगिता राउन्ड रोबिन आधारमा हुन्छ र शीर्ष दुई टिम उपाधिका लागि भिड्छन् । अंकतालिकामा सुरुका दुई टिम अघिल्लो डिभिजनमा प्रमोसन हुन्छन् भने पछिल्ला दुई टिम पछिल्लो डिभिजनमा घटुवा । बीचका दुई टोली भने सोही डिभिजनमा कायम रहन्छन् ।
सन् २०१५ को एकदिवसीय विश्वकपमा आइसिसीका १० पूर्णसदस्य (टेस्ट मान्यताप्राप्त) र ४ एसोसिएट तथा एफिलिएट सदस्य गरी कुल १४ टोली हुनेछन् ।

यसरी भयो नेपालको डिभिजन–थ्री यात्रा
पहिलो खेल
सिंगापुर–१११ (३९.५ ओभर), अमृत भट्टराई ९–०–२८–४, वसन्त रेग्मी–९.५–१–
३०–३, शक्ति गौचन–९–४–८–१
नेपाल–११२–५ (२४.५ ओभरं) प्रदीप ऐरी–अविजित ३४, शक्ति गौचन–अविजित–१८, ज्ञानेन्द्र मल्ल–१२
दोस्रो खेल
तान्जानिया ८२ (३१.४ ओभर), पारष खड्का–९–३–२४–४, बसन्त रेग्मी–६.४–२–१४–३, विनोद दास–७–३–१५–२
नेपाल ८३–२ (१९.४ओभर) ज्ञानेन्द्र मल्ल–२८, सुभाष खकुरेल–२०, पारष खड्का–१५
तेस्रो खेल
मलेसिया ६९ (३२.१ ओभर) शक्ति गौचन–१०–८–२–३, बसन्त रेग्मी–८.१–३–१२–३, अमृत भट्राई–६–१–१९–२
नेपाल ७१–० (१२.२ ओभर) अनिल मण्डल–४१, सुभाष खकुरेल–२४
चौथो खेल
नेपाल–२५८–८ (५० ओभर), सुभाष खकुरेल–११५, ज्ञानेन्द्र मल्ल–४६, पारस खड्का–४१, अनिल मण्डल–२०, प्रदीप ऐरी–१४
अमेरिका–२२६ (४८.२ ओभर), वसन्त रेग्मी–१०–१–३५–५, सञ्जम रेग्मी–१०–२–५०–२, शक्ति गौचन–८.२–१–४५–२
पाँचाँै खेल
नेपाल–२४० (५० ओभर) अनिल मण्डल–११३, शरद भेषवाकर–२७, ज्ञानेन्द्र मल्ल–२६, वसन्त रेग्मी–२१
डेनमार्क–१३०–९ (३१ ओभर), पारस खड्का–६–१–३४–४, वसन्त रेग्मी–६–०–२९–२, सञ्जम रेग्मी–६–०–२२–२

अंकतालिका
टिम खेल जित हार अंक नेट रनरेट
नेपाल ५ ५ ० १० २.२५१
अमेरिका ५ ३ २ ६ १.२४
सिंगापुर ५ ३ २ ६ ०.८५८
डेनमार्क ५ ३ २ ६ ०.५६२
मलेसिया ५ १ ४ २ –१.४९६
तान्जानिया ५ ० ५ ० –३.०४६

प्रतिक्रिया