बस खस्दा १३ को मृत्यु

बुटवल, २५ भदौ । गुल्मीको हर्दिनेटा गाविसमा आइतबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते

भएका छन् भने त्यसमध्ये सातको अवस्था गम्भीर छ ।
तम्घासबाट बिहान ५ बजे काठमाडौंका लागि छुटेको लु १ ख ५५८३ नम्बरको बस बिहान पौने ६ बजे हर्दिनेटा–६ स्यालगैरामा दुर्घटना भएको थियो । दुर्घटनामा १३ यात्रुको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँघुरो सडकमा मोटरसाइकललाई साइड दिने क्रममा बस भीरमा खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा जिल्ला हुलाक कार्यालयमा कार्यरत अर्खले–७ का ३५ वर्षीय टेमलाल पाण्डे तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत अर्घाखाँचीको भगवती–२ का ४० वर्षीय लालकुमार श्रेष्ठ छन् । त्यसैगरी, गुल्मीको वीरवास–८ का ५८ वर्षीय टेकबहादुर सोमरे, दरबार देवीस्थान–३ की ९० वर्षीया हरिकला अर्याल, तम्घास–१ का ३३ वर्षीय विष्णु पन्थी, तम्घास–३ की ३५ वर्षीया छमकला कुँवर, १९ वर्षीय नीरज कुँवर, पीपलधारा–७ की ३० वर्षीया लक्ष्मी खनाल र जैसीथोक गाविसका २१ वर्षीया लक्ष्मी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, दुर्घटनामा परी अर्घाखाँचीको मरेङ–५ का ५० वर्षीया मनबहादुर क्षेत्री र अर्घाखाँचीकै वाङ्ला–८ का ३० वर्षीया चन्दा भुसालको पनि मृत्यु भएको छ । प्रहरीका अनुसार दुबिचौर–९ का ३२ वर्षीया श्री थापा र अर्खले–७ का २२ वर्षीय राजन गौतमको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको छ ।
२७ घाइतेमध्ये १७ जनाको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा र बाँकीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सातको अवस्था गम्भीर छ । तीव्र गतिको बस विपरीत दिसाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा बस सडकबाट करिब सात सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । तम्घास बस काउन्टरबाट २५ यात्रु लिएर हिँडेको गाडीमा बाटोमा अन्य यात्री थपिँदै जाँदा ४० यात्रु हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी खटिएका थिए । शृंगा स्वास्थ्य चौकीमा पोस्टमार्टमपछि आइतबार नै
शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया