दबाबपछि मात्र प्रहरीले अभियुक्तविरुद्ध मुद्दा चलायो

विराटनगर, २५ भदौ । विद्यालय तोडफोड तथा विद्यार्थी कुटपिटमा संलग्न मोरङको महादेवाका ११ अभियुक्तविरुद्ध दबाबपछि मात्र प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

महादेवा–५ स्थित श्री माध्यमिक विद्यालय तोडफोड तथा विद्यालयका विद्यार्थी कुटपिटमा संलग्न महादेवा–३ का टुलुराम राजवंशीसहित ११ जनाविरुद्ध प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । महादेवा–१ का मनिकचन्द ताजपुरिया, वडा नम्बर ३ का जीवन ताजपुरिया, वडा नम्बर ४ का युवराज ताजपुरिया र कम्पुलाल ताजपुरिया, वडा नम्बर ५ का मुकेश ताजपुरिया, जगदीश ताजपुरिया र श्रीप्रसाद ताजपुरिया, वडा नम्बर ६ का विजय ताजपुरिया, वडा नम्बर ७ का सभापति ताजपुरिया र बुदिश ताज–पुरियाविरुद्ध मुद्दा दायर गरिएको छ । अभियुक्त सबै फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उक्त विद्यालयमा १८ भदौमा फोरम लोकतान्त्रिकका नेतासमेत रहेका टुलुराम राजवंशीको निर्देशनमा एक समूहले तोडफोड गरेको थियो । तोडफोडका क्रममा विद्यालयको कम्प्युटरलगायत भौतिक सामग्रीमा क्षति पुगेको प्राधानाध्यापक दीपकसिंह गनगाईंले बताए । समूहले विद्यालयभित्रै विद्यार्थीलाई कुटपिटसमेत गरेको थियो । तोडफोडको अघिल्लो दिनमात्र राजवंशीलगायतले प्रधानाध्यापक गनगाईंको राजीनामा माग्दै विद्यालयमा तालाबन्दी गरे पनि विद्यार्थीहरूले ताला फुटाएर पठनपाठन सुचारु गराएका थिए ।
तोडफोड तथा विद्यार्थीमाथि कुटपिट भइरहँदा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी घटनास्थलमै पुगे पनि मूकदर्शक बनेर बसेको दाबी विद्यार्थीहरूले गरेका छन् । उनीहरूले राजवंशी गृहमन्त्री विजयकुमार गच्छदारनिकट रहेकैले प्रहरीले नरोकेको र घटना भएको यतिका दिनसम्म कारबाही नगरेको आरोप लगाएका छन् । प्रधानाध्यापक गनगाईंले स्थानीयवासीको दबाबका कारण मात्र प्रहरीले अभियुक्तविरुद्ध बल्लतल्ल मुद्दा दायर गरेको बताए । उनले प्रहरीले किटानी जाहेरी दिँदासमेत राजवंशीलगायतलाई पक्राउ नगरी संरक्षण दिएको
आरोप लगाए ।
स्थानीयवासीको दबाबपछि प्रहरीले बल्ल घटना भएको सातौँ दिन जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको हो । स्थानीयवासीले प्रहरीले राज–वंशीलगायत समूहलाई मुद्दा दर्ता नगरी संरक्षण गरेको भन्दै शनिबार इलाका प्रहरी कार्यालय सिजुवा घेराउ गरेका थिए । उनीहरूले आइतबार मोरङको उर्लाबारी–रंगेली–विराटनगर सडकखण्ड बन्द गराएका थिए । महादेवाका बासिन्दाले इलाका प्रहरी कार्यालय सिजुवाले मुद्दा दर्ता गर्न नमानेको भन्दै बिहान ६ बजेदेखि ११ बजेसम्म सडक अवरुद्ध गराएका थिए । उनीहरूले राजघाट, डाइनिया, इटहरा, सिजुवा, झुर्किया, गोविन्दपुर र आमगाछीलगायत गाविसका भित्री सडकमा समेतमा यातायात चल्न दिएनन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल धमलाले भने अनुसन्धानका क्रममा रहेकाले मुद्दा दर्ता गर्न ढिलाइ भएको प्रतिक्रिया दिएका छन् । राजवंशीलगायतका विरुद्ध किटानी जाहेरी आए पनि घटनाको अनुसन्धान गर्दा समय बितेको उल्लेख गर्दै मुद्दा दर्ता नगर्न आफूलाई कसैले पनि दबाब नदिएको प्रष्ट पारे । उनले आफू आपसी समझदारीमा मुद्दा मिलाउने पक्षमा रहे पनि दुवै पक्षबीच कुरा नमिलेपछि मुद्दा दर्ता गरिएको जानकारी दिए ।

प्रतिक्रिया