‘सिरिया र इरानमाथिको प्रतिबन्धले रुसलाई घाटा’

मस्को : मध्यपूर्वी राष्ट्र सिरिया र इरानप्रति पश्चिमी राष्ट्रको नीतिको आलोचक रुसले दुवै देशमाथि लगाइएको प्रतिबन्धले रुसको व्यापार घटाएको आरोप लगाएको छ । सिरिया र इरानमाथि अमेरिका र युरोपेली संघले नाकाबन्दी लगाएको सन्दर्भ कोट्याउँदै रुसले यस्तो आरोप लगाएको हो ।
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले शनिबार यस्तो आरोप लगाउँदै सिरिया र इरानविरुद्ध अमेरिकाको एकतर्फी नाकाबन्दीले ‘हद पार’ गरिरहेको प्रतिक्रिया दिए । ‘अमेरिकाको एकतर्फी नाकाबन्दी अन्तरदेशीय स्वरूप हासिल गरेको छ । यसबाट रुसको व्यापारिक चासोमा खलल पुगेको छ,’ आफ्ना अमेरिकी समकक्षी हिलारी क्लिन्टनसँगको छलफलमा उनले भने । अमेरिकी प्रतिबन्धबाट रुसका बैंक नराम्ररी प्रभावित भएको तर्फ उनले क्लिन्टनको ध्यानाकर्षण गराए ।
सिरियामा राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै जारी विद्रोह गहिरिँदै गएपछि अमेरिकाले सिरियाली सत्तासँग जोडिएका करिब सयजनाविरुद्ध प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लागेका व्यक्तिसँग व्यापार गर्नबाट उसले अमेरिकी व्यापारिक प्रतिष्ठानलाई रोकसमेत लगाएको थियो ।
सिरियाली संकटमा रुसले राष्ट्रपति असदको पक्ष लिँदै आएको छ । सिरियामा सत्ता परिवर्तन गराउन अमेरिकासहित उसका क्षेत्रीय साझेदार राष्ट्र टर्की, कुबेत, साउदी अरब र इजरायलले सिरियाली विद्रोहीलाई हतियारलगायतका सहयोग उपलब्ध गराएको आरोप लागिरहँदा रुसले चीनसँग मिलेर असदको पक्ष लिँदै आएको छ । राष्ट्रसंघ सुरक्षापरिषद्बाट सिरियाविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव पारित गराउने अमेरिका तथा युरोपेली राष्ट्रको आकांक्षा पूरा हुन नदिन रुस सक्रियपूर्वक लागिरहेका बेला रुसी विदेशमन्त्री लाभ्रोभले क्लिन्टनसमक्ष असन्तुष्टि पोखेका हुन् । ‘सिरियामाथि प्रतिबन्ध लगाउँदैमा समस्या समाधान हुन्छजस्तो हामीलाई लाग्दैन । त्यसैले हामीले यसको विरोध गरिहेका छौँ,’ उनले भने ।
अमेरिकाले इरानका वित्तीय तथा पारमाणविक प्रतिष्ठानलाई लक्षित गरी विभिन्न नाकाबन्दी लगाइसकेको छ । अमेरिकी इसारामा युरोपेली संघसँग आबद्ध राष्ट्रले इरानबाट तेल आयात गर्न छाडिसकेको छ । साथै अमेरिकाले विश्वभरिका राष्ट्रलाई इरानबाट तेल आयात नगर्न दबाब दिइरहेको छ । इरानबाट ठूलो मात्रामा तेल आयात गर्ने राष्ट्र चीन, जापान र भारतले अमेरिकी दबाब महसुस गरिरहेका बेला रुसले अमेरिकी प्रतिबन्धले आफ्नो व्यापारमाथि खलल पुर्‍याएको आरोप लगाएको हो ।
इरान र सिरिया दुवैसँग रुसको ज्यादै राम्रो सम्बन्ध छ । शीतयुद्धताका रुसले सिरियालाई ‘मध्यपूर्वको बेस’ का रूपमा प्रयोग गरेको थियो । शीतयुद्धको समाप्तिपछि पनि सिरियासँगको सम्बन्धलाई रुसले प्राथमिकता दिँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया