‘प्रहरीले ४० हजार घुस लियो’

बाग्लुङ, २४ भदौ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका दुई प्रहरीले घुस लिएको रहस्य खुलेको छ । केही दिनअघि बाग्लुङ बजारको समुद्र होटलबाट एक जोडीलाई पक्राउ गरी छाड्ने क्रममा प्रहरीले ४० हजार घुस लिएको रहस्य खुलेको हो ।

तंग्राम–७ का रामु भनिने धनप्रसाद कँडेल र सोही गाविसकै एक युवतीलाई ‘अवैध यौन क्रियाकलाप’मा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । तत्काल जापान जान लागेकाले कँडेललाई छाडिदिन आग्रह गरिएपछि प्रहरीले ४० हजार घुस मागेको उनका आफन्त यमकान्त कँडेलले बताए । प्रहरी हवल्दार सुरेन्द्रबहादुर सिंह र जवान ढकबहादुर क्षत्रीले ४० हजार लिएको कँडेलले बताए ।
‘तत्काल जापान जान काठमाडौं जानुपर्ने थियो,’ उनले भने, प्रहरीले सार्वजनिक मुद्दा चलाउने चेतावनी दिएपछि घुस दिन बाध्य भयौँ ।’
त्यस समयमा डिएसपी कृष्ण सिवाकोटी बिदामा राजधानी गएकाले निमित्त प्रमुखको जिम्मेवारी शिवराज ढुंगानाले सम्हालेका थिए । ‘उक्त रकम सिंह र क्षत्रीले मात्र राख्ने सम्भावना कम देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘त्यो रकम निमित्त प्रमुखसँग पुगेको छ कि छैन भन्नेबारे अनुसन्धान जारी छ ।’ ढुंगानाले भने घुस लिएको आरोप गलत भएको दाबी गरेका छन् ।
डिएसपी सिवाकोटीले घुसको परिमाण धेरै रहेको उल्लेख गर्दै भने, ‘यसबारे तत्काल अनुसन्धान थाल्छु । घुस लिएको पुष्टि भए नियमानुसार कारबाही गर्छु ।’ कँडेल परिवारका अनुसार ती युवतीलाई पनि नबिल बैंकमा खाता खोली ५० हजार रुपियाँ दिइएको छ । स्वास्थ्य परीक्षण गर्दा यौनसम्पर्क नभएको पुष्टि भए पनि महिला अधिकारकर्मीको दबाबमा युवतीलाई ५० हजार दिएको उनीहरूको दाबी छ ।
महिला विकास अधिकृत लक्ष्मी जिसी कार्कीले यौन क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेपछि त्यत्तिकै छाड्न हुँदैन भनेर दबाब दिइएको बताइन् । उनले भनिन्, ‘प्रहरीले उनीहरूलाई पक्राउ गर्न हुँदैनथ्यो, पक्राउपछि त्यत्तिकै छाड्न हँुदैन भन्यो ।’ घटनाबारे अञ्चल प्रहरी कार्यालय धौलागिरिले पनि अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया