अधिकांश विद्यालयको पठनपाठन प्रभावित

जाजरकोट, २४ भदौ । भाइरल ज्वरोको प्रकोप र बाँदरको आतंक मच्चिएपछि जाजरकोटका अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

पश्चिमक्षेत्रका अधिकांश विद्यालयका विद्यार्थी बाँदर धपाउने काममा लागेपछि पठनपाठन अवरुद्ध भएको विद्यालयहरूले जनाएका छन् । पश्चिम जाजरकोटका कार्कीगाउँ, जुँगाथापाचौर, साल्मा, दशेरा, सीमा, थालारैकर, पुन्मा, दह, मजकोट, झाप्रालगायतका गाविसमा रहेका विद्यालयमा विद्यार्थीको उपस्थिति पातलो हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।
कार्कीगाउँ–३ मा रहेका हिमालय प्राथमिक विद्यालय र जनकल्याण माविमा पनि विद्यार्थीको संख्या घटेको छ । शिक्षक आनन्द अधिकारीको हेपटाइटिस–बीले निधन भएपछि डरले विद्यार्थी हाजिर नहुँदा लामो समयसम्म बन्द रहेको विद्यालयको पठनपाठन विद्यार्थीहरू बाँदर धपाउन व्यस्त भएपछि फेरि प्रभावित भएको छ ।
जाजरकोटको मुख्य बालीको रूपमा रहेको मकैबाली बाँदरले सखाप पार्न थालेपछि विद्यार्थी बाँदर धपाउनमै लागेको अभिभावकले बताएका छन् । विद्यालयमा विद्यार्थी जान छाडेपछि पढाइ प्रभावित भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धीरेन्द्र शर्माले बताए । विद्यालय अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।
सबैभन्दा कम विद्यार्थी विद्यालयमा उपस्थित हुने गाउँ विकास समितिमा साल्मा र जँुगाथापाचौर रहेका छन् भने यो समस्या सबैभन्दा बढी कालिका माध्यमिक विद्यालय साल्मामा देखिएको छ । विद्यार्थीलाई विद्यालयमा पढ्नभन्दा पनि बाँदर धपाउन अभिभावकले पठाएपछि विद्यालयहरू खाली भएका हुन् ।
मुख्य बाली मकैमा बाँदर आतंक फैलिएपछि किसानहरू मर्कामा परेका छन् । रेबिज लागेर कुकुरहरूलाई मारिसकेपछि यसरी स्कुले बालबालिकाहरूले बाँदर धपाउने काम गरिरहेको स्थानीय कर्णबहादुर महताराले जानकारी दिए । वर्षदिन खाने अन्नलाई सुरक्षा गर्न स्थानीयलाई हम्मेहम्मे परेको छ ।
यसले विद्यार्थीको भविष्य बिग्रनुका साथै सरकारको लगानीसमेत बालुवामा पानी हालेसरह भएको विद्यालय निरीक्षक शर्माले बताए । आफूहरू विद्यालय निरीक्षणमा जाँदा यस्तो समस्या देखिएपछि अभिभावकलाई बोलाएर छलफल गर्दा उनीहरूले छोराछोरीलाई पढ्न पठाउने प्रतिबद्धता जनाएको उनले बताए ।
यसैबीच, पूर्वी जाजरकोटको खगेनकोट–७, स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवामा भाइरल ज्वरोका कारण विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । दिनमा १५ देखि २० जनाको संख्यामा विद्यार्थी र केही शिक्षक ज्वरोका कारण बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण खत्रीले बताए । गएको एक सातादेखि विद्यालयमा ज्वरोको प्रकोप बढिरहेको छ ।
अहिले उपचारका लागि छिमेकी जिल्ला रुकुमको आठबिसकोटमा रहेका मेडिकलमा विद्यार्थीहरूको चाप बढेको छ । विद्यालयका प्रधानाध्यापक होमप्रकाश सिंहलाई पनि भाइरल ज्वरोले सताएको छ । भाइरल ज्वरो नहटेसम्म विद्यालय बन्द रहने विद्यालय व्यवस्थापन समिति सदस्य खत्रीले जानकारी दिए । उनले भने, ‘ज्वरोले गर्दा विद्यार्थी नै आउँदैनन्, विद्यालय खोलेर के गर्नु ?’ शिक्षकहरूलाई समेत ज्वरोले सताएको छ । ज्वरो नहटुन्जेल विद्यालय बन्द हुन्छ ।’
जिल्लामा भाइरलको प्रकोप बढिरहे पनि पर्याप्त मात्रामा औषधि नहुँदा समस्या भएको छ । ‘कार्यालयमा आवश्यक जनशक्ति र औषधि छैन,’ जिल्ला जनस्वास्थ्य प्रमुख डा. विवेककुमार लालले भने, ‘भाइरलका बिरामी बढिरहेका छन्, उपचारमा समस्या छ ।’ ज्वरोका कारण विद्यार्थीहरू धमाधम विद्यालयमै बिरामी हुन थालेपछि विद्यालय बन्द गर्नुपरेको पञ्चभयार माविका शिक्षक दलबहादुर परियारले बताए ।

प्रतिक्रिया