ओलाङचुङगोलाका भरियाहरू

पूर्वी पहाडभरि नै आन्दोलन निकै चर्किएको छ । धेरै ठाउँबाट प्रहरी थानाहरू विस्थापित भइसकेका छन् । टासी शेर्पा आफ्नो पुख्र्यौली ओलाडचुङगोला गाउँमै बस्छन् । पञ्चायतकालमा उनी सानै उमेरमा गाउँका प्रधानपञ्च पनि भएका थिए । उनले पासाङ शेर्पासँग प्रेम विवाह गरेका हुन् । उनीहरूको प्रेम प्रसंग निकै रोचक छ । उनीहरू कहिले तिब्बत क्षेत्रबाट मालसामान ल्याएर गाउँमा बेच्छन् भने धरानबाट नेपाली बिस्कुट र विभिन्न खालका चाउचाउ, आदि र भारतीय सामानहरूसमेत लगेर तिब्बत क्षेत्रमा समेत बेच्ने काम गर्दछन् । धरान र तिब्बतबाट सामान ओसार्ने र बेच्ने क्रममा टासी र पासाङले प्रेम विवाह गरेका हुन् । अझ उनीहरूबीच गाढा प्रेम त पासाङ लडेर बिरामी भएपछि उपचार गराउँदा उनीहरूको प्रेम विवाहमा परिणत भएको रे । पासाङ त्यसै भन्छिन् ।
एकपटक धरानबाट भारी लिएर आउँदा पासाङ बाटोमा भारीसँगै चिप्लिएर लडिन् । गह्रौ भारीसँगै लड्दा र ढाकरमा भएको सामानसहितको भारीले किच्दा पासाङको दाहिने खुट्टामा निकै ठूलो चोट लाग्यो । भारीबोक्ने दसजना भरिया थिए । अब के गर्ने फसाद भयो । आठजना भरियाले टासी र पासाङको समेत सामान बाँडेर ओलाङचुङगोलातर्फ लागे भने, टासी र पासाङ ताप्लेजुङ अस्पतालमा बस्नुपर्ने भयो । खुट्टामा चोट लागेकाले पासाङ हिँड्न सक्ने थिइनन् । टासीले पासाङलाई ढाकरमा राखेर पाँच/छ घन्टाको बाटो बोकेर ताप्लेजुङ अस्पताल पुर्‍याए । त्यहाँ पूरै दुई हप्ता पासाङलाई कुरेर टासीले उपचार पनि गराए । सक्दो सेवा पनि गरे । त्यही सिलसिलामा पासाङ टासीसँग प्रेमपासोमा बाँधिइन् । त्यसपछि नै तिब्बती परम्पराअनुसार उनीहरूको बिहे भएको रहेछ ।
विवाहपछि उनीहरूले ओलाङचुङगोलामा एउटा पसल राखे । धरानतिरका सामान र तिब्बततिरका सामानको अतिरिक्त जाँड, तोङ्वा, मम, चाउमिन, थुक्पा र दालभातसमेत खानेकुरा पसलमा उपलब्ध गराए । आठ–दस वर्षको निरन्तरको मेहनतपछि टासी र पासाङ, व्यापारमा, समाजसेवामा, पशुपालनमा र होटल सञ्चालनमा निकै नामी भए । दस–बाह्रजना काम गर्ने मानिस नै राखेका थिए । बास बस्न आउने मानिसलाई बस्ने कोठाहरू पनि थिए । उनीहरूको टासी–पासाङ होटल निकै नामी भयो । दाम पनि भयो ।
कहिलेकाहीँ त्यहाँ नचिनेका नयाँ मानिस पनि आउनेजाने गर्थे । दस–बीसजना नयाँ युवायुवती एक दिन दुई दिन बिराएर आउन थाले । दुई दिन तीन दिन बस्न पनि थाले । खाएको पैसा कैले दिने कैले नदिने गर्थे । टासीलाई आफ्नो पार्टीका लागि पाँच लाख रुपियाँ चन्दा दिन भनियो । खाएबसेकै पचास हजारभन्दा बढी भइसकेको थियो । टासीले चन्दा दिन मानेन । नयाँ मानिसको गतिविधि पुलिस र प्रशासनले पनि वाच गर्न थालिसकेको थियो ।
(प्रकाशोन्मुख उपन्यास ‘दिशाहीन यात्रा’को एक अंश)

प्रतिक्रिया