दलहरुका वीच महानिरीक्षकमा कुरा मिलेन

काठमाडौं, २२ भदौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्तिका विषयमा एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चावीच पुनः विवाद उत्पन्न भएको छ ।
विवाद भएपछि बैठक विनाकुनै निष्कर्ष सक्किएको छ । सोमबार पुनः बस्ने बैठकले सो विषयलाई टुङगो लगाईने स्रोतले जनायो ।
एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरु वीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको बैठकमा आआफ्नै अडान रहेपछि सहमति हुन नसकेको हो ।
उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री विजय गच्छेदारले प्रहरी महानिरीक्षकमा भीष्म प्रसाईलाई नियुक्त गर्न प्रस्ताव गरे पनि प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले असहमति जनाएको स्रोतले जनायो ।
बैठकमा भट्टराई र दाहालले वरिष्ठताका आधारमा कुवेरसिंह रानालाई नै महानिरीक्षक बनाउन आग्रह गरेका थिए ।
दाहाल र भट्टराईले रानाको नाम अघि सारेर प्रसाईलाई महानिरीक्षक बनाउन असहमति जनाए पछि गच्छेदारले नवराज ढकाललाई महानिरीक्षक बनाउन पुनः अडान लिएका छन् ।
तीन जना अतिरिक्त महानिरीक्षकबाट वरिष्ठतमका आधारमा महानिरीक्षक बनाउनु पर्नेमा गृहमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदार र एमाओवादीवीच विवाद भएपछि अझै सम्म नयाँ महानिरीक्षकको टुङगो लाग्न सकेको छैन ।

प्रतिक्रिया