संविधानसभा व्यूताउन सकिन्छः कांग्रेस

पाल्पा, २२ भदौ । कांग्रेस सभापति सुशील कोइरालाले नयाँ निर्वाचन मुलुकका लागि अपरिहार्य रहे पनि सहमित भएमा संविधानसभा केही समयका लागि व्यूताउन सकिने बताएका छन् ।
उनले संविधानसभा व्यूताउँन सहमति गरेर अघि वढनु पर्नेमा जोड दिए । उनले भने, ‘विवादित विषयमा सहमति गरेर नयाँ संविधान जारी गर्न केही दिनका लागि संविधानसभा व्युताउन सकिन्छ ।’
कांग्रेसका महासमिति सदस्य र जिल्ला सभापतिहरुको पश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमलाई आज पाल्पाको तानसेनमा उद्घाटन गर्दै उनले जेठमा भएको सहमति अनुसार राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरे ।
उनले सहमतीय सरकार बनाउन बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले मार्गप्रसस्त गर्नुपर्ने पनि बताए । उनले भने, ‘गत जेठ महिनामा भएको पाँच बुँदे सहमति अनुसार अबको सरकारको नेतृत्व कांगे्रसले गर्न पाउनु पर्छ ।’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालमा सर्वसत्तावादी प्रवृत्ती हावी रहेको बताएका उनले राजनीतिक इमान्दारिता देखाउन जरुरी रहेको दोहराए ।
पार्टीमा आफूलाई मात्रै गाली गर्ने गरिएको प्रति असन्तुष्टी जनाएका उनले भने, ‘गल्ती कसले गरेको हो स्पष्ट रुपमा भन्नुस, सबैलाई एउटै बास्केटमा हाल्न हुँदैन ।’
कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले मुलुकको निकासका लागि संविधान संशोधन जरुरी रहेको वताए । उनले त्यसका लागि व्यवस्थापिका संसदलाई व्यूताउन माग गरे ।
कांग्रेसका उप–सभापति रामचन्द्र पौडेलले संविधानका विवादित विषयलाई यथावत राखेर भए पनि संविधान घोषणा गर्नु पर्ने बताए । उनले भने, ‘बरु विवादित विषयलाई चुनावमा लगेर भए पनि निर्वाचन गरौं ।’
महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको ‘आत्मा’ रक्षाका लागि निर्वाचनमा जानुपर्ने उल्लेख गरे । उनले भने, ‘आगामी वैशाखमा निर्वाचन हुन्छ, त्यसका लागि तयारी अवस्थामा बस्नुस ।’
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीलाई सहमति र सामूहिक नेतृत्वलाई ध्यान दिएर विधान अनुसार चलाउनु पर्ने सुझाव दिए ।
केन्द्रीय सदस्य विमलेन्द्र निधिले संविधानसभाको पुनःस्थापनाको विकल्पनै उत्ताम रहेको बताए ।
प्रशिक्षणमा पश्चिमाञ्चलका १६ जिल्लाबाट २ सय ४५ महासमिति सदस्य, विभिन्न भातृ एवं शुभेच्छुक संस्था, विदेशस्थित सम्पर्क समितिबाट आउने प्रतिनिधि, जिल्ला सभापतिसमेत गरेर ३ सय बढीको सहभागिता रहेको छ ।

प्रतिक्रिया