साउथ ब्लकका जंगबहादुरलाई रोक्नु पर्छ

नेपालगञ्ज, २२ भदौ । एमाले सचिव शंकर पोखरेलले राजनीतिक निकासका लागि ठोस पहल नगरेको भन्दै राष्ट्रपति डा.रामवरण यादवप्रति असन्तुष्टी पोखेका छन् ।
नेपालगञ्जमा आज आयोजित पत्रकार भेटघाट कर्यक्रममा उनले संवैधानिक शुन्यताको आयु छोट्याउन राष्ट्रपतिलाई प्रसस्त संवैधानिक अधिकार भए पनि चुपलागेर बसेको आरोप लगाए ।
‘सामान्य अवस्थामा राष्ट्रपति निस्क्रिय हुन्छन्, तर देश अहिले असामान्य अवस्थामा छ,’ उनले भने, ‘राष्ट्रपतिले संवैधानिक दायरा भित्रै रहेर इर्मजेन्सी लाईटको काम गर्ने अधिकार छ ।’
उनले राष्ट्रपतिले राजनीतिक निकासका लागि उचित कदम चाल्न ढिला गरे प्रधानमन्त्री बाबुराम भट्टराई अर्को तानाशाह बन्ने दाबी गरे ।
‘अब साउथ ब्लकको आडमा बाबुराम भट्टराई अर्को जङ्गबहादुर बन्ने खतरा उत्पन्न भइरहेको छ,’ उनले भने, ‘भारतीय गतिविधि र निरंकुशतालाई रोक्न राष्ट्रपतिले समयमै सक्रियता देखाउनु पर्छ ।’
सचिव पोखरेलले मधेसमा दुई प्रदेश हुनुपर्ने माग भारतीय स्वार्थसंग जोडिएको दाबी गरे । ‘मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने माग भारतीय सुरक्षा रणनीति अन्र्तगत पर्छ,’ उनले भने, ‘तराईमा एक प्रदेश बनाउँदा आफूलाई फाईदा हुने भारतको बुझाई छ ।’

प्रतिक्रिया