कालो झण्डा देखाउने कर्मचारी पक्राउ

काठमाडौं, २२ भदौं । पदीय मानमर्दन र अवमूल्यन गरेको भन्दै कांग्रेस/एमाले निकटका कर्मचारी संघ/संगठनका अध्यक्षले निजामती कर्मचारी दिवसका अवसरमा आयोजित कार्यक्रम प्रति असन्तुष्टि जनाएका छन् ।
निजामती कर्मचारी दिवस मुल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको विषेश कार्यक्रममा उनीहरु सहभागी नभएका हुन् । आफू सहभागी नभए पनि प्रतिनिधि भने पठाएको उनीहरुले बताए ।
पूर्व सहमति अनुसार संघ/संगठनका केन्द्रीय अध्यक्षहरुलाई शुभकामना दिने समय कटौती गरेपछि कार्यक्रममा नगएको उनीहरुले बताए ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलानाथ पोखरेलले पनि विभागीय प्रमुखलाई कार्यक्रममा सहभागी हुन पठाएको बताए । ‘शुभकामना दिन नदिएपछि प्रधानमन्त्री र मुख्य सचिवको भाषण मात्रै सुन्न नगएको हुँ,’ उनले भने, ‘दिवस सबै कर्मचारीले अनुभूति गर्ने गरेर गर्नु पर्छ ।’

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोधकुमार देवकोटाले मुल समारोह समितिले गरेको कार्यक्रममा आफूहरुको मानमर्दन गरेकाले सहभागी नभएको बताए । ‘शुभकामना समेत दिन नदिए पछि कार्यक्रममा जानुको कुनै अर्थ छैन,’ उनले भने, ‘मुल समारोह समितिले गर्ने कार्यक्रममा संघ/संगठनका प्रतिनिधिले सम्बोधन गर्न पाउनु पर्छ ।’
‘जनमुखी प्रशासन–सुशासन र अनुशासन’ भन्ने मुल नाराका साथ दिवस मनाईएको छ । विहान राजधानीमा कर्मचारीले प्रभातफेरि पनि गरेका थिए ।
त्यसै गरेर कार्यक्रममा सहभागी हुन पुगेका मुख्य सचिव लीलामणि पौडेललाई प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयका चालकहरुले कालो झण्डादेखाएर विरोध जनाएका छन् ।
सेवा सुविधा लगायतका माग राखेर मुख्य सचिव पौडेल विरुद्ध नारावाजी गर्नुका साथै कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाएर विरोध गर्ने उनीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया